काठमाडौं । महाभारत पर्वत श्रृखला अन्तर्गत नेपाल खण्डको करिव-करिव मध्य भागमा पर्ने लुम्विनी प्रदेशको पहाडी जिल्ला अर्घाखाचीका दुई स्थानीय तह शितगंगा र सन्धिखर्क पालीकाको सिमानामा अवस्थित पछिल्लो समय निक्कै चर्चित धाम हो सुपा देउराली । पुर्व-पश्चीम राजमार्ग अन्तर्गत वुटवल- चन्द्रौटा खण्डको गोरुसिङ्गे वजारबाट सन्धिखर्क जाने बाटैमा, करीब ४७ किमी उत्तर सडगमार्गको छेउमा अवस्थित रहेको छ, चर्चित भगवती सुपा-देउराली ।
पछिल्ला दिनहरुमा धार्मिक आस्था र पर्यटनको गतिलो गन्तव्य स्थल रहेको सुपा देउरालीमा दर्शनार्थीहरुको ठुलो भिड लाग्ने गरेको छ । झट्ट हेर्दा सुन्दर कमलको फुल जस्तो देखिने उच्च पहाडी श्रृखलाको बिच भागमा अवस्थित माताको मन्दिरलाई पहाडी शृखलाहरुले मजबुत सुरक्षा दिईरहेको जस्तो देखिन्छ । सन्धिखर्क र सितगंगाको सिमानामा पर्ने हुनाले शक्तीशाली सुपा देउरालीको रेखदेख आलो-पालो (एक महिना/महिनाको पालो) लगाएर यि दुई स्थानीय निकायले गर्ने गरेका छन । मन्दिरमा परापुर्व देखि मुल पुजारीको रुपमा खनाल थरका स्थानीय व्राह्मण रहेका छन । मुल पुजारीको जुठो सुत्केरो परेमा स्थानीय घिमिरे थरका व्राह्मणद्वारा दैनिक पुजा गर्ने प्राबधान रहेको पाईन्छ ।
अविश्वसनिय दैवि शक्ति र मनले चिताएको पुरा हुने विश्वासका साथ पछिल्लो समय निक्कै चर्चा कमाएको सुपा देउराली भगवतीको दर्शन गर्न नेपाल लगाएत छिमेकी देश भारतबाट पनि असंख्य मात्रा भक्तजनहरु आउने गरेको पाईन्छ । विशेस गरि भारतबाट आउने धार्मिक पर्यटकहरु असार साउन र भदौ महिनामा बढी आउने गरेको छन । दैनिक हजारौ भक्तजनहरु मन्दिरको दर्शन गर्न आउने गरेकोमा मंशिर बैशाख चैत्र महिनामा र शनिवारका दिनहरुमा २०-३० हजार भक्तजनहरु आउने गरेको संरक्षण समितीका सचिव हरि खनालले वताउनु भयो ।
असार, साउन र भदौ महिनामा भेटी वापत हरेक महिना ६/७ लाख र वाकि अरु महिनामा २२-२४ लाख सम्म आम्दानी हुने गरेको सचिव खनाल वताउनु हुन्छ । सुक्र अन्ध, विवाहको मौषम आदिमा दर्शनार्थी तुलनात्मक रुपमा कम हुने गरेता पनि विजया दशमीको हरेक दिन भक्तजनहरु १० हजार भन्दा बढि हुने गरेको स्थानिय वर्षा होटलका संचालक गणेश अधिकारी वताउनु हुन्छ । मन्दिरको आम्दानी पारदर्शी बनाउने उदेश्यले संरक्षण समिती गठन गरिएको र समितीको आफ्नै बैक खाता संचालनमा ल्याईएको साथै हिसाब-किताब पारदर्शी बनाउनकालागी एकजना लेखापाल कर्मचारी समेत भर्ना गरिएको संरक्षण समितीका अध्यक्ष फर्स बहादुर खत्रीले बताउनु भयो । प्रसिद्द स्थल सुपा देउराली शक्तिशाली देविको पिठ भएको हुनाले मन्दिरमा वलि पनि चढाउने गरिएको जनाउदै सचिव खनाल भन्नुहुन्छ, “वलि चढ्ने दिनहरुमा दैनिक ५०-१०० वलि चढ्ने गरेको र सो वापत पाठोको वलि वापत रु ५०५, पाठिको लागी रु ३०५, परेवा उडाउदा रु १०० र विवाह व्रतवन्ध वा अन्य शुभकर्मका लागी रु १००५ शुल्क लिने गरेका छौ”। यस्तै देवि भगवतीको थान हुनाले भक्तजनहरुले सुन-चादीका गहनाहरु पनि चढाउने गरेका छन । हाल सम्म ५७ तोला सुन जम्मा भएको सचिव खनाल वताउनु हुन्छ ।
सुपा देउराली भगवतीको उत्पत्ती सम्वन्धमा विभिन्न किंवदन्ती पाईन्छ । वाईसे र चौविसे राज्यका समयमा यहां अर्धा र खाची नाम गरेका दुई राज्य थिए । जसमध्ये खाचीकोटकी राजकुमारीको हालको छिमेकी राष्ट्र भारतको वलरामपुर राज्यको राजकुमारसंग पुरातन परम्परासंग विवाह गर्ने पक्कापक्की गरियो । दरवारको खुशीयालीमा विवाह हुने भएपनि राजकुमारी स्वयं भने खुशी नभएको र डोलिमा अन्मिएर जादा, हाल सुपा भगवती रहेको स्थानमा आईपुग्दा डोलेहरुले डोलीबाट रगतको थोपा चुहिएको देखि डोली विसाई हेर्दा राजकुमारीले धारिलो हतियार (चक्कु) ले स्वंयम प्राण त्याग गरेको किंवदन्ती पाईन्छ । त्यसपछि यस क्षेत्रमा विभिन्न किसिमका रोगव्याधिहरु देखा पर्न थाल्यो । पशु चौपायाहरु अन्नवालीहरुमा बिबिध खालको रोग देखापरी हाहाकार मच्चिन गयो र यो किन, कसरी र के कारणले भएको छ भन्ने बुझ्न स्थानीय धामी झाक्री तथा जानकारहरुको सहयोग लिईयो । जसमध्ये खनाल थरका स्थानिय जानकारले, राजकुमारीले प्राण त्याग गरेको कारणले अनिष्ठ भएको पत्ता लगाए र त्यहां पुजा पाठ गर्ने चलन वसाए । तेतिवेला त्यहा अहिलेको जस्तो मन्दिर नभएको एउटा साधारण प्वाल भएको रुखको ठुटा र जरामात्रै भएको र सोही स्थानमा पुजाआजा गर्न थालेको र पछी सोहि स्थान नै हालको चर्चित सुपा देउराली भगवतीको थान रहेको किवदन्ती रहेको छ ।
यस्तै मन्दिर संगै उत्तर पट्टी विशाल पहरो रहेको छ । जसमा पहरोको बिच भागमा कालो लाहुरेको छाया जस्तो धव्वा देख्न सकिन्छ । यसलाई लाहुरे टासेको पहरा भनिन्छ । यो संग पनि रमाईलो किॅवदन्ति जोडिएको छ । स्थानीय वर्षा होटलका संचालक अधिकारी भन्नुहुन्छ, “सुपा देउराली माता निक्कै शक्तिशाली भएको थाहा पाएर उत्तर खांचीबाट आएर एक जना भक्तले आफु भारतमा लाहुरे हुन पाए कालोपाठो चढाउने भाकल गरेछन । उनी देवि आशिर्वादले लाहुरे भए र घर फर्कने क्रममा मनमा लोभ उत्पन्न भई, भाकल पुरा नगरी मन्दिरलाई छलेर/ भागेर माथिको बाटो जान खोज्दा, देवि रिसाएर लाहुरेलाई त्यहि पहरामा टासिदिएको किंवदन्ति पाईन्छ” । अहिले हेर्दा पनि सो ठाउमा लाहुरे घर फर्कदै गरेको, झोला टोपी र हातमा खुकुरी जस्तो प्रष्टसंग देखिने कालो छाया पहरामा देख्न सकिन्छ ।
सुपा देउराली मन्दिरमा प्राप्त भेटिबाट विभिन्न संस्कृत गुरुकुल, स्कुल, कलेज, अस्पताल, स्वास्थ्य चौकी, भुकम्प पिडित, आर्थिक रुपमा विपन्न आदि समाजका विभिन्न क्षेत्रमा सहयोग गरिदै आएको छ । समाजमा शिक्षाको राम्रो व्यवस्था होस भन्ने उदेश्यका साथ मन्दिरको भेटिबाट विविधखालका शिक्षासंग सम्बन्धित, सामाजीक काम हुदै आएको छ । मन्दिरको भेटीबाट आदर्श मावी खाचीकोट, शान्ती आवी घुम्ती, सिता आवी र देउराली आवीमा राखिएको शिक्षकलाई तलवभत्ता खुवाउदै आईएको छ । यस्तै पाणीनि वेद विद्याश्रम संस्कृत गुरुकुलमा अध्ययनरत वटुकहरुका लागी वार्षिक रुपमा आर्थिक सहयोग, सनपा वडा नं ६ मा रहेको गौशाला रहने गौमाताको रक्षाको लागी आर्थिक सहयोग, यस्तै भुकम्प पिडित, आर्थिकरुपमा विपन्न, जटिल रोगका रोगी, व्रम्हकुमारी राजयोग साथै सर्प दंश केन्द्रहरुमा पनि अवस्था र आवश्यकता हेरि आर्थिक सहयोग गरिदै आएको सचिव खनाल वताउनु हुन्छ ।






