काठमाडौं । झट्ट हेर्दा नदी पानी हो । तर यसलाई पानीको रुपमा मात्रै बुझ्नु ठुलो भुल हुनेछ । भूगोलका लागी नदी सिमा हो, देशका लागी नदी धन हो, समाजको लागी नदी सभ्यता हो, र जीवका लागी नदी जिवन हो । नदीको उत्पती र विकास अद्भुत छ ।
नेपाल संसारमै पानीका लागी दोस्रो धनीमा पर्दछ । यो दोस्रो धनीको दर्जा दिलाउने काम यहांका उच्च हिमालबाट उत्पत्ती भएका थुप्रै पवित्र नदीहरु कारण सम्भव भएको हो । ति धेरै नदीहरुलाई मुख्यतया तिन प्रणालीमा बाडिएको छ । ति हुन सप्तकोशी, सप्तगण्डकी र सप्तकर्णाली । यि तिन मुख्य नदीहरु दक्षिणतर्फ बग्दै भारतमा पस्दछन र गंगा नदीमा मिसिएर वंगालको खाडीमा पुग्दछन ।
परिचय: सप्तकोशी
नेपालको पुर्वी भागमा बग्ने सबैभन्दा ठुलो नदी सप्तकोशी हो । यो सातवटा सहायक नदीहरु मिलेर सप्तकोशी भएको छ । यसका सातवटा मुख्य सहायक नदीहरुमा ईन्द्रावती, सुनकोशी, तामाकोशी, लिखु, दुधकोशी, अरुण र तमोर हुन । यसका मुख्य दुई ठुला नदीहरु अरुण र सुनकोशी हुन । सप्तकोशी नदीको कुल प्रवाह क्षेत्रफल लगभग ६०४०० व. किमि रहेको छ । हिउदको समयमा हिउहरु पग्लेर मात्रै वहने हुदा सानो हुने र वर्षातको समयमा आकाशे पानीका कारण यसको जल प्रवाह अत्यधिक हुने हुदा नेपालको तराई क्षेत्र र भारतको विहारमा यसले ठुलो क्षती पुर्याउदै आएको छ । यसैकारण यसलाई विहारको शोक (Sorrow of Bihar) पनि भनिन्छ ।
सप्तकोशी नदीको सबैभन्दा पश्चिम तर्फको नदी ईन्द्रावतीको मुहान लाङ्टाङ क्षेत्रको प्रसिद्द पांच पोखरी पर्दछ भने यसका सहायक नदीहरुमा लार्के, यांग्री, कुसुमती, ढाडखोला, ग्याल्सिंग, हाडीखोला, मेलम्चीखोला, सिन्धुखोला, घाटखोला, चकखोला आदी हुन ।सिन्धुपाल्चोक र काभ्रे जिल्लामा बग्ने यो नदी करीव ६८ किमि लामो छ भने दोलाल घांटमा पुगेर सुनकोशी नदीमा मिसिन्छ । इन्द्रावती नदी नेपालको सुनकोशी नदीको सहायक नदी, सप्तकोशी नदी प्रणालीको सहायक नदी र नेपालको एक प्रमुख नदी हो। १९औँ शताब्दीसम्म यसलाई ‘मेलम्ची’ वा ‘मेलम्चु’ भन्ने गरिएको थियो। मेलम्ची नदीको पानी धमिलो हुन्छ भने इन्द्रावती नदी सङ्ग्लो गरि बग्छ। इन्द्रावती नदीको स्रोत हिमालयको दक्षिणी भीरमा अवस्थित छ। यसको माथिल्लो जलमार्ग ठाडो ढलान, नदी उपत्यकामा विशाल ढुङ्गाहरू र चट्टानहरूसँगै तीव्र पानीको धारा यस नदीको प्रमुख विशेषता हो।

संस्कृतमा शुभश्रवा ( दुर्गा स्वरुपा) भनिने सुनकोशी नदी नेपालको उत्तरी सिमाना तिब्बतबाट बगेर आएको छ । जसको लम्वाई २६५ किमि छ । यसका सहायक नदीहरुमा दिनखुवा, कोशी, चौंरी, सिंखु, वलेफी खोला, ईन्द्रावती, रोशी, चेटी, तामाकोशी, लिखु, साप्सु, सावाखोला, मोलुम खोला, स्वरुङ राकुला, धर्तीछताङ, रसुवा, वडारे, खानी खोला, दुधकोशी, भोटेकोशी आदि हुन भने यसको मुख्य सहायक नदी भोटेकोशीको उत्पती दोलखाको कालिङ्गचोक मगरडाडा (उचाई ३८१५ मि) रहेको छ । शास्त्रमा निक्कै महत्वपुर्ण मानिएको यो नदी पार्वतीको ओठनिरको पसिनाबाट निस्केको मानिने हुदा स्वर्ग जस्तै पवित्र मानिएको छ ।

तिब्बतमा मुल मुहान भएको तामाकोशी नदी नेपाल प्रवेशगरी लामोवगर हुदै रामेछापको वेनिघाटमा सुनकोशी नदीमा मिल्छ । तिव्बतमा यो नदीलाई काङ्गचुरोङगसार चु भनिन्छ भने शास्त्र अनुसार उमादेविको चिउडोको पसिनाबाट निस्केको मानिने यो नदीलाई संस्कृतमा पापधनी, अति पवित्र नारायणी स्वरुपा मानिएको छ । यो नदीको लम्वाई करिव ९० किमि रहेको छ भने प्रवाह क्षेत्र करिब २६०० व. किमि रहेको छ । यसका सहायक नदीहरुमा जिरी, चिसापानी, खिम्ती, तामाखोला, भोटेकोशी, चरणावती, रोल्वालिङग खोला, मिल्ती र मठौली आदी हुन । ताम्रवर्णको भएको हुदा यसलाई तामाकोशी भनिएको मानिन्छ । तामाकोशी नदी सुनकोशीको सहायक नदी मात्र नभएर यो एक, शक्तिशाली प्रमुख नदी पनि हो जुन भोटेकोशी भन्दा दुई गुणा ठुलो छ। तामा कोशीको शाब्दिक अनुवाद तामाको नदी रहेको छ। यो नदीलाई दुखको नदीका नामले पनि चिनिन्छ। गौरीशङ्कर हिमालको हिमनदीले छोरोल्पा ताल बनेको छ जसबाट यो नदी उत्पन्न भएको हो । यस नदीको पानीको गति असाध्यै उच्च छ। यस नदीको पानीको बहाबलाई ग्रेड ४-६ दिइएको छ। तामाकोशी नदी सप्तकोशीको सात मध्ये एक सहायक नदी हो। धेरै उच्च बहाब र रेपिडको कारण यो नदी व्यवसायिक प्रयोग को लागि कठिन छ। व्यवसायिक प्रयोग कठिन भएतापनि र्याफ्टिङ्ग र क्याकिङ्गको लागि यो नदी पनि प्रयोग हुँदै आएको छ। यो नदी दोलखा, रामेछाप , सिन्धुली हुँदै बग्ने नदी हो ।

पाचपोखरी र जटापोखरीबाट आएको पानी मिसिने यो लिखुखोला दोलखाबाट दक्षिण रामेछापतिर बग्दछ भने यसको मुख्य स्रोत सुरमोचे हिमाली क्षेत्र हो । यसको लम्वाई करिव २३ किमि र प्रवाह क्षेत्र ८०० व किमि मानिन्छ । यसका सहायक नदीहरुमा नुप्चे, चोकोटी, उमाकुण्ड आदी हुन ।

दुधकोशी नदी चोयु र ग्वाचुङकाङ्ग हिमनदीवाट उत्पती भई सोलुखुम्वु र ओखलढुङ्गाको हिमाली र पहाडी भुभागका अरु ससाना खोलानालाहरुलाई समेटेर वग्दै खोटाङगको कुर्लेगाउ पुगेर सुनकोशीनदीमा मिल्दछ । सोलुखुम्वु जिल्लाको दुधपोखरीको पवित्र जल मिसिएको हुनाले यसलाई दुधकोशी भनिएको मानिन्छ । शास्त्र अनुसार पार्वतीको नेत्रकोशबाट निस्केको मानिने यो नदीलाई संस्कृतमा भद्रवती, चण्डीस्वरुपा मानिन्छ । यसको लम्वाई करिव ११३ किमि छ भने प्रवाह क्षेत्र ४१०० व किमि रहेको छ । ईम्जा, लोबुचे, भोटेकोशी, ठाडोकोशी, नाकटोक, हिंकु, टप, बांगे, नागकुवा र सोलु आदी खोलाहरु मिलेर यो नदी बनेको छ ।

सप्तकोशीको सबैभन्दा ठुलो सहायक नदी अरुण नदी हो । यसको उत्पती तिव्वतमा भएको र ठुलाठुला पर्वत र हिमालहरु पार गर्दै संखुवासभा जिल्लाको किमाथांङका नाकाबाट नेपाल प्रवेश गरेको छ । यसले संखुवासभा भोजपुर र धनकुटा जिल्लाहरुको सिमानामा गहिरो गल्छि वनाएको छ । यसका सहायक नदीहरुमा संखुवा, पिखुवा, वरुण, ईश्वा, आसुवा, हेवा, सभा, पिलुवा, केवा, लेगुवा, माङमाया, मुगा, आखुवा, मधुवा र कावा आदी हुन । अरुण नदी नेपाल भित्र १५२ किमि र तिव्वत तर्फको लम्वाई जोड्दा ७२० किमि हुने यो नदी नेपालको सबैभन्दा लामो नदी हो भने यसको प्रवाह क्षेत्र करिव ३६५०० व किमि छ । शास्त्र अनुसार पार्वतीको गलाको पसिनाबाट निस्केको मानिने यो नदिको निक्कै ठुलो धार्मिक महत्व छ । यसले वनाएको विश्वकै सवैभन्दा गहिरो उपत्यका अरुण उपत्यका हो ।

ताप्लेजुङ जिल्लाको उब्वेक हिमालबाट उत्पती भएको नदी हो तमोर नदी । कञ्चनजंघा क्षेत्रका हिमनदीहरुको पानी मिसिने यस नदीमा ताप्लेजुङका याङ्वाखोला, दानखोला, पुन्सखोला, झुम्साखोला, मेवाखोला, मइवाखोला; पाचथरका कावेलीखोला, हिमाखोला; तेह्रथुमका लम्वुखोला, खोरंगाखोला, कोयाखोला, मेवाखोला आदि यसका शाखानदीहरु हुन । शास्त्र अनुसार वाराही स्वरुपा मानिएको यस नदीलाई संस्कृतमा दुःखद्यी भनिन्छ । यसको लम्वाई १९८ किमि र प्रवाह क्षेत्र ५८०० व किमि रहेको मानिन्छ । तमोर नदी सुनकोशी र अरुणसंग मिसिएर सप्तकोशी नामले चिनिन्छ । कञ्चनजङ्घा हिमाल नजीकबाट उत्पत्ति भएको तमोर नदी देशकै प्रथमस्तरको नदीका रूपमा पर्न आँउछ। धनकुटा जिल्लाको क्रमश उत्तर-पूर्वबाट दक्षिण-पश्चिम भई बहने यो नदीको अन्तिम मिलन कोशीमा गएर हुन्छ। तमोर नदी त्रिबेणी घाटमा पुगेर अरुण र सुनकोशी नदीमा मिसिन्छ र सप्तकोशी बन्छ।





