काठमाडौं । युद्धको स्थिति बढ्दै गएको उल्लेख गर्दै रूसी विदेश मन्त्री सर्गेई लावरोभले युक्रेन संकटको कूटनीतिक समाधान तत्काल सम्भव नहुने बताउनुभएको छ । लावरोभले रुसको आधिकारिक अखबार रोसिस्काया गजेटासँगको अन्तर्वार्तामा भन्नुभयो, ‘युद्धको मैदानमा हेर्दा, हामी अझै पनि संकटको राजनीतिक र कूटनीतिक समाधानबाट टाढा छौं । वासिंटन र यसका सहयोगीहरू रुसका लागि रणनीतिक पराजय हासिल गर्न दृढ छन् ।’
रूसी भूभागमा भएका पछिल्ला क्षेप्यास्त्र आक्रमणलाई ‘बढ्दो कदम’का रूपमा वर्णन गर्दै उहाँले त्यस्ता कार्यहरूको प्रतिक्रिया दिने मस्कोको चेतावनीलाई बेवास्ता गरिएको बताउनुभएको छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शत्रु पक्षको कुनै क्रियाकलापले रूसलाई लक्ष्यहरू प्राप्त गर्नबाट पछि हट्न बाध्य नपार्ने बताउँदै आफू सधैं शान्तिपूर्ण माध्यमबाट विवाद समाधान गर्ने पक्षमा रहेको बताउनुभएको छ ।
युक्रेनले रुसमाथि गरेको अमेरिकी मिसाइल प्रहारमा वायु रक्षा प्रणाली ध्वस्त
रुसले पहिलोपटक युक्रेनले गरेको अमेरिकी मिसाइल आक्रमणबाट आफ्नो प्रमुख वायु रक्षा प्रणाली ध्वस्त भएको स्वीकार गरेको छ । मिसाइलले कुस्र्क क्षेत्रमा रहेको सैन्य आधारमा पनि क्षति पुगेको छ । अमेरिकाको ‘प्याट्रियट डिफेन्स सिस्टम’ जस्तै क्षमता भएको एस-४०० वायु रक्षा प्रणालीलाई युक्रेनले लक्षित गरेको थियो । हालैमात्र अमेरिकाले युक्रेनलाई एटीएसीएमएस मिसाइलहरू दिएको थियो । त्यसलाई रुसभित्र लक्षित गर्न अनुमति पनि दिएको थियो ।
युक्रेनले कुस्र्क क्षेत्रमा केही रुसी सैन्य अखडालाई निशाना बनाएको बताएको थियो । त्यसपछि रुसको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रतिकार गर्ने चेतावनी दिएको छ ।
यसैबीच, रुसले सोमबार राति १८८ ड्रोनबाट आक्रमण गर्दा केही आफ्ना केही संरचनामा क्षति पुगेको युक्रेनी वायुसेनाले बताएको छ । गतहप्ता रुसले युक्रेनमाथि शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । एक हजार दिनभन्दा बढी समयदेखि चलिरहेको यो युद्धमा पहिलो पटक यति शक्तिशाली हतियार प्रयोग भएको बताइएको छ ।(एजेन्सी)




