काठमाडौं । प्रयागराज महाकुम्भमा सहभागी हुन संसारभरका भक्तहरू आइरहेकाछन् । यस प्राचीन तथा भव्य कार्यक्रमको आध्यात्मिक महत्वको अनुभव गर्दै त्रिवेणी सङ्गममा पवित्र स्नान गर्न भक्तजनको घुइँचो लागेको हाे ।
उत्तर प्रदेश सरकारले आइतबार मात्रै महाकुम्भ-२०२५ मा करिब ८४ लाख २९ हजार भक्तजनले पवित्र स्नान गरेको जनाएको छ । महाकुम्भमा हालसम्म ४२ करोडभन्दा बढी भक्तजनले आस्थाको डुबल्की लिएका छन् ।
महाकुम्भ विश्वको सबैभन्दा ठूलो आध्यात्मिक र सांस्कृतिक कार्यक्रम हो, जसले विश्वभरका भक्तहरूलाई आकर्षित गर्दछ । महाशिवरात्रि २६ फेब्रुअरीसम्म यो कार्यक्रम चल्नेछ ।
यस कार्यक्रमले देश र विश्वभरबाट लाखौं भक्तजनहरूलाई आकर्षित गरिसकेको छ । एक दिन अघि राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले त्रिवेणी सङ्गममा पवित्र स्नान गरी भक्तहरूलाई प्रसाद दिए । सङ्गममा पवित्र स्नानको क्रममा मुख्यमन्त्री भजनलाल शर्मा मध्यप्रदेशका मुख्यमन्त्री मोहन यादवसँगै थिए । त्रिवेणी सङ्गममा दुई मुख्यमन्त्रीले सँगै पवित्र स्नान गरेपछि एक अर्कालाई अभिवादन गरे ।(एजेन्सी)





