सुत्केरी भैसीले पेट भरी पानी नपाउदा, पन्ध्र दिनको पाठीले सुकेका सिरु चपाउदा, ओरालो झरेर टन्न ह्यापिङ खोलाको पानी पिएको माले र तारे गोरुहरु उकालो चढेर गोंठ नपुग्दै प्याक-प्याक तिर्खाएको देख्दा, सल्यानटार !! मलाई पनि तिमीसंगै रुन मन लाग्यो ।
पुस्तौ सल्यानटारमा बिताएका, नेत्रावती र यसोधरा गंगासंग तिर्खा मेटाएका उमेर सत्तरी टेकेका सेते कुमालले “घरमा आमा नहुदा र गाग्रीमा पानी नहुदा मन तेसै भक्कानियर आउछ हजुर” भनेको सुन्दा, सल्यानटार !! मलाई पनि तिमीसंगै रुन मन लाग्यो ।
बिट फाटेर जनैका डोरा देखिएका, रातो माटोले पोतिए जस्ता सिरक र डसनाका मैला खोल संगै डोकोमा दुधे वालक गुटुमुटु पारेर लुगा घुन, खास्टे खोलाको किनार खोज्दै गएकी कान्छी दराईको दुख देख्दा, सल्यानटार !! मलाई पनि तिमीसंगै रुन मन लाग्यो ।
पानी दिनु पर्ने विकासले उल्टै धुवा र धुलो दिदा सल्यानटारका काप्राका रुखहरु, गिदरीका रुखहरु, टांकी, गायो, खनायो र खर्सेताका रुखहरु, अझ भनौ पवित्र समिहरु तथा चौताराका बर र पिपलहरुहरुले निस्सासिएर गला अवरुद्द गर्दै घुक्क-घुक्क रोहिरहेको देख्दा, सल्यानटार !! मलाई पनि तिमीसंगै रुन मन लाग्यो ।
“के गर्नु आफैले बनाएको टारमा आफै फुत्त जान नमिल्ने, अब त कसैले लगिदेलान् भन्ने आश पनि रहेन, यसरी दिन रात सल्यानटार रोएको सुन्दा-सुन्दा मन अमिलो भएको, जीवन देखि धिक्कार लागेर आएकोले, सल्यालटारसंग माफी माग्दै, गंगाहरु भन्दैछन रे, सल्यानटार !! मलाई पनि तिमीसंगै रुन मन लाग्यो ।
पट-पट फुटेका राता माटाका डल्लाले नजिकै रहेकी यसोधरा र नेत्रावती गंगा, खास्टे र ह्यापिङ खोलातर्फ ईशारा गर्दै आफ्नो प्यास मेटाइदिन दिनरात विलौना गरेको देख्दा ठुलो स्वरले चिच्याएर भन्न मन लाग्यो, सल्यानटार !! मलाई पनि तिमीसंगै रुन मन लाग्यो ।
न आफु नुहाउन सकिन्छ न त छोराछोरीलाई नै, लुगा धुन त एक दिन पुरै माया मार्नु पर्छ, यती मात्रै कहां हो र करेसाबारीमा यसो दुईचार बोट लसुन प्याज लगाउन पनि नसकिने भन्दै छोराको पट्पटी फुटेको मैलो हात देखाउदै, चामे कुमालकी छोरीले, भगवान हामीलाई यो काल बाट कसले पार लगाईदेला भनेको सुन्दा, सल्यानटार !! मलाई पनि तिमीसंगै रुन मन लाग्यो ।
तिम्रो आंसु देखेर मन थाम्न सकिन सल्यानटार, त्यसैले विकास बिरोधी भन्नेहरुलाई स्वागत गर्दै, तथ्यमा टेकेर सत्य लेख्ने कोशिस गरेको छु ।
लगभग १६०० हे. क्षेत्रफलमा उत्तर दक्षिण फैलिएको धादिङ जिल्लामा पर्ने सल्यानटार हेर्दा जति विशाल देखिन्छ त्यति नै ठुलो छ यसको पिडा । हजारौ बर्ष पहिला यसोधरा नदी र नेत्रावती नदीले निर्माण गरेको यो विशालटारको लम्वाई करिब ११ किमि र चौडाई ३.४ किमि (सबैभन्दा चौडा ठाऊमा) रहेको छ । समुद्र सतहबाट झण्डै ६६० मिटरको उचाईमा रहेको यसटारमा पुर्व तर्फ आंखु नदी (नेत्रावती गंगा) र पश्चिम तर्फ बुढी गण्डकी नदी (यसोधरा गंगा) पर्दछन भने पुर्व उत्तरमा ह्यापिङ खोला र पश्चिम उत्तर तर्फ खास्टे खोला पर्दछ । चारैतर्फ साना-ठुला नदीहरुले घेरिएको यस सुन्दर टारमा भने पिउने होस वा कृषीका लागी होस् पानीको सधै अभाव रहेको छ । उत्पादनको दृष्टीले अव्वल मानिने रातो माटो रहेको यस टारमा सिंचाईको सुविधा हुने हो भने मनग्य अन्नवाली उब्जाउ गर्न सकिन्छ ।
झण्डै ११ किमि लम्वाई र ३ किमि चौडाई रहेको सल्यानटारमा नेत्रावती गंगाको पुल तरेपछी टारी बेशी, ह्यापिङ चोकको उकालो चढ्दै चक्रदेवि स्कुल हुदै रमाईलो चोक सानोगाउ चोक पछि पुगिन्छ कमलादेवि स्कुल, यहांबाट ओरालो लाग्दै खास्टे खोलाको किनार सम्म पुग्ने सडकको लम्बाई करिब ९.६ किमि रहेछ ।
सडकको कुरा गरौं । जे. विंटिङटनका अनुसार १ किमि सडक कालोपत्रै गर्न करिब १० लाख डलर, आजको नेपाली रुपैया करीब १३ करोड ९० लाख हुन आउछ । यसरी हेर्ने हो भने, ९.६ किमि लम्वाई भएको सडक कालोपत्रे गर्न करिब १ अर्ब ३३ करोड ४४ लाख नेपाली रुपैया लाग्ने रहेछ ।
अब, सिंचाईको कुरा गरौ अब, लगभभ १६०० हेक्टर रहेको सल्यानटारमा बन-बुट्यान बाहेक करिब ११०० हेक्टर जमिन देखिन्छ । अध्ययनका अनुसार एक हेक्टर सिंचाईका लागी बार्षिक लगभग ८००० मि.क्युव (मिटर क्युव) पानीको आबश्यकता पर्दछ, जबकी बुढी गण्डकी आयोजनाले नै भनेको छ कि बुढी गण्डकीमा मात्रै (यसोधरा गंगामा) १००.२७ मिटर क्युव पानी प्रति सेकेण्ड बहेको छ । यसरी हेर्दा हरेक दिन यसोधरा गंगाबाट मात्र ८६ लाख ६३ हजार ३२८ मि.क्युव पानी बग्दछ । यस तथ्यांकका अनुसार एक दिन बग्ने पानीको हजार भागको १ भाग पानीले वर्ष दिन सम्म सल्यानटारमा सिंचाई हुने रहेछ ।
अब उत्पादनको कुरा गरौं । सन २०१८ को तथ्याङकलाई हेर्ने भने, हिमालमा १.९७ टन, पहाडमा २.२० टन र तराईमा २.२८ टन प्रति हेक्टर धान उत्पादन भएको देखिन्छ । यसरी हेर्दा ११०० हेक्टर खेति योग्य जमिन रहेको सल्यानटारमा पानी दिन सकियो भने, धान एक सिजनमा मात्रै लगभग २४२० टन (२४२०*१०००= २४२०००० किलो) उत्पादन हुन सक्ने रहेछ । जुन करिब १० लाख किलो चामल हुन आऊछ ।
अब कुरा गरौ, खर्चको । अनुसन्धानहरुका अनुसार १ हेक्टर सिंचाई गर्न (लिफ्टिङ्ग प्रविधीबाट) करिब ३००० डलर ( ४ लाख १७ हजार आजको नेपाली रुपैया) लाग्ने रहेछ । करिब ११०० हेक्टर सिंचाई गर्न मोटामोटी ४५ करोड ८७ लाख लाग्ने रहेछ । अब हामी आफै भनौ, पहिला कुन रोज्ने, १ अर्ब ३३ करोड ४४ लाख खर्च गरेर ९.६ किमि सडक कालोपत्रे रोज्ने कि ४५ करोड ८७ लाख खर्च गरेर ११०० हेक्टर सिचाई रोज्ने । विकासको यो मोडेल देखेर मन अमिलो पार्दै, रोजाईको जिम्मा सल्यानटार वासीलाई नै छाडियो ।
कुराकानीका क्रममा “जीवन त पानी हो नि, हेर्नुहोस् त ! संगै पारी रहेको घांटबेशी भिमसेन कुलाले सिचित छ, सधैभरी हरियाली छ,” भन्दै भावुक भएर, वुर्लाकोटी सरले भन्नुभयो,”पानी त जसोजसो खाएकै छौ । नजिकै पानी दिन सके, पंक्षिका आशिष कति लाग्थे, वृक्षले कति आशिष दिन्थे, अन्नले टम्म भकारी भरिदा किसानले कत्ति आशिष दिन्थे होला । बिकासको नाममा धुवा र धुलो भन्दा जमिनलाई जल दिन पाए पो हुन्थ्यो झै लाग्छ,पानी दिन पाए हुन्थ्यो झै लाग्छ”, भन्दै गला अवरुद्द पार्नुभयो । भारी मन बोकेर, छेवैमा रहेको नृसिंह धामलाई भाकल राखे, भगवान मेरै जीवनमा सल्यानटारमा पानी दिनुहोस्, भगवान मेरै जीवनमा सल्यानटारमा यसोधरा र नेत्रावतीको स्पर्स गराईदिनुहोस।
यसरी उत्तरमा खास्टे र ह्यापिङ्ग खोला, पुर्वमा नेत्रावती गंगा, पश्चिममा यसोधरा गंगा र दक्षिणमा यिनै दुई पवित्र गंगाको संगम स्थल रहेको, हजारौ वर्ष अघि यसोधरा गंगाले निर्माण गरेको यस पावन भूमिका सम्बन्धमा गोरखाबाट धादिङ हुदै नुवाकोट जाने क्रममा वडामहाराजधिराज श्री ५ पृथ्वी नाराययण शाहले समेत चासो राख्नु भएको, श्री नृसिंह भगवानको बास रहेको यस पावन भुमिमा, यो जमानामा पनि करिब २०० मिटर तल रहेका बिशाल गंगाहरुको पानी समेत दिन नसक्दा, उत्तरकी गंगा जमुना र त्रिपुरा सुन्दरी माई, पुर्वकी ज्वालामुखी माई, दक्षिणका भगवान नृसिंह र पश्चिममका तान्द्राङकोटकी कालि र आरुघाट भिमसेनसंग माफि माग्दै, वरदान माग्न मन लाग्यो, भगवान “हाम्रै पालामा नेत्रावती र यसोधरा गंगाको पानीले सल्यानटार रुझेको हेर्न पाईयोस, भगवान हाम्रै पालामा सल्यानटार मुसुक्क मुस्कुराएको हेर्न पाईयोस ।
(लेखक: ईश्वर अर्याल, त्रिवि भूगोल केन्द्रिय विभागमा पिएचडी अध्ययनरत हुनुहुन्छ ।)





