काठमाडौं । वर्षमा पर्ने चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठूलो एवं महत्वपूर्ण एकादशी हो आज । त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ । कोजाग्रत पूर्णिमाबाट बाल्न थालिएको आकाशे बत्तिलाई आजबाट बाल्न बन्द गरिने चलन पनि छl
आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान विष्णु आजैको दिन उठ्नुहुने पुराणहरूमा उल्लेख गरिएको छ। विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध जस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । सो समयमा खोला, नदीनालामा बाढी आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा गर्नु अशुभ मानिन्छ । बैदिक सनातन सस्कारमा तुलसी पूजा को ठूलो महत्व छ ।
श्रीमद्ध भागवतको ३ को ५ को १९ औं खण्डमा तुलसी बिरुवाको दैविक गुणलाई व्याख्या गरिएको पाइन्छ ।पद्म पुराणमा बिन्दा देवी ले पृथ्वी मा आएर भगवान बिष्णु लाई आफ्नो पतिका रुपमा पाउन गरेको तपस्यासंग तुलसीको महत्व लाई गासिंएको पाइन्छ । स्कन्द पुराण्ले पनि तुलसी को पूजा गरेमा अनन्त फल प्राप्त हुने व्याख्या गरेको छ । औपचारीक रुपमा हरिशयनी एकादशीमा रोपिएको तुलसीको विरुवा हरिबोधिनी एकादशीसम्ममा धेरै ठूलो भइसकेको हुन्छ । आजको दिन विधीपूर्वक जप, होम गरेर तुलसीको होम लगाइन्छ भने यसरी अषाढ शुक्ल एकादशीमा रोपिएको तुलसीलाई आज पिपलसंग विवाह गरिदिने परम्परा पनि रहेको छ ।
काठमाडौको पश्चिममा इचङ्गु नारायण, पूर्वमा चाङ्गु नारायण, उत्तरमा विशखुं नारायण अनि दक्षिणमा शेष नारायणका रुपमा विष्णुले काठमाण्डौलाई हेरिरहेको जनविश्वाश छ ।पहिले पहिले हरिवोधनी एकादशीमा भक्तहरु विष्णु प्रतिमा रहेको आफूलाई पायक पर्ने मन्दिरमा खाली खुट्टा हिँडेर सूर्य उदाँउदा देखि अस्ताँउदासम्म पूजापाठ गरेर बस्ने चलन थियो । यसक्रममा आजका दिनमा भक्तजनहरु उपत्यकाको चारै नारायण एकैदिनमा हिँडेर पनि पुग्ने गर्दथे ।
विष्णु भगवानको जागरणसँगै चतुर्मासमा रोकिएका विवाह, व्रतबन्ध, गृह प्रवेश र अन्य माङ्गलिक कार्यहरूको शुभ मुहूर्त सुरु हुने मान्यता छ। ठूली एकादशीमा घर आँगनमा रोपिएको तुलसीको विधिपूर्वक विवाह गरिन्छ। तुलसी मठलाई गोबर र माटोले लिपपोत गरी, सेता, रातो, पहेँलो वस्त्र र फूलमालाले सिँगारिन्छ र विष्णुको प्रतीक लिङ्गोसँग विवाह सम्पन्न गरिन्छ।
आजका दिनमा व्रतालुले फलाहारमा पिँडालु र सक्खरखण्ड ग्रहण गर्छन्। यस व्रतले हजार अश्वमेध र सय राजसूय यज्ञ बराबरको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। दिवङ्गत पितृको नाममा खोलामा फूल तारेर ‘पितृभ्य स्वधा नमः’ उच्चारण गर्ने प्रचलन पनि छ । यसरी फूल तारेर पितृलाई समर्पण गर्दा व्रत, दान र पुण्यको फल पितृहरुलाई प्राप्त हुन्छ र पितृहरू प्रसन्न भई परिवारमा शान्ति, समृद्धि र आशीर्वाद दिन्छन् भनी शास्त्रमा वर्णन गरिएको छ ।




