काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान्ता रोजामा स्थानीय साहित्य अनुरागी तथा साहित्यकारहरूको संयोजकत्वमा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नर्दन क्यालिफोर्नियाको सहभागितामा पहिलोपटक क्रिसमसको पूर्वसन्ध्यामा दरबार रेष्टुराँको हलमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
अनौपचारिकरूपमा सम्पन्न कार्यक्रममा अनेसासका अध्यक्ष बाबु आचार्य, उपाध्यक्ष दीपक भण्डारी, महासचिव नारायण भट्टराई, अनेसास प्राज्ञ समिति सदस्य तथा लोककवि सुरेश भट्टसहित अमर लामा, छवि भट्टराई, खिम केसी, सविना मल्ल, देव डागी, रमेश मल्ल, मिरा उजेलीलगायत कविहरूको सहभागिता थियो । कार्यक्रममा सहभागी कविहरूले गजल, मुक्तक तथा कविता वाचन गरेका थिए ।
कार्यक्रममा स्थानीय आयोजक खिम केसी, रवि बस्नेत, देव डागी, दरबार रेष्टुराका सञ्चालक दिलुलगायत सहयोगीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रमको उद्घोषण साहित्यकार खिम केसीले गर्नुभएको थियो भने छायांकन देव डागी र अमर तामाङले गर्नुभएको थियो ।
साहित्यिक सौहार्द्र, सिर्जनात्मक अभिव्यक्ति र आपसी आत्मीयता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागी साहित्य अनुरागीहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका थिए ।




