काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले फ्लोरिडामा दुई नेताबीचको द्विपक्षीय वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजरायलको सर्वोच्च शान्तिका लागि इजरायल पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ । नेतान्याहुले इजरायली सरकारले ट्रम्पलाई शान्तिका लागि इजरायल पुरस्कार प्रदान गर्ने निर्णय गरेको बताउँदै ८० वर्षमा पहिलोपटक यो पुरस्कार गैर-इजरायली नागरिकलाई प्रस्ताव गरी शान्ति श्रेणी थप गरिएको बताउनुभएको छ । सोमबार फ्लोरिडास्थित ट्रम्पको निवास मार-ए-लागोमा भएको द्विपक्षीय वार्तापछि ट्रम्पसँगको संयुक्त पत्रकार सम्मेलनमा नेतान्याहुले यस्तो घोषणा गरेको बताइएको छ भने ट्रम्पले यस सम्मानलाई अप्रत्यासित र प्रशंसनीय भन्दै प्रतिक्रिया दिएको बताइएको छ ।
राष्ट्रपति डोनाल्ड जे ट्रम्पले इजरायली र यहुदी जनताका लागि गरेको अपार योगदानका लागि यो पुरस्कार प्रदान गरेको शिक्षामन्त्रीले औपचारिकरूपमा घोषणा गरेको नेतान्याहुले पुष्टि गर्नुभयो । ‘यसले सम्पूर्ण क्षेत्रमा इजरायलीको भावनालाई प्रतिबिम्बित गर्दछ, उनीहरूले इजरायललाई सहयोग गर्न र आतंकवादीविरुद्धको हाम्रो साझा लडाइँको कदर गर्छन्,’ उहाँले बताउनुभयो । ट्रम्पले प्रतिक्रिया दिँदै पुरस्कार आश्चर्यजनक र धेरै सराहनीय रहेको बताउनुभएको छ ।
इजरायल पुरस्कार देशको सर्वोच्च नागरिक सम्मान हो, परम्परागतरूपमा विज्ञान, कला र मानविकीजस्ता क्षेत्रमा उत्कृष्टताका लागि इजरायली नागरिकलाई प्रदान गरिन्छ । यद्यपि शान्ति श्रेणी यसअघि कहिल्यै प्रदान गरिएको थिएन । जुलाई २०२५ मा इजरायलले पुरस्कारका लागि ट्रम्पको छनोट गर्दै विदेशी नागरिकलाई सम्मान दिन अनुमति दिन पुरस्कार नियम संशोधन गरेको थियो ।
पुरस्कार प्राप्त गर्न ट्रम्प इजरायलको स्वतन्त्रता दिवस समारोहमा सहभागी हुने अपेक्षा गरिएको सिएनएनले जनाएको छ । शिक्षामन्त्री योव किस्चले ट्रम्पलाई औपचारिकरूपमा निर्णयको जानकारी दिएसँगै उहाँले समारोहमा उपस्थित हुने विचार व्यक्त गर्नुभयो ।
दुई नेताबीच मतभेद रहेको भए तापनि ट्रम्प र नेतान्याहुले कब्जा गरिएको वेस्ट ब्यांकसहित गाजा शान्ति योजनाको दोस्रो चरणबारे पनि कुरा गरेको ट्रम्पले बताउनुभएको छ । यसैबीच नेतान्याहुले वार्ता अत्यधिक फलदायी भएको बताउँदै ट्रम्पको भूमिकाको प्रशंसा गर्नुभएको छ । (एएनआई)




