पोखरा । २०६२/०६३ को जनआन्दोलनले राजा फालेर गणतन्त्र ल्याइसकेपछि पनि पोखराको ‘राजदरबार’ मानिने रत्नमन्दिर रहस्यमै छ । तत्कालिन राजा महेन्द्र शाहले पोखरा फेवा किनारमा टहलिन र तनावमुक्त भएर बास बस्ने ठाउँको परिकल्पना गरे र ५ वर्षपछि २०१५ सालमा त्यसलाई पूर्णता दिए । कान्छी रानी रत्नको नामबाट महेन्द्रले फेवा किनारमा बनाएको कटेज शैलीको त्यो बंगलाको नाम दिए, रत्नमन्दिर ।
रत्नमन्दिरबारे विभिन्न किस्सा सुनेका धेरै पोखरेलीलाई अझै पनि यो किम्बदन्ती जस्तो लाग्छ । नारायणहिटी राजदरबार नै संग्रहालय भइसकेको लामो समयसम्म पनि रत्नमन्दिरभित्र के छन् तत्कालिन राजाको विलासिताको ठाउँ कस्तो छ ? उनले प्रयोग गर्ने सामानदेखि गीत, नाटक प्रस्तुत हुने चौर र संरचना केके छन् ? भन्नेसमेत सामान्य नागरिकले देख्न पाएका छैनन् ।

महेन्द्रपछि वीरेन्द्र र ज्ञानेन्द्रको पनि रोज्जा ठाउँ पोखरा नै थियो । वीरेन्द्रको वंशनास हुँदा ज्ञानेन्द्र शाह रत्नमन्दिरमै थिए । ज्ञानेन्द्रले २०५८ जेठ १९ को रात बिताइरहेका थिए । महेन्द्रको प्रिय पात्रसमेत रहेको तत्कालिन अञ्चलाधीश शंकरराज पाठकका अनुसार राजाहरु केही निर्णय लिनुपूर्व वा कुनै तनावबाट मुक्त हुनु परे रत्नमन्दिर आउँथे । ११४ रोपनी क्षेत्रफलमा फैलिएको रत्नमन्दिरमा प्रशासनिक भवन, फेवातालसँगै ताल घर, सैनिक बस्ने ३८ कोठे लामो भवन छ । मुख्य भवनमा ११ कोठा छन् । तत्कालिन राजारानीले सुतेका कोठा, आराम गर्ने र खाना खाने कोठाहरु छन् ।





