जनकपुरधाम । ‘हमर खुसीके सीमा नही हे । सपनों मे नही सोचै छी की आब हमर किनल घरघरारी हमर हे । मुदा सरकारके कारण से फिर्ता भेटेले’ मिटरब्याजीले हत्याएको जग्गा फिर्ता पाएपछि उर्मिला देवी महरा (चमार) दंग छिन् ।
महोत्तरीको लोहारपट्टी नगरपालिका-२ सुखैनिया टोलकी उर्मिलाको परिवार ऐलानी जग्गामा बस्दै आएको थियो । आफ्नै जमिनमा ओत लाग्ने सपना पछ्याउँदै उनको परिवारले सात वर्ष अघि ११ लाख खर्चिएर १८ धुर घडेरी जोडेको थियो । त्यही जग्गा पास गर्न लिएको ऋणले उनको परिरवारलाई दिनु दुःख दियो । कतिसम्म भने तीन छोरा, तीन बुहारी र ८ नातिनातिना सहित १५ जनाको परिवारकी मुली उर्मिला थातथलो छाड्ने सोचमा पुगेकी थिइन् ।
तर उनको परिवारमा खुसी फर्किएको छ । शुक्रबार साँझ ५ बजे घरभन्दा केही पर बटैया (अधियामा उब्जाउने) लिएको खेतमा धान रोपाइँ गरिरहेकी उर्मिला निकै खुसी थिइन् ।
खुसी साट्दै गर्दा आफूले पाएको दुःख पनि सुनाइन् । उर्मिलाका अनुसार गाउँकै राजी यादवसँग जग्गा किन्ने क्रममा ७ लाख रुपैयाँ पुगेन । खरिद गरेको जग्गा सोझै जग्गा धनीको नामबाट आफ्नो नाममा दृष्टिबन्धक गरिदिने र कपाली तमसुक बनाउने शर्तमा साहु सोनेलाल ऋण दिन तयार भए । आफ्नै जमिनमा घर बनाउने सपना देखेकी उर्मिला सहमत भइन् । दृष्टिबन्धक रहने गरी जग्गा पास भयो ।
उर्मिलाको परिवारका अनुसार ऋण लिंदा मासिक सयकडा ३ रूपैयाँ ब्याज तोकिएको थियो । सोनेलालले ऋण दिएको रकम ७ लाखको चार गुणा (२८ लाख) को कपाली तमसुक गराए । माइलो छोरा बलिरामसँग २–२ लाखको तमसुक गराए ।
उर्मिलाका कान्छो छोरा जयनारायणका अनुसार ऋण लिएको वर्ष दिनमै पाँच लाख रुपैयाँ बुझाएको थियो । उर्मिलाका छोराहरू वैदेशिक रोजगारीमा गए । जेठो छोरा देवशरणले कतार र माइलो बलिरामले कुवेतबाट पठाएको पैसा पनि साहुलाई बुझाए । पटक पटक गरेर १५ लाख ८० हजार बुझाएको थियो । तर साहु सोनेलालले ३५ लाख रुपैयाँ अझ बाँकी रहेको भन्दै घडेरी र तीनवटै कपाली तमसुक फिर्ता नगर्ने बताए ।
सोनेलालले मानिसहरू लिएर आउँथे, र घडेरी खाली गराउन धम्की दिन्थे, गालीगलौज गर्थे । साहुको हप्कीदप्कीबाट आजित उर्मिलाको परिवार घरघडेरी खाली गरेर अन्तै जाने मनस्थितिमा पुगेको थियो । पछिल्लो समय मिटरब्याज विरुद्ध आन्दोलन सुरु भयो । सरकारले त्यसलाई सम्बोधन गर्न अध्यादेश ल्याएपछि उर्मिला र उनको परिवारमा आशा पलायो । जयनारायणका अनुसार १९ वैशाखमा उनीहरूले जिल्ला प्रशासन कार्यालय, महोत्तरीमा मिटरब्याजी साहु सोनेलाल विरुद्ध उजुरी दर्ता गराए ।
ब्याजको स्याज लिइसकेका मिटरब्याजी सोनेलाल तर्सिए । गाउँमै मिलाउन प्रयास गर्न थाले । तर उर्मिलाको परिवार मानेन । जिल्ला प्रशासनमै छलफल गर्ने अडान लिए । जिल्ला प्रशासन कार्यालयले १३ जेठमा दुवै पक्षलाई बोलायो । सोनेलाल पुगे, तर छलफल गर्न मानेनन् । उर्मिलाको परिवारले ५० हजार रुपैयाँ दिए जग्गासहित तीनवटै कपाली तमसुक फिर्ता दिने बताए ।
उर्मिला राजी भइन् । तर सोनेलालले मेलमिलापको कागज गराउन खोजे, उर्मिलाले पहिले जग्गा फिर्ता गर्नुपर्ने शर्त अघि सारिन् । सोनेलाल तीनवटा कपाली तमसुक फिर्ता गर्नुका साथै मालपोतमा गएर जग्गा फिर्ता गरिदिएको जयनारायण बताउँछन् ।
‘साहु सोनेलालले लगभग बेइमानी गरिसकेको घडेरी र कपाली तमसुक यति सहजै फिर्ता गर्छन् भन्ने कल्पनै गरेका थिएनौं । तर मिटरब्याज सम्बन्धी अध्यादेश आउँदा गुमिसकेको हाम्रो घडेरी फिर्ता भयो’, जयनारायणले खुसी साटे ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगका अनुसार डेढ महिनामा करिब ४१ बिघा ८ कट्ठा ११ धुर जग्गा फिर्ता गराइएको छ । यसरी मिटरब्याज पीडितहरूलाई फिर्ता गराइएको जग्गामध्ये कतिपय त साहुले अदालतबाट मुद्दा जितेका समेत छन् ।
यसरी जग्गा फिर्ता पाउनेमध्ये एक हुन् महोत्तरीकै वलवा नगरपालिका-११ निकाल टोलका लक्ष्मेश्वर यादव । उनले १३ वर्षपछि ४ कट्ठा ७ धुर जग्गा फिर्ता पाएका छन् ।
उनले २०६७ असारमा घरव्यवहार चलाउन लोहारपट्टी नगरपालिका–८ भ्रमरपुराका रामनारायण साहसँग ऋण लिएका थिए । २ लाख ५० हजार रुपैयाँ ऋण लिने गरी दिदी निर्मलाको नाममा रहेको जग्गा दृष्टिबन्धक राखे भने साढे ७ लाखको तमसुक बनाए । तर एजेन्ट वलवा नगरपालिका–९ का मो. जलम्तरले एकलाख मात्र पैसा दिए । केही समयपछि अढाइ लाखको ब्याज सहित गरी पैसा माग्न थाले ।
आफूले पाएको एकलाख ब्याजसहित तिर्न लक्ष्मेश्वर तयार थिए, तर साहुले मानेनन् । बरु तीन वर्षपछि दृष्टिबन्धक पास गरेको लक्ष्मेश्वरको जग्गामा साहु रामनारायणले जोतभोगमा रोक लगाए । साहु रामनारायणले सावाँ–ब्याज सहित ५४ लाख चुक्ता गरे मात्र फिर्ता गर्ने अड्डी कसे ।




