३० बर्षपछि स्टोर खोतल्दा भेटिए पछि रामकुमारले फेसबुक मेसेन्जरमा फाइल र कार्ड पठाइदिए ।
`चरिकोट सक्रिय ग्रुप´बाट बागमती अञ्चल कमिटीको प्रशिक्षण कार्यक्रममा सहभागी भएको कागजात काठमाडौस्थित रामकुमार कायस्थको घरमा सुरक्षित रहेछ ।
एमालेको प्रतिबद्ध खम्बा रामकृष्ण कायस्थ पनि उक्त कार्यक्रममा सहभागी भएकोले उहाँको भतिजो रामकुमारको घरमा सायद हामी दुवैले फाइल र परिचयपत्र छाडेका रहेछाैँ ।
यत्रो बेलासम्म कसैको डकुमेन्ट घर सर्दासम्म सुरक्षित हुनु रामकुमार अब्बल व्यवस्थापक हो भन्ने ठाने । हाल उसको व्यवसायिक प्रगतिले पनि उक्त पुष्टि गर्छ । यदि मेरो घरमा थियो भने यो डकुमेन्ट ०७२ को भूकम्पले भत्किएका घरसँगै माटोमा मिल्थ्यो ।
यो डकुमेन्ट देखेपछि हामीले चरिकोट सक्रिय ग्रुप किन बनायौ ? रामकृष्ण र मैले सम्झन कोसिश गर्यौं । यो ग्रुपको अगुवाई म, रामकृष्ण, चिरञ्जीवी मास्के र सरसल्लाह दिन राजेन्द्र श्रेष्ठ सक्रिय भएको याद गर्यौं ।
तत्कालीन नेकपा एमाले दोलखाका सचिव आनन्दप्रसाद पोखरेको प्रमुख आतिथ्यमा उक्त ग्रुप घोषणा गरिएको स्मरणमा आयो । त्यो बेला जिल्ला सदरमुकाम चरिकोटमा कम्युनिस्ट पार्टीको नामबाट युवा समेट्न मुस्किल परेपछि जिल्ला पार्टी सचिवको निर्देशनमा उक्त ग्रुप क्रियाशील बनाइयो ।
यो ग्रुपलाई नेतृत्व दिने क्रममा हाम्रो काम खासगरी नेपाली कांग्रेसप्रति आकर्षित बजारका नौजवान युवा र विद्यार्थीलाई एमालेमा प्रवेश गराउने थियो ।
त्यतिखेर गौरीशंकर क्याम्पस मात्र उच्च शिक्षा अध्ययन गर्ने शैक्षिक केन्द्र थियो । त्यहाँ बजारका विद्यार्थीले नेविसंघमार्फत ग्रामीण भेगबाट आएका विद्यार्थीमाथि गरिने दवदवालाई निस्तेज गरी अखिलको मनोबल बढाउनु पर्ने थियो ।
त्यतिखेर बजारका ठाउँ ठाउँमा क्यारेमबोर्ड खेलाइन्थ्यो । त्यसमा भुल्ने युवालाई पार्टीप्रति आकर्षित गर्नुपर्थ्यो । त्यतिबेला युवा जमात फुटबल, बक्सिङ, चेस, भलिबलमा बढी आकर्षित हुन्थे, त्यसभित्र छिरेर पार्टीको उपस्थिति जनाउनु पर्थ्यो ।
साहित्य र पत्रकरिता क्षेत्रमा हाम्रो प्रभाव वढाउने योजना पनि थियो ।
त्यो बेला युवा क्लबहरू एकदमै चलेको थियो । चर्चित लालीगुराँस, कालिञ्चोक, गैरास्वारा जस्तो युवा समेटिने क्लव र सेवा समितिहरू थिए । सामाजिक संघसंस्था चलेका त्यो समयमा चरिकोट सक्रिय ग्रुपको कन्सेप्टमा युवा हरियाली समाज बन्यो । त्यो संस्थामा लोककल्याणकारी समाजवादी मोडलका उद्देश्यहरू पार्टीको निर्देशनमा राखियो । तत्कालै बजारमुखी केही परियोजनाहरू पनि सञ्चालन गरियो ।
यो ग्रुपमार्फत त्यतिखेर काग्रेसको सत्ताको सर्वसत्तावादी चरित्र र ज्यादतीबिरूद्ध आन्दोलनमा आन्तरिक ग्रुप तयारी गरिन्थ्यो ।
चरिकोट बजारमा एमाले कमजोर थियो । गैरास्वारा, चोथाङ र दोलखा बजारमा भने एमालेको राम्रो पकड थियो । त्यताबाट कटिबद्ध एमालेहरू उपस्थित भएपछि चरिकोट बजारमा आन्दोलन शक्तिशाली देखिन्थ्यो ।
त्यतिखेर खुबै नेपाल बन्द हुन्थ्यो । नेपाल बन्द गाराउने क्रममा कांग्रेस र हाम्रो झडप हुन्थ्यो । फेरि समझदारी पनि भैहाल्थ्यो । बजारमा कमजोर उपस्थिति भएकाले नेपाल बन्द र अन्य आन्दोलनको कार्यक्रममा एमालेमा नेता, कार्यकर्ता रातारात चरिकोट आउथे । भोकभोकै फर्कन्थे । त्यो बेला राँकेजुलुसका लागि हामी हामी मिलेर मट्टितेल किन्थ्यौँ, व्यापारीसँग मागेर बोरा ल्याउथ्यौँ । निगालाहरू कहिले चोथाङ, कहिले जिलुका साथीहरूले ल्याउँथे । पार्टीको एकपैसा खर्च हुन्नथ्यो । कसैले आस पनि गर्दैनथे ।
लुगा र रंग भएपछि कुमार थापा र अन्य मिलेर झण्डा, व्यानर सित्तैमा वन्थे । कार्यकर्ताहरू पार्टीको खाजासमेत नखाई दिनभरि पोलपोलमा झण्डा र व्यानर अनि भित्ते लेखनका लागि खट्थे ।
यसै कारणले चुनावहरू पनि एकदम कम पैसामा सम्पन्न हुन्थ्यो । उम्मेदवारसँग हिड्ने नेता, कार्यकर्ता र नाच्ने, गाउने टोलीहरू विशुद्ध सादा खानाको भरमा कार्यकर्ताका पिढीमा सुतेर हिड्थे ।
अहिले ती दिनहरूका सम्झनाका लेखहरू नयाँ पुस्ताका लागि अनौठो लाग्न सक्छ । सत्य त्यही थियो, जसले एमालेलाई यहाँसम्म ल्यायो । अबको पुस्ताका काधमा एमालेको जिम्मेवारी आइपुगेको छ ।

यसलाई नेपालको पहिलो र लोकप्रिय पार्टीको रूपमा अघि बढाउन युवाले इतिहासलाई पढौँ, बुझौँ र योगदान गरौँ । हामी सबैको सुन्दर भविष्य र देशको अस्तित्व जोगाओैँ ।
एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धरको वालबाट
Advertisement




