जापान । नयाँ वर्षको पहिलो दिनमै मध्य जापानमा एउटा शक्तिशाली भूकम्प गएको छ। जापानको नोटो प्रान्तमा ७.६ म्याग्निट्यूडको भूकम्प गएको समाचारसंस्था रोयटर्सले जनाएको छ।
उक्त भूकम्प अनामिजु सहरनजिकै गएको बताइएको छ। भूकम्पपछि त्यहाँ सुनामी आउने चेतावनी जारी गरिएको छ। समुद्री तटमा रहेका मानिसहरूलाई उच्च भागतर्फ जान अधिकारीहरूले आग्रह गरेका छन्।
जापानी राष्ट्रिय प्रसारक एनएचकेका अनुसार नोटो क्षेत्रको इशिकावा जिल्लाको तटीय क्षेत्रबाट मानिसहरूलाई “तत्काल उच्च भागमा जान” निर्देशन दिइएको छ। एनएचकेका अनुसार झन्डै पाँच मिटरजति अग्लो छाल नोटो क्षेत्रमा पुगेको छ । अधिकारीहरूले छिमेकी निगाता र तोयामा जिल्लामा पनि सुनामीको चेतावनी जारी गरेका छन्।
ती क्षेत्रमा झन्डै तीन मिटर अग्ला छाल पुग्न सक्ने चेतावनी दिइएको छ। भूकम्पपछि भएको क्षतिको यकिन विवरण आइसकेको छैन।
जापानमा भूकम्प जानु नौलो नभए पनि त्यसका कारण उत्पन्न हुने सुनामीले ठूलो धनजनको क्षति गराउन सक्ने ठानिएको छ ।




