२०७४ सालमा नेपालको नया संरचना अनुसार नवलपरासी जिल्लालाई दुइ भाग लगाएर बनाईएको पूर्वतर्फको जिल्ला नवलपुर गण्डकी प्रदेशमा पर्दछ । यो जिल्लालाई नेपाल सरकारको बर्गीकरण अनुसार भित्री मधेशको जिल्लामा राखिएको छ भने यो जिल्ला गण्डकी प्रदेशबाट नेपालको दक्षिण सीमालाई छुने एकमात्र जिल्ला हो । यस जिल्लाको क्षेत्रफल १,४२६.२७ बर्ग कि.मि. भने समुद्र सतहबाट ९१ मिटर देखि १,९३६ उचाईबीच रहेको छ । यस जिल्लाको सदरमुकाम कावासोती नगरपालिकामा अवस्थित कावासोती बजार हो । भौगोलिक रुपमा यो जिल्ला २७°२१’ देखि २७°४३’ उत्तरी अक्षांस र ८३°३६’ देखि ८४°२५’ पूर्वी देशान्तर का बीच अवस्थित रहेको छ । यस जिल्लामा, ४ वटा नगरपालिका, ४ वटा गाउँपालिका गरी जम्मा ८ वटा स्थानीय तह साथै चितवन राष्ट्रिय निकुन्जको केही भाग पनि यसै जिल्लामा रहेका छन् । यस जिल्लाको पूर्वमा चितवन र तनहुँ जिल्ला, पश्चिममा परासी जिल्ला, उत्तरमा पाल्पा र तनहु जिल्ला तथा दक्षिणमा चितवन जिल्ला र भारत संग सिमाना जोडिएको छ ।
वि .सं. २०७८ को जनगणना अनुसार यस जिल्लाको जनसंख्या ३,७८, ०७९ जना रहेको छ भने जनघनत्व २६५ जना प्रति वर्ग कि.मि. रहेको छ । यस जिल्लाको लैङ्गिक अनुपात८८.८६% रहेको छ । यस जिल्लाको बार्षिक जनसंख्या वृद्धिदर १.८६ % रहेको छ भने कूल जनसंख्याको ३.३% जनसंख्या फरक क्षमता भएका छन् । साथै यो जिल्लाको साक्षरता ८२.८४% रहेको छ । यस जिल्लाका प्रमुख जात जातिहरुमा क्षेत्री, ब्राह्मण, मगर, थारु, तामाङ, विश्वकर्मा, मुसलमान, नेवार, यादव, राई आदि रहेका छन्। यस जिल्लामा बोलिने प्रमुख भाषाहरुमा नेपाली, मैथली, भोजपुरी, थारु, तामाङ, बज्जिका, अवधी, नेवारी, मगर आदि रहेका छन् ।
यस जिल्लाका मुख्य धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलहरुमा दाउन्ने देवी मन्दिर, मौलाकालीका मन्दिर, गजेन्द्र मोक्ष्यधाम, शास्वतधाम, अकलादेवी मन्दिर, घुमारीघाट, लोसेधारा, महाराजाथान, सिख्रौली घाट, उन्नति कल्चरल भिलेज हर्कपुर, धौवादी, देवचुली डाँडा, अमलटारी होमस्टे, प्रिप्रहर होमस्टे आदि रहेका छन् । यस जिल्लाका मुख्य पर्यटकीय प्रयोजनमा अवलोकन, मनोरंजन, अध्ययन अनुसन्धान, तीर्थाटन तथा पदयात्रा आदि रहेका छन् ।
यस जिल्लाको जलस्रोतका रुपमा कालीगण्डकी नदी, नारायणी नदी, झरही खोला, केरुङ्गे खोला, गिरुवारी खोला, विनयी खोला, अरुणखोला आदि साना ठूला खोला तथा नदीहरु रहेका छन् । यसका साथै यस जिल्लामा पोखरी ताल र टरुवा ताल जस्ता अत्यन्त मनोरम र सौन्दर्यताले भरिपूर्ण ताल तथा पोखरी रहेका छन् ।
यस जिल्लामा प्राथमिक कृषि कार्य देखि माध्यमिक सेवामूलक कार्यसम्मका कार्यहरु आर्थिक क्रियाकलापका रुपमा गरिन्छन । यस जिल्लाको मुख्य आर्थिक क्रियाकलापमा सैन्य सेवा, व्यवस्थापकीय कार्य, शिक्षण, प्राविधिक कार्य, निजामती सेवा, कृषि, पशुपालन, व्यापार, पर्यटन आदि रहेको छ। यस जिल्लाको ४३८९७ हेक्टर कृषियोग्य जमिनमा धान, गहुँ, मकै, तोरी, मसुरो, जस्ता खाद्यवाली तथा उखु केरा र व्यावसायिक तरकारी खेती नगदेवालीको रुपमा गरिन्छ कावासोती, गैंडाकोट, हुप्सेकोट, चोरमारा, सिर्दी, अमरापुरी, दुम्कीवास तथा भरतपुर आदि यस जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरु हुन् भने पूर्व पश्चिम राजमार्गको ७० किलोमिटर यसै जिल्लामा पर्दछ ।
उचाई गत विविधता सँगै यस जिल्लामा जलवायुमा पनि विविधता पाउन सकिन्छ । जलवायुका हिसावले यस जिल्ला उपोष्ण मनसुनी जलवायु तथा न्यानो समशीतोष्ण जलवायु पाइन्छ । यस जिल्लामा वार्षिक औशत वर्षा २,०५८ मि.मि. सम्म हुने गर्दछ । यस जिल्लाको बार्षिक अधिकतम तापक्रम ४४ डिग्री सेल्सियस सम्म पुग्ने गर्छ भने न्युनतम तापक्रम ५ डिग्री सेल्सियस सम्म झर्ने गर्दछ । यस जिल्लाका वनस्पतिमा उपोष्ण सदावहार वनस्पति तथा पतझड वनस्पति पाइन्छन ।
जिल्ला परिचय अन्तरगत यो चालीसौं शृंखला हो।
लेखक तथा सङ्कलक: बिशाल ज्ञवाली




