काठमाडौँ । कनेक्ट आईपीएस ह्याक गरेर एक व्यक्तिको खाताबाट १० लाख १० हजार रुपैयाँ चोरी भएको छ । सुनसरीका शिवनन्दन मेहताको कनेक्ट आईपीएस ह्याक गरी गिरोहले १० लाख १० हजार रुपैयाँ ठगी गरेको हो ।
आफूले सानिमा बैंकमा खोलेको खाताबाट गिरोहले कनेक्ट आईपीएस प्रयोग गरी एकैपटक ९ लाख रुपैयाँ ट्रान्सफर गरेको र आफ्नो आमाको नाममा रहेको बैंक खाताबाट समेत पटकपटक गरी १ लाख १० हजार रुपैयाँ ट्रान्सफर गरेको पीडित मेहताको भनाई छ । आफ्नो बैंक खाताबाट कुनै व्यक्तिले अनधिकृत रूपमा रकम निकालेको जानकारी आएलगत्तै ५ मिनेटभित्रै बैंकमा पुगेर खबर गरी अर्को बैंकमा पुगेको रकम रोक्न अनुरोध गरेको भएपनि आफ्नो खाता रहेको सानिमा बैंकले वास्ता नगरेको उनको आरोप छ ।
आफ्नो खाता रहेको सानिमा बैंकको लापरबाहीका कारण आफ्नो खाताबाट ९ लाख रुपैयाँ चोरी भएको भन्दै मेहताले सम्बन्धित बैंक र नेपाल राष्ट्र बैंकमा समेत उजुरी गरेका छन् ।
भएको के हो ?
गत माघ ९ गते बिहान १०ः१५ बजे इनरुवा सुनसरीका शिव नन्दन मेहताको मोबाइल नम्बर ९८५११३७xxx मा कनेक्ट आईपीएसको एउटा म्यासेज आयो । कनेक्ट आईपीएसको प्रयोग गरी अर्को कुनै व्यक्तिको खातामा रकम ट्रान्सफर गर्न लागिएको म्यासेज आएको केही समयमा रकम काटिएको म्यासेज पनि आयो ।
सानिमा बैंक, इनरुवा शाखामा खोलेको खाता नम्बर ०१००१११७xxx१३२७ बाट उक्त रकम ट्रान्सफर भएको थियो । तर अचम्मको कुरा, न त्यो कारोबार मेहताले गरेका थिए, कसैलाई रकम दिनुपर्ने नै थियो ।
बजारमै रहेका मेहता आफूलाई म्यासेज आएको ५ मिनेटभित्रै बैंकको शाखा कार्यालयमा पुगे । सानिमा बैंकको इनरुवा शाखामै उनी बिहान १०ः२० बजे नै पुगेर उक्त कारोबार आफूले नगरेको र कुन बैंक खातामा ट्रान्सफर भएको हो, तत्काल रोक्न गरिदिनका लागि आग्रह गरे ।
सानिमा बैंकले मेहताको खाताबाट कनेक्ट आईपीएसमार्फत् ट्रान्सफर गरिएको रकम एनआईसी एसिया बैंक, बुद्ध चोक शाखा, रुपन्देहीमा खोलिएको पारश्वर थापा क्षेत्रीको खातामा ट्रान्सफर गरिएको जानकारी गरायो । मेहताले एनआईसी एसिया बैंकलाई खबर गरी उक्त रकम तत्कालै रोक्का राखिदिन आग्रह गरे । तर सानिमा बैंकले आफूहरूले रोक्का राख्न नमिल्ने भन्दै खाता ट्रान्सफर गरिएको एनआईसी एसिया बैंकमै जान भन्दै आफ्नो खाताबाट रकम काटिएको भौचर मात्रै प्रिन्ट गरेर दियो ।
त्यसपछि मेहता तुरुन्तै एनआईसी एसिया बैंकको शाखा कार्यालयमा पुगेर ट्रान्सफर गरिएको बैंक खाता रोक्का राखिदिन आग्रह गरे । तर एनआइसी एसिया बैंकले पनि मेहताको कुरा सुनेन । खाता बन्द गर्न बैंकको चिठी चाहिने र तेस्रो व्यक्तिको खाता बन्द गर्न नसकिने बतायो ।
एनआईसी एसिया बैंकले खाता बन्द गर्न नमिल्ने बताएलगत्तै मेहताले कनेक्ट आईपीएसको कार्यालयमा फोन गरी उक्त रकम होल्ड गरिदिन आग्रह गरे । तर कनेक्ट आईपीएसले ‘तपाईंको रकम बिहान १०ः३० बजे नै चेकमार्फत भुक्तानी भइसकेको’ जानकारी दियो ।
रातोपाटीलाई प्राप्त सिसिटिभी फुटेजको एक दृश्यमा करिब ४० वर्षका एक व्यक्ति एनआईसी एसिया बैंकको काउन्टरमा प्रवेश गर्छन् । बैंककी टेलरलाई चेक दिन्छन् । त्यसपछि बैंकबाट ९ लाख रुपैयाँ दिइन्छ र ती व्यक्ति उक्त सबै रकम बोकेर बैंकबाट बाहिरिन्छन् । बैंक खाता खोल्दा पेश गरिएको फोटो र रकम झिक्ने व्यक्ति एउटै व्यक्ति जस्तो देखिन्छन् । यद्यपि बैंक खातामा प्रयोग गरिएको नाम र रकम झिक्ने व्यक्ति एकै हुन् कि होइनन् भन्ने खुलेको छैन ।
शिवनन्दको मात्रै होइन, उनकी आमा रुशनी देवी मेहताको बैंक खाताबाट समेत ठगले १ लाख १० हजार रुपैयाँ ट्रान्सफर गरेर चोरी गरेको पत्ता लागेको छ । माघ ९ गते नै ठगको समूहले रुशनी देवी मेहताको लुम्बिनी विकास बैंकको इनरुवा शाखामा खोलिएको ०१००१११७xxx१३२७ को खाताबाट समेत २२ पटक रकमान्तर गरी १ लाख १० हजार रुपैयाँ ट्रान्सफर गरिएको पाइएको छ । माघ ९ गते दिउँसो १३ः१५ बजेदेखि १३ः३६ बजेको समयमा सिद्धार्थ बैंक कुमारीपाटी, ललितपुर शाखामा रहेको अफसोर टेक प्रालिको खातामा प्रत्येक पटक ५ हजार रुपैयाँका दरले २२ पटक रकम ट्रान्सफर गरिएको हो ।
तर उक्त ट्रान्सफर पनि आफूले नगरेको कारण ती व्यक्तिहरूको खोजी गरी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, सुनसरी, सम्बन्धित बैंक र नेपाल राष्ट्र बैंकमा समेत जानकारी र उजुरी गराए पनि आफूहरूको समस्या सुनुवाइ नभएको पीडित शिव नन्दन मेहताले रातोपाटीलाई बताए ।
मेहता भन्छन्, बैंकको लापरबाहीले नै पैसा चोरियो
पीडित शिवनन्दन मेहताले रातोपाटीसँगको कुराकानीमा बैंकको लापरबाहीको कारण आफूहरूको रकम चोरी भएको आरोप लगाए । आफूलाई म्यासेज आएको ५ मिनेटमै बैंकमा पुगेको र रकम रोक्का राखिदिन आग्रह गर्दा सानिमा बैंक र एनआइसी बैंकले नजरअन्दाज गर्दा रकम चोरी भएको जिकिर गरे ।
मेहताले रातोपाटीसँग भने, ‘मेरो खाताबाट रकम ट्रान्सफर भएको ५ मिनेटमै म बैंकमा पुगेको छु । सानिमा बैंकमा पुगेको अर्को ५ मिनेटपछि नै म एनआइसी एसिया बैंकमा पनि पुगेर रकम रोक्का राखिदिन आग्रह गरेको छु । तर दुवै बैंकले वास्ता गरिदिएनन् । जतिबेला म सानिमा र एनआइसी एसिया बैंकमा पुगेको थिएँ, त्यतिबेलासम्म मेरो रकम ट्रान्सफर भएको खातामा नै थियो । तर एनआईसी एसिया बैंक र सानिमा बैंकको लापरबाहीले गर्दा भन्दाभन्दै मेरो पैसा कुनै व्यक्तिले झिकेर लग्यो । यो बैंकको गम्भीर लापरबाही हो ।’
रोक्काका लागि भन्दै गर्दा रकम झिकिसकिएको थियोः सानिमा बैंक
सानिमा बैंकका कोशी प्रदेश प्रमुख रहेका फणिन्द्र दाहालले भने बैंकले सक्दो प्रयास गरेपनि ढिलो भइसकेको कारण रोक्का राख्न नसकिएको बताए । ठगी गर्नेले ट्रान्सफर गरेको रकम रोक्का राखिदिन आग्रह गर्दागर्दै रकम झिकियो भन्ने पीडितको गुनासो छ नि भन्ने रातोपाटीको प्रश्नमा दाहालले त्यसमा सत्यता नभएको बताए ।
दाहालले भने, ‘जतिबेला पीडित हाम्रो बैंकमा आउनुभयो, त्यसलगत्तै हाम्रो अपरेसन म्यानेजरले एनआईसी एसिया बैंकमा फोन गरेर रकम रोक्का राखिदिन आग्रह गर्नुभएको रहेछ । तर त्यतिबेलासम्म ढिला भइसकेको थियो । रकम चोरी गर्नेले रकम निकालिसकेको भन्ने जवाफ आएपछि केही गर्न नसकिएको हो ।’
सानिमा बैंकका कोशी प्रदेश प्रमुख दाहालका अनुसार यस विषयमा थप अनुसन्धान भइरहेको र रकम ट्रान्सफर गर्ने व्यक्तिको खोजी भइरहेको उनले जानकारी गराए ।




