काठमाडौं । रोयल सेन्ट्रल बास्केटबल सानोगाउँमा शनिबार अन्तरविद्यालय ‘थ्री वाई थ्री’ बास्केटबल प्रतियोगिता हुने भएको छ ।
रोयल सेन्ट्रल बास्केटबल र ‘अल फोर बल’को सहकार्यमा हुन लागेको प्रतियोगितामा ललितपुरको महालक्ष्मी नगरपालिकाभित्रका पाँच सामुदायिक विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ ।
एकदिने प्रतियोगितामा यसअघि सञ्चालन भएको ६ महिने नि:शुल्क बास्केटबल प्रशिक्षण शिविरमा सहभागिता जनाएका विद्यालयले भाग लिने छन् ।
यसअघि ग्रासरुट बास्केटबलको विकास गर्ने र खेलकुदमार्फत युवाहरूलाई सशक्तीकरण गर्ने उद्देश्यका साथ रोयल सेन्ट्रल बास्केटबल र ‘अल फोर बल’ले नि:शुल्क बास्केटबल शिविरको आयोजना गरेका थिए ।
शिविरमा ९ देखि १४ वर्ष उमेर समूहका बालबालिकाहरुलाई निःशुल्क बास्केटबल प्रशिक्षण दिइएको थियो । ६ महिनासम्म भएको उक्त शिविरमा उनीहरूलाई वर्तमान पुरुष राष्ट्रिय बास्केटबल टोलीका सहायक प्रशिक्षक नृपेश श्रेष्ठ र स्टार खेलाडी विनोद महर्जनले प्रशिक्षण दिएका थिए ।




