काठमाडौँ । विसं २०७० जेठ ५ गतेबाट सुरु भयो वाग्मती सफाइ महाअभियान, जसको नेतृत्व गरे तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले । सफाइ महाअभियान सुरु भएको एक दशक पूरा हुँदा पनि वाग्मतीमा सोचेजस्तो परिवर्तन आउन सकेन । तेतिबेलाको महाअभियानको नारा थियो,‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ । तर ५७८ औ हप्ता पुग्दा पनि महाअभियानको सफलता सोचेजस्तो देखिएन ।
अहिले वाग्मतीको मुहान सफा नभई तल्लो भागमा जति सफाइ गरे पनि अर्थ नहुने भन्दै वाग्मतीको मुहान क्षेत्रबाटै सफाइ सुरु गरिएको छ । गुह्येश्वरीमाथिको वाग्मतीमा सफाइ गर्दै आएका अभियानकर्मीको समूहले आज मुहान क्षेत्रका फोहर टिपेर अभियान सुरु गरिएको अभियानकर्मी उत्तम पुडासैनीले सन्चारमाध्यमलाई जानकारी दिनुभयो । वाग्मती सफाइमात्र नभई वाग्मती बचाउ अभियान नै सुरु गर्नुपर्ने भन्दै उहाँले एक दशकअघिदेखि निरन्तर सफाइ भइरहेको बताउनुभयो ।
एक दशकअघिदेखिको अभियानले चेतना जगाए पनि फोहर आफैँले व्यवस्थापन गर्न अघि नसर्दा नदी फोहर हुने क्रम भने यथावत् रहेको अभियानकर्मीको भनाइ छ । गुह्येश्वरीमाथिको वाग्मती सफाइको आज पाँच सय ३८औँ हप्ता हो । अभियानले आजदेखि प्रत्येक हप्ताको शनिबार वाग्मती बचाउ अभियानका नाममा सफाइ जारी राख्ने जानकारी दिनुभयो ।




