काठमाडौं । काठमाडौं उपत्यकाको पुर्वतर्फ भक्तपुर जिल्लाको सिपाडोलमा अवस्थीत डोलेश्वर महादेवमा आजकल दर्शनार्थीको भिड लाग्ने गरेको छ । हिमवत्केदार वैराग्य सिंहासनाधिश्वर रावल पदवी विभूषित श्री श्री श्री १००८ जगत् गुरु भीमाशङ्करलिङ्ग शिवाचार्य महास्वामीबाट २०६६ साल भदौ ६ गतेका दिन केदारनाथको शिरोभाग डोलेश्वर महादेव भएको विधिवत् घोषणा गरेपछि यस पवित्रधामको सर्बत्र चर्चा हुने गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नेपाल भ्रमणको समयमा केदारनाथको शिर डोलेश्वर महादेव रहेको र सवा अर्व हिन्दुहरुको धर्मिक यात्रा, यस पवित्र तिर्थको दर्शन नगरी पुरा नहुने बताएपछि छिमेकी राज्यवाट भक्नतहरुको घुईचो लाग्ने गरेको छ ।
हाल दैनिक १०००-१५०० श्रद्दालुहरु आउने गरेकोमा सोमवार शनीवार ७०००-८००० श्रद्दालुहरु आउने गरेको केदारनाथ मन्दिर संरक्षण समितीका सचिव कविराम थापा बताउनुहुन्छ । साथै ०६६ भदौ ६ गते डोलेश्वर महादेवलाई केदारनाथको शिर घोषणा भइसकेपछि, वर्षको ३ पटक वैशाख/जेठमा पर्ने अक्षय तृतीया, केदारनाथको शिर घोषणाको वाषिर्कोत्सव भदौ ६ गते र शिवरात्रीको दिनमा धार्मीक-पर्यटकहरुको भिड लाग्ने गरेको सचिव थापा बताउनुहुन्छ । गत बर्षको साउन महिना वाहेक अरु समयमा मात्रै ७०-७५ लाख मन्दीरको भेटी संकलन गरियको र साउन महिनामा मात्रै १ करोड पन्ध्र लाखबढी मन्दीरको भेटी संकलन गरिएको बताउनुहुन्छ सचिव थापा । भेटी संकलन वापतको रकम मन्दिर पुनर्निर्माणमा खर्च हुने र कर्मचारीको तलवभत्तामा खर्च हुने गरेको बताइन्छ । सचिव थापाका अनुसार, पुरोहित सरसफाईकर्मी गरेर ११ जना कर्मचारीले रोजगार पाएका छन यस पवित्रधाममा । २०० जना भन्दा बढीलाई निशुल्क सेवा दिन सक्ने धर्मशाला रहेको र धर्मशालाको सेवा लिने श्रद्दालुहरुमा धेरैजसो छिमेकी भारतका रहने गरेका छन ।
धार्मिक दृष्टिकोणले निकै पवित्र र महत्वपूर्ण तीर्थस्थलको रूपमा डोलेश्वर महादेव रहे पनि राष्ट्रिय प्रचारप्रसारको अभावले गर्दा राजधानीबाट नजिकै रहेर पनि त्यति चर्चा पाउन सकेको देखिदैन । डोलेश्वर महादेवको दर्शन गर्न नेपालीभन्दा भारतीयहरू बढी आउने गरेको त्यहाँका पुजारीले बताउँछन । पुजारीका अनुसार केहि समय अगाडी महिनामा दुईदेखि तीन सयजना भारतीय धार्मिक पर्यटक आउने गरेकोमा, हाल सामान्य दिनमा पनि ३००० देखि ४००० हिन्दूधर्मावलम्बी भारतीय पर्यटकहरू आउने गरेका छन । सरकारले पनि डोलेश्वर महादेवको संरक्षण, विकास र प्रचारप्रसारका लागि कुनै कदम नचाल्नुले पनि यो तीर्थस्थल छायाका परेको स्थानीयबासीले बताए । वर्तमान अवस्थामा डोलेश्वर महादेव क्षेत्र संरक्षण तथा विकास समितिले यो क्षेत्रको विकासका लागि एक बृहत् गुरुयोजना बनाएको छ । जुन कार्यान्वयन भएको खण्डमा डोलेश्वर महादेवको काँचुली फेरिने देखिन्छ ।
परिचय: डोलेश्वर महादेव
डोलेश्वर महादेव भक्तपुर सहरबाट दक्षिण-पूर्वी कुनोमा अवस्थित सिपाडोल गाउँमा रहेको महादेव मन्दिर हो । यसलाई केदारनाथको शिर पनि भनिन्छ । काठमाडौंबाट सूर्यविनायक गणेशमन्दिरतिर लाग्ने मोड भक्तपुरको पहिले ट्रलिबस रोकिने ठाउँसम्म पुगेर त्यहीँबाट सिपाडोल जान बस समाएर सूर्यविनायक गणेशमन्दिरको बायाँतिरबाट पन्ध्र मिनेट जत्तिकै बिमला नाम गरेको खोलावारी सिपाडोल बसपार्क पुगिन्छ। त्यहाँबाट पूर्वतर्फको सडक हुँदै पैदल तल ओर्लेर बिमला खोलामाथिको पुल तरेर उकालो लगभग आधा घन्टा हिँडेपछि डोलेश्वर मन्दिर भेटिन्छ।
डोलेश्वर महादेव विशाल कालो पत्थरको शिवलिङ्ग साढेंको टाउको (शिर) झैँ माथि उठेर दायाँतर्फ कोल्टो परेर ढल्केको छ र चाँदीको नागले बेष्ठित भएर रहेको अति सुन्दर देखिन्छ। सुन्दर शिवलिङ्गको बायाँतर्फ त्रिशूल, डमरू र पित्तलको बञ्चरो गाडिएको छ। मन्दिरको पश्चिम मूलद्वारको दुवैतिर ठूला कलश राखिएका छन्। मन्दिरको चारैतिर ३-४ का द्वारहरू रहेका छन् र उत्तरतर्फको द्वार अगाडि जल बगिरहने हुनाले सधैँ बन्द रहने गरेको छ। ९० सालको भूकम्पमा तीन तल्ले झिँगटीको छाना भएको मन्दिर भत्किएपछि सोही ठाउँमा गुम्बज आकारको छाना भएको भुइँतले मन्दिर बनेको थियो भने हाल विशाल मन्दिर निर्माण गरियको छ । मन्दिरको छानामा तामाको प्रयोग गरिएको छ । मन्दिरको छानाको चार कुनामा त्रिशूल रहेका छन् भने मन्दिरको दायाँ-वाया ठूलो घन्टा रहेका छन् । मन्दिरको दाहिनेतर्फ अर्थात् दक्षिणतर्फ एकसय बीस (१२०) धार्नीको पत्थरको त्रिशूल गाडिएको छ भने त्रिशुलसंगै कमन्डलु रहेको छ । त्रिशूल ८४९ नेपाल संवत् कुँदिएको छ। मन्दिरको पश्चिमतर्फको मूलद्वारको अगाडिको प्राङ्गणमा विशाल शिलाको बसाहा (नन्दी) को मूर्ति स्थापित छ । मन्दिरको दक्षिणपूर्व कुनो अर्थात् शिलाको त्रिशूल अगाडि दीप प्रज्ज्वलनका लागि वरिपरि दियोको स्थान रहेको छ भने रङ्गीचङ्गी टायल लगाइएको बिमलादेवीको सानो चिटिक्क परेको मन्दिर रहेको थियो ।
मूल मन्दिरको दक्षिण पश्चिम कुनोमा रहेको अर्को सानो मन्दिरमा पहिले नारायणको मूर्ति रहेकोमा २०३४ सालमा चोरी भएपछि हाल शिवलिङ्ग स्थापना गरिएको छ भने सोहि छेउमा विशाल तामाको नाग स्थापना गरिएको छ साथै नागको मुर्तिको पश्चिमतर्फ हनुमानको मुर्ति स्थापना गरिएको छ । मूल मन्दिरको दक्षिणतर्फ १०८ शिवलिंगको स्थापना गरिएको छ । मन्दिरको बायाँ अर्थात् उत्तरतर्फ अविरल जल प्रवाह भइरहने ढुङ्गेधारा छ भने दायाँतर्फ भजन कीर्तनका लागि पक्की सत्तल र अग्निकुण्ड छ। मूल पुजारी जङ्गम थरका मानिसहरूले सम्भवतः मल्ल राजाहरूको पालादेखिनै पूजाआजा गर्दै आएको बताइन्छ। अरू ढोका विशेष दिनमा मात्रै खोलिन्छ भने पश्चिमको मूलढोका सधैँ खोलिन्छ। मूल ढोकाको रूपमा प्रयोग भए पनि चारै ढोकाको चौकोसको आकार भने अलग-अलग एकैनासको छ।
राजा भूपतिन्द्र मल्लको वि.सं. १६२९ को शिलालेखमा यस डोलेश्वर मन्दिरको जीर्णोद्धार गरी सुनको कलश चढाएको उल्लेख भएबाट सो जीर्णोद्धार भएको मन्दिर त्यसभन्दा तीन–चार शताब्दीअगाडि निर्माण भएको हो भन्न सकिन्छ । यसको इतिहासलाई हेर्दा करिब सात–आठ सय वर्ष अगाडिसम्म मात्र अनुमान गर्न सकिने भएकाले यसभन्दा अगाडिका समयको अनुमान गर्न नसकिने भएकोले किंबन्दतीलाई आधार मानेर यो मन्दिरबारे अनेक चर्चा–परिचर्चा चलेको देखिन्छ । साथै ०६६ भदौ ६ गते डोलेश्वर महादेवलाई केदारनाथको शिर भाग भन्ने घोषणा भइसकेपछि उत्तरको केदारनाथ पनि भनिने गरिएको छ ।
बाह्र ज्योतिर्लिङ्गमध्ये भारत उत्तराखण्डमा अवस्थित चारधाम, गंगोत्री, यमुनोत्री, बद्रीनाथसहित केदारनाथको महत्व परापूर्वकालदेखि नै विशिष्ट रहेका र उनै केदारनाथ महादेवको शिरोभाग पाशुपत क्षेत्र काठमाडौं उपत्यकाअन्तर्गत भक्तपुर जिल्लाको सिपाडोलमा डोलेश्वर महादेवको रूपमा रहेका छन् । महाभारतकालमा पाण्डव परिवारले राज्यव्यवस्था अर्जुनपुत्र अभिमन्युका छोरा परीक्षित महाराजलाई जिम्मा लगाई स्वर्गारोहणका लागि उत्तरापन्थको यात्रा गर्दै गए । यात्राकै क्रममा पाण्डवहरूले आशुतोष भगवान् केदारनाथको दर्शन गर्ने इच्छा गर्दा ती स्वजन हत्या गरी आएका पापी पाण्डवहरूलाई दर्शन नदिने निर्णय गरी केदारनाथले राँगोको रूप धारण गरी जङ्गल विहारमा रहनुभएको थियो ।
पाण्डवहरूले ध्यान दृष्टिले विचार गर्दा केदारनाथले राँगोको रूप धारण गरी जङ्गल विचरण गरेको थाहा पाएपछि सोही रूपको पनि दर्शन गर्छौं भनी पाण्डवहरू प्छि लागेर पुच्छर समाएर तान्न खोज्दा भगवान्ले आफ्नो शिर भाग लुकाई पृथ्वीतर्फ धसिँदै आफ्नो शरीरलाई तीन टुक्रा बनाई अलप हुनुभयो । शिर, धर र पुच्छर तीन टुक्रामध्ये धड सोही ठाउँमा रहेको र भीमसेनको हातमा रहेको पुच्छरसमेत अन्य स्थानमा पछारिन पुगेको थियो । यस्तो अनर्थपछि पाण्डवहरू भयभीत भएर भगवान्को आराधना गर्न थालेका थिए । यसैबीच ‘तिमीहरूले पाप ग-यौ, साँच्चै मेरो दर्शन गर्न आएका हौ भने नेपालमा दर्शन गर्न जाऊँ भन्ने आकाशवाणी भएपछि पाण्डवहरू पूर्वतर्फ लागेका थिए । उक्त कुरा शिवपुराण र महाभारतको स्वर्गारोहण पर्वमा स्पष्ट उल्लेख भएको छ । हाल आएर हिमवत्केदार वैराग्य सिंहासनाधिश्वर रावल पदवी विभूषित श्री श्री श्री १००८ जगत् गुरु भीमाशङ्करलिङ्ग शिवाचार्य महास्वामीबाट २०६६ साल भदौ ६ गतेका दिन केदारनाथको शिरोभाग डोलेश्वर महादेव भएको विधिवत् घोषणा गरेपछि विश्वमा रहेका एक अर्ब २० करोड हिन्दूहरूमा रहेको भ्रम निवारण हुन पुगेको छ । शिव पुराणमा ‘उत्तराञ्चलमा जुन रूपमा म छु, त्यही रूपमा नेपालमा पनि रहनेछु’ भनिएको छ । ज्योतिर्लिङ्ग केदारनाथमा शरीरको मात्र दर्शन हुने र सो दर्शनपछि शिरोभाग डोलेश्वर दर्शन, त्यसपछि आदि ज्योतिर्लिङ्ग पशुपतिनाथको दर्शन तथा आराधनाले तिर्थ पुर्ण हुने र जीवनको सार्थकताका पुरा हुने जनविश्वास रहिआएको छ ।
पहिले डोलेश्वर महादेवको नौ सय रोपनी जङ्गल रहे पनि राणाकालमा बक्सिस पाएर उनका नजिकका व्यक्तिहरूको नाममा दर्ता भएको देखिन्छ । परिणामस्वरूप १९८० र २०२९ को नापीमा डोलेश्वरको जग्गा व्यक्तिहरूको नाममा कायम गरिएको थियो । उक्त नापीले काठमाडौं विष्णुप्रसाद श्रेष्ठ, रामराजा श्रेष्ठ, सिद्धिबहादुर श्रेष्ठ र कृष्णबहादुर श्रेष्ठको नाममा सात सय ९७ रोपनी जग्गा कायम गरेको देखिन्छ । मन्दिरको स्वामित्वमा २०६६ सालसम्म जम्मा एक रोपनी १२ आना जग्गा मात्र थियो । हाल पदमबहादुर पौडेलबाट १५ रोपनी र कुमार उप्रेतीबाट १५ आना जग्गा प्राप्त भएको बताईन्छ ।





