काठमाडौं । सन् १९३४, १९३८, १९८२ र २००६ गरी चार पटक वर्ल्डकप साथै १९६८ र २०२१ मा युरो कप जितेको ईटली अन्तिम मिनेटमा बराबरी गोल गर्दै साविक विजेता इटाली युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । इन्ज्युरी समयको अन्तिम समयमा एक गोलले पछि परेको अवस्थामा गोल गरेर क्रोएसिया विरुद्ध १-१ को बराबरी खेल्दै इटाली अन्तिम १६ मा पुगेको हो ।
क्रोएसियाले ५५औं मिनेटमा लुका मोड्रीचको गोलको मद्दतमा खेलमा अग्रता लिएको थियो । मोड्रीच गोल गर्नु केही समय अघि पेनाल्टीमा असफल रहेका थिए । उनको पेनाल्टी इटालियन गोलरक्षक डोनारुमाले बचाएका थिए । अर्को मिनेट भित्र उनले नै गोल गर्दै क्रोएसियालाई दोस्रो चरण पुग्ने संघारमा पुर्याएका थिए ।
तर क्रोएसियाको सो प्रयासमा इटाली बाधक बन्यो । इन्ज्युरी समयको आठौ मिनेटमा रिकार्डो कालाफिओरीको पासमा बक्सको छेउबाट माटिया जाकाग्नीले उत्कृष्ट गोल गर्दै इटालीको अन्तिम १६ मा स्थान पक्का गरेका हुन् ।
खेलमा हार बेहोरेको भएपनि इटाली समूह ‘बी’ मा तेस्रो हुँदै अन्तिम १६ मा पुग्ने सम्भावना कायमै रहेको थियो । तर सो सम्भावना अनुरूप अन्य नतिजामा भर पर्नु पर्ने थियो ।इटालीको ३ खेलमा ४ अंक रह्यो ।
क्रोएसियाको भने ३ खेलमा २ अंक मात्र भएको छ । तेस्रो भएको क्रोएसियाको उत्कृष्ट ४ तेस्रो स्थान हासिल गर्ने टोली बन्दै अर्को चरणमा पुग्ने सम्भावना न्यून रहेको छ ।
अल्बानिया भने १ अंक सहित समूहको पुछारमा रह्यो । अन्तिम खेलमा अल्बानिया माथि १-० को जित निकाल्दै स्पेन शत-प्रतिशत नतिजा सहित समूहको शीर्ष स्थानमा रह्यो ।




