काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘ब्रेक शु’मा लुकाएर ल्याएको ६० किलो सुन तस्करी प्रकरणमा जोडिएका ६० जनाविरुद्ध मुद्दा दायर भएको छ।
मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तयार पारेको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
(सीआईबी) ले गरेको अनुसन्धानको आधारमा सरकारी वकिलको कार्यालयले दुई डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो।
‘ब्रेक शु’ मार्फत सुन तस्करी प्रकरणः हालसम्म कहाँ पुग्यो अनुसन्धान?
तस्करीमा संलग्नहरुले विभिन्न ५ नक्कली कम्पनी खडा गरी सुन तस्करी गरेको अनुसन्धानले देखाएको छ।
२०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘ब्रेक शु’मा लुकाएर ल्याएको ६० किलो ७१६ ग्राम सुन तस्करीको अनुसन्धानका क्रममा विभिन्न पाँचवटा नक्कली कम्पनीमार्फत हालसम्म ३१ अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ मूल्य बराबरको सुन तस्करी भएको प्रतिवेदन सीआईबीले तयार गरेको थियो।
यसरी बरामद भएको अवैध सुनको मूल्य ३० अर्ब ८४ करोड १२ लाख २६ हजार ४४० हुने भन्दै बिगो दाबी गरिएको अभियोगपत्रमा उल्लेख छ।




