वागमती भन्छिन, “वालेन !! मलाई त आजकल यस्तै, के-के लाग्छ के-के लाग्छ”।
किसानले कुलो काटेर वारिमा पुर्याउदा, मलाई देखेर वालिहरु हर्षले नांचिदिउन जस्तो लाग्छ ।
ज्यापु दाईका साग मुला र गाजरहरु मसंग पखालिदा, असली रुप जस्तै देखिदिउन जस्तो लाग्छ ।
फुर-फुर पुच्छर नचाउदै जोडी भगेरीले पालैपालो टप्प-टप्प मलाई टिपिदिउन जस्तो लाग्छ ।
किनारमा चरेर टुमुक्क अघाएका पशुले, सुई-सुई धित मरुन्जेल मलाई पिईदिउन जस्तो लाग्छ ।
वागमती भन्छिन, “वालेन !! मलाई त यस्तै के-के लाग्छ के-के लाग्छ”।
बटुवाले नाक थुनी हिड्दा, घुक्क-घुक्क रोएकी मलाई, आहा !! वागमती भन्दै हिडिदिउन जस्तो लाग्छ ।
मैला सवारीहरु फुत्त किनारमा झरेर, मेरै पानीले सफा चट्ट भएर गईदिउन जस्तो लाग्छ ।
म संगै वसेर वुढी आमाले, डङ्डङ्ग मुङ्ग्राले ठटाउदै मैऽऽलो तन्ना धोईदिउन जस्तो लाग्छ ।
म संग मिल्दा इच्छुमती र विष्णुमतीहरु सुन्दर मुहार लिएर हास्दै-हास्दै काखमा वसिदिउन जस्तो लाग्छ ।
वागमती भन्छिन, “वालेन !! मलाई त यस्तै के-के लाग्छ के-के लाग्छ”।
आफन्तको सदगद गर्न आंशुझार्दै आर्यघाट आएका मलामीले मेरै चिऽऽसो पानीमा ढुक्कले नुहाएर गईदिउन जस्तै लाग्छ ।
दिनभर चोखो रहेर पितृ उद्दारमा बसेका यजमानसंग गोकर्णका गुरुले मेरै पानीमा नुहाएर पितृको उद्दार गरिदिउन जस्तो लाग्छ ।
कोशी र कर्णालीको तिरमा टल्किए जस्तै लोभलाग्दा वालुवा, शंखमुलको चउरमा पनि टलक्क टल्किदिउन जस्तो लाग्छ ।
कपडाका पोका रिक्साभरी बोकेका धोविघाटका धोविहरुले मैसंग मैऽऽला कपडा धोईदिउन जस्तो लाग्छ ।
वागमती भन्छिन, “वालेन !! मलाई त यस्तै के-के लाग्छ के-के लाग्छ”।
जल विनायकका रिठ्ठे र गिठ्ठेहरुले चोभारको ढिस्कोबाट झम्म्म्म्म हाम्फालेर ढुक्कले पौडिदिउन जस्तो लाग्छ ।
कम्मरमा सपक्क पटुका कसेका फुलमाया र सुकुमारीहरुले घैटो भरी मलाई लिएर घर-घर दौडिदिउन जस्तो लाग्छ ।
माऽऽथी आकासमा उड्ने चिलले हावाको गतिमा आएर, म भित्र खेल्दै गरेको असला माछो टप्प टिपिदिउन जस्तो लाग्छ ।
वाग्द्वारमा जस्तो छु नि ! वालेन, चोभारबाट पनि उस्तै कन्चन बगिरहन मन लाग्छ, चोभारबाट पनि कल-कल बगिरहन मन लाग्छ ।
वागमती भन्छिन, “वालेन !! मलाई त आजकल यस्तै, के-के लाग्छ के-के लाग्छ”।
(लेखक तथा सर्जक: “यो सुन्दा तिमीलाई कति आनन्द लाग्छ होला, वालेन” का रचनाकार ईश्वर अर्याल हाल भूगोल केन्द्रिय विभाग किर्तिपुरमा पिएचडी अध्ययनरत हुनुहुन्छ।)




