एकपटक भर्खरै दीक्षित एक शिष्यलाई आफ्ना गुरुसित केही दिन बिताइसकेपछि आफू पनि गुरु बन्ने रहर जाग्यो । उनले गुरुसित भने– गुरुदेव, म पनि हजुरजस्तै गुरु बन्न चाहन्छु । मेरा पनि वरिपरि शिष्य होऊन् र मानिसले मलाई पनि हजुरलाई जस्तै सम्मान गरून् भन्ने मेरो चाहना छ ।
शिष्यको रहर सुनिसकेपछि गुरुले मन्दमन्द मुस्कुराउँदै भने– दीर्घ साधनापछि आफ्नो योग्यता र विद्वताको बलमा एक दिन तिमीले चाहेजस्तो स्थान प्राप्त हुनेछ, धैर्य गर । गुरुको जवाफ सुनेपछि शिष्यले भने– दीर्घ समयपछि किन गुरुदेव, अहिल्यै किन हुन सक्दैन ? म अहिल्यै आफ्ना शिष्यलाई दीक्षा दिन किन सक्दिनँ ?
शिष्यको जिज्ञासा सुनेपछि गुरुले उनलाई भर्याङको तल्लो सिँढीमा उभिन लगाए । आफूचाहिँ माथिल्लो सिँढीमा उभिएर भने– तिमी मलाई अब त्यहाँबाट सबैभन्दा माथिल्लो सिँढीमा पुर्याइदेऊ त । गुरुको आदेश सुनेर अचम्म मान्दै शिष्यले भने– हजुर पनि कस्तो अचम्मको कुरा गर्नुहुन्छ गुरुदेव ! म आफैँ यति तल्लो सिँढीमा छु भने माथिल्लो सिँढीमा उभिनुभएको हजुरलाई कसरी अझै माथिल्लो सिँढीमा पुर्याउन सक्छु ? यसका लागि त म स्वयं नै पहिले माथि पुग्नुपर्यो नि !
शिष्यको भनाइ सुनेपछि मुस्कुराउँदै गुरुले भने– ठीक यसैगरी कसैलाई आफ्नो शिष्य बनाएर माथि उठाउन चाहन्छौ भने पहिले तिमी स्वयं उच्च स्थानमा पुग्नुपर्छ । शिष्यले गुरुको आशय बुझे । उनी नतमस्तक भएर गुरुको चरणमा परे र पुनः ज्ञान आर्जनलाई निरन्तरता दिन थाले ।




