काठमाडौं । त्रिभुवन विमानस्थल नेपालको पहिचान झल्काउने पहिलो स्थान मात्र होइन, अन्तर्राष्ट्रीय सीमा पनि हो। त्यही विमानस्थल अस्तव्यस्त भए नेपालबारे कस्तो सन्देश जाला? कुनै समयको अस्तव्यस्त विमानस्थल अहिले भने केही व्यवस्थित देखिएको छ।
विमानस्थल अध्यागमन पूर्ण स्वचालित प्रणालीमा अपग्रेड भएको छ। विमानस्थल अध्यागमन पछिल्लो समय चुस्त देखिन्छ। कम डेस्क र सर्भर डाउनको समस्याले गर्दा यात्रुहरूलाई अध्यागमन पार गर्न घण्टौं कुर्नुपर्ने समस्या थियो। अब त्यो समस्या सदाका लागि अन्त्य भएको छ। आगमनतर्फ डकुमेन्टमा केही समस्या नभएका यात्रुहरूले अब १५ देखि २० सेकेन्डमै अध्यागमन पार गरिसक्छन्। कागजातमा सामान्य समस्या देखिएका यात्रीको पनि २ देखि ३ मिनटभित्रमा अध्यागमन प्रक्रिया समाप्त हुन्छ।
विमानस्थलमा जडान गरिएको विद्युतीय अध्यागमन सूचना प्रणालीले कार्य सम्पादन सहज बनाएको छ। १३ माघ ०७६ मा अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित १३ वटा कार्यालयमा एकैपटक नेपाली बायोमेट्रिक सूचना प्रणाली ‘नेपाली पोर्ट’ जडान गरेको थियो।
उक्त पोर्ट समय-समयमा अपग्रेड हुँदै अहिले व्यवस्थित भइसकेको कार्यालयका कम्प्युटर अपरेटर दिलिपकुमार सिंह बताउँछन्। नेपाली पोर्टलाई अझ अपग्रेड गर्नुपर्ने आवश्यकता अध्यागमन कर्मचारीहरू औंल्याउँछन्। उनीहरूका अनुसार नेपाली पोर्टलाई थप अपग्रेड गरिएमा अहिलेभन्दा ६० प्रतिशत ज्यादा छरितो काम हुन सक्छ। सिंहका अनुसार सिस्टममार्फत अध्यागमनका डेटाहरू अनलाइनमा लगिएको छ, जसले गर्दा कार्य सम्पादन सहज भएको छ।
‘अध्यागमनको सेवालाई पेपरलेस र सेक्योर (सुरक्षित) बनाउने प्रयासमा छौं,’ विभागका महानिर्देशक कोषहरि निरौला भन्छन्, ‘अध्यागमनको सेवालाई अन्तर्राष्ट्रीय स्तरको बनाउने प्रयास जारी छ। यस वर्ष थप कार्यक्रमहरू मार्फत सेवालाई अझ व्यवस्थित र छरितो बनाउने प्रयासमा छौं।’
अन्तर्राष्ट्रीय विमानस्थलको आगमनतर्फ टर्मिनल भवनभित्र प्रवेश गरेपछि अध्यागमनको काम शुरु हुन्छ। भित्र प्रवेश गरेपछि यात्रुहरूले अध्यागमनबाट भेरिफिकेसन लिनुपर्छ। २२ वटा अराइभल डेस्कमार्फत भिसा र पासपोर्ट भेरिफिकेसन हुन्छ।
काम छिटो-छरितो बनाउन नेपाली, भारतीय, ज्येष्ठ नागरिक, बालबालिका र तेस्रो मुलुकका नागरिक तथा एयरलायन्स ‘क्रु मेम्बर’का लागि छुट्टाछुट्टै डेस्कको व्यवस्था गरिएको छ। त्यसबाट पासपोर्ट र भिसा भेरिफिकेसनको काम छिटो सम्पादन गर्न अध्यागमनलाई सहज भएको छ। कुनै बेला सर्भर डाउनको समस्याले अध्यागमनको काम घण्टौंसम्म रोकिन्थ्यो। अहिले त्यो समस्या पनि हटेको छ।
यस्तै, १२ वटा मुलुकबाहेकका नागरिकहरूका लागि अनअराइभल भिसाको व्यवस्था गरिएको छ। उनीहरूले आगमन विन्दुमै राखिएका अनअराइभल डेस्कबाट आफैं सहज भिसा प्राप्त गर्न सक्छन्। त्यसपछि अध्यागमनका लागि सम्बन्धित डेस्कबाट प्रक्रिया पूरा गर्न सक्छन्।
अध्यागमनले इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन (ईटीए) स्वचालित सिस्टम पनि शुरु गरेको छ। पहिले अनअराइभल भिसा मात्र रहेकामा अब नेपाल आउने यात्रुले अनलाइनमार्फत पनि ट्राभल अनुमति लिन सक्छन्। ईटीएमार्फत नेपाल आएका विदेशीले विमानस्थल अध्यागमनमा आफ्नो विवरण भेरिफाई गर्नुपर्छ।
विमानस्थलका अध्यागमन डेस्कमा जडान भएको सिस्टममार्फत पासपोर्ट स्क्यान गरेपछि एकैछिनमा भेरिफाइ हुन्छ। बोर्डिङ पास राखेपछि त्यहाँ यात्रुको सबै डिटेल हेर्न सकिन्छ। नेपाल प्रवेश गर्न लागेको यात्रु कुनै अपराधमा संलग्न छ/छैन, इन्टरपोलको नोटिसमा छ/छैन भनेर सिस्टममार्फत सजिलै थाहा पाउन सकिने कार्यालयको दाबी छ। इन्टरपोलको हिट लिस्टमा भए सिस्टमले रेड सिग्नल देखाउँछ, नभए क्लिन।
यस्तै, विभागले ब्ल्याक लिस्टमा राखेका यात्रुहरूको पनि यस्तै संकेत देखिन्छ। नेपालभित्र कुनै अपराध गरेको र सम्बन्धित निकायले पत्राचार गरेको अवस्थामा अध्यागमन विभागले ब्ल्याक लिस्टमा राख्ने गरेको छ। ब्ल्याक लिस्टमा परेको मान्छेको पनि रेड सिग्नल देखाउँछ। उसको अपराधको विवरण पनि राखिएको हुन्छ। त्यो हेरेर भेरिफाइ गर्न सहज हुन्छ।
यदि रेड सिग्नल देखिएमा अराइभल अधिकृतलाई बुझाइन्छ। त्यसपछि बाँकी प्रक्रिया अगाडि बढाइन्छ। अध्यागमनसँग सम्बन्धित विषय भएमा अध्यागमन कार्यालयले डिटेन्सनमा लिन्छ। आपराधिक क्रियाकलापमा संलग्न भएको पाइएमा नेपाल प्रहरी वा सम्बन्धित कार्यालयलाई बुझाइन्छ।
त्रिभुवन विमानस्थल एक मात्र अन्तर्राष्ट्रीय विमानस्थल रहेको अवस्थामा सबै निकायका सूचनाहरू यहीं मात्र आउने गर्थे। हाल पोखरा र भैरहवामा अन्तर्राष्ट्रीय विमानस्थल थपिएका कारण प्रहरी वा अन्य निकायहरूले सूचनाहरू अध्यागमन विभागमा पठाउने गरेका छन्। त्यसपछि विभागमार्फत सबै अध्यागमन कार्यालयमा सूचना पुग्छ।
यस्तै, उक्त सिस्टममा नेपाली दूतावासहरू पनि जोडिएका छन्। नेपाली दूतावासले कुनै व्यक्तिलाई नेपालको भिसा प्रदान गरेमा विभागको सिस्टममा त्यसको विवरण प्राप्त हुन्छ, जसले गर्दा गैरकानूनी गतिविधिमा संलग्न यात्रुहरूलाई रोक्न सहज भएको छ।
अध्यागमनको काम सकिएपछि सुरक्षा जाँचका लागि नेपाल प्रहरीको एकाइमा पठाइन्छ। प्रहरीको सुरक्षा जाँच सम्पन्न भएपछि विमानस्थल भन्सार कार्यालयको एकाइमा पठाइन्छ।
प्रस्थान कक्ष (डिपार्चर)मा पनि २२ वटा डेस्कहरू राखिएका छन्। त्यसमा पनि ज्येष्ठ नागरिक, अशक्त, कूटनीतिक, नेपाली र विदेशीहरूका लागि छुट्टाछुट्टै डेस्कहरू व्यवस्थापन गरिएको छ।
तर, डिपार्चरको सुरक्षा जाँच एकाइ अध्यागमनभन्दा पछाडि राखिएको छ। त्यसबाट सुरक्षा जोखिम देखिएको विमानस्थलका अधिकारीहरू बताउँछन्। किनकि, डिपार्चर टर्मिनल प्रवेश गर्नासाथ पहिले सुरक्षा जाँच हुनुपर्ने हो। अनि मात्र अध्यागमन एकाइमा यात्रीलाई पठाइनुपर्ने उनीहरू बताउँछन्।
अहिले सुरक्षा जाँच नै नभएका यात्री सीधा अध्यागमन पुग्छन्। अध्यागमन प्रक्रिया पार गरेपछि मात्र प्रहरीले सुरक्षा जाँच गर्छ, जुन आफैंमा विरोधाभासपूर्ण देखिन्छ।
अध्यागमनको अन्तर्राष्ट्रीय अभ्यासमा पनि शुरुमा सुरक्षा जाँच पास गरेर अध्यागमनको काम गरिन्छ। नेपालमा भने अन्तर्राष्ट्रीय अभ्यास लागू गराउन सरकारी चासो देखिँदैन।
केही महिनाअघि एक दक्षिण एसियाली मुलुककै कूटनीतिज्ञ आफ्नो स्टेसन सम्हाल्न काठमाडौं उत्रिए। उनीसँगै त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलमा उत्रिएका यात्रीहरू धमाधम बाहिरिए। उनलाई भने २२ मिनटसम्म लाइनमा उभ्याइयो। कारण थियो- कूटनीतिक भिसा जारी गर्ने परराष्ट्र मन्त्रालयको कन्सुलर विभाग र अध्यागमन विभागबीच समन्वय अभाव।
त्यसरी समन्वय नहुँदा कूटनीतिक राहदानीवाहक कूटनीतिज्ञहरूले विमानस्थल अध्यागमनमा म्यानुअल्ली प्रकृया अगाडि बढाउनुपर्थ्यो। उक्त घटनापछि अध्यागमन र कन्सुलर विभागका प्रणालिहरू पनि आपसमा जोडिएका छन्। र, अहिले कूटनीतिक पासपोर्ट/भिसाधारी यात्रीले पनि सहजै अध्यागमन प्रकृया पूरा गर्न सक्ने भएका छन्। ‘जहाँ समस्या छ, त्यसलाई समाधान गर्न मिहिन रूपमा लागिपर्दा परिवर्तन ल्याउन सकिने रहेछ भन्ने पाठ सिकेका छौं,’ महानिर्देशक निरौला भन्छन्।
कसरी अन्त्य भयो ‘सर्भर डाउन’को समस्या ?
केही समय अघिसम्म विमानस्थल अध्यागमनको सर्भर डाउन हुने समस्याले यात्रुहरू मारमा पर्ने गरेका थिए। सर्भर नचल्दा यात्रुहरू घण्टौंसम्म अध्यागमनमा रोकिएका समाचारहरू सामान्य बनिसकेका थिए। तर, अहिले सर्भर डाउन समस्याको पूरै अन्त्य भएको अध्यागमन कार्यालयको दाबी छ। अब विगतमा जस्तो ३ घण्टासम्म लाइनमा उभिनुपर्ने झण्झट बाँकी छैन।
अध्यागमनको केन्द्रीय सर्भर र विमानस्थलको डेडिकेटेट सर्भरबीच ‘डार्क कोर फाइबर’ जडान गरेपछि सर्भर डाउनको समस्या समाधान भएको अध्यागमन अधिकृत भेषराज खनाल बताउँछन्। नेपाल टेलिकमसँगको समन्वयमा गत ५ साउनमा फाइबर जडान गरिएको थियो।
उनका अनुसार डार्क कोर फाइबर जडानपछि विमानस्थलको सर्भरमा उत्पादन भएका डेटाहरू तुरुन्तै सिंहदरबारस्थित केन्द्रीय डेटा सेन्टरमा पुग्छन्। डार्क कोर फाइबर प्राइभेट नेटवर्कको रूपमा रहने हुँदा बढी भरपर्दो र सुरक्षित पनि हुने उनी बताउँछन्।
विमानस्थलको डेडिकेटेट सर्भर अपडेट भए पनि स्पेस अभावका कारण साँघुरो ठाउँमा राख्नुपर्ने बाध्यता रहेको अध्यागमनका एक अधिकारी बताउँछन्। जब कि, सर्भर सञ्चालनका लागि साँघुरो होइन, खुला स्पेस आवश्यक हुन्छ। किनकि, सर्भरमा उत्पन्न हुने हिट नियन्त्रणका लागि ठूला क्षमताका कुलरहरू जडान गरिएका हुन्छन्।
तर, साँघुरो कोठामा सर्भर राख्दा तात्ने र कार्यक्षमतामा ह्रास आउन सक्ने जोखिम देखिन्छ। विमानस्थलको सञ्चालक निकाय नागरिक उड्डयन प्राधिकरणसँग सर्भर राख्न खुला स्पेस उपलब्ध गराइदिन माग गरे पनि सुनुवाइ नभएको अध्यागमन कर्मचारीहरू बताउँछन्।
सुधारमा महानिर्देशक र कार्यालय प्रमुखको सक्रियता !
अध्यागमन विभागका महानिर्देशक निरौला र विमानस्थल अध्यागमन कार्यालय प्रमुख सुरेश पन्थीको सक्रियतामा विमानस्थल अध्यागमनमा उल्लेख्य सुधार आएको त्यहाँ कार्यरत कर्मचारीहरू बताउँछन्।
विमानस्थल अध्यागमनका एक कर्मचारी भन्छन्, ‘म यहाँ आएको ८ महिना नाघ्यो तर अहिले मैले हेर्दाहेर्दै अध्यागमनमा यति धेरै सुधार आएको छ। अध्यागमन सुधारमा सरहरूको ट्युनिङ राम्रो देखिन्छ।’
अर्का एक अधिकृत भन्छन्, ‘उहाँहरू आएदेखि अध्यागमनको कार्य सम्पादनमा सुधार आएको छ। समस्यासँग डिल गर्न र समाधानका उपाय खोज्न सिकाउनुभएको छ। कर्मचारीको आत्मविश्वास बढेको छ।’
विमानस्थलमा भेटिएका उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल पनि विमानस्थल अध्यागमनमा धेरै परिवर्तन आएको बताउँछन्। भन्छन्, ‘म त धेरै हिँडिरहन्छु, पहिलाभन्दा धेरै चेन्ज आएको छ। डेस्कहरू पनि थपिएका छन्। सर्भिस पनि पहिलेको भन्दा धेरै राम्रो र छिटो छ।’
कति छन् विमानस्थलमा अध्यागमन कर्मचारी ?
विमानस्थल अध्यागमन कार्यालय एक सहसचिवको नेतृत्वमा सञ्चालनमा छ। कार्यालयका अनुसार हाल विमानस्थलमा ६ उपसचिवको दरबन्दी छ। त्यसमा थप एकजना काजमा गरेर ७ जना उपसचिव कार्यरत छन्। कार्यालयमा १२१ जना अधिकृतको दरबन्दी छ। तीमध्ये १२० जना कार्यरत छन्। यस्तै, ९ जना नासुको दरबन्दी रहेकामा २ जना काजमा गरेर ११ जना कार्यरत छन्।
यस्तै, ३ जना कम्प्युटर अपरेटरको दरबन्दी रहेकामा काजमा थप ३ जना गरी ६ जना कार्यरत छन्। एउटा सिफ्टमा २ जना कम्प्युटर अपरेटर हुने गरी ३ जनालाई काजमा थपिएको कार्यालयले जनाएको छ। यस्तै, विमानस्थलमा स्थायी पदपूर्तिबाट एकजना कम्प्युटर इन्जिनियर छन्। अध्यागमन विभागले थप २ जना कम्प्युटर इन्जिनियरलाई करार सम्झौतामार्फत भर्ना गरेको छ। यस्तै, एकजना कम्प्युटर अधिकृतको दरबन्दी छ।
सिस्टमबाटै हुन्छ कर्मचारीको दैनिक कार्यविभाजन
विमानस्थल चौबीसै घण्टा खुला राख्नुपर्ने भएकाले अध्यागमनका कर्मचारीहरूले तीन सिफ्टमा काम गर्छन्। अधिकृत र उपसचिवको दैनिक कार्यविभाजन सिस्टमले आफैं गरिदिन्छ।
अधिकृतहरूलाई ड्युटीको आधा घण्टा अघिसम्म कार्य विभाजन जानकारी हुँदैन। सिस्टमले कार्यविभाजन गरेर मोबाइलमार्फत सन्देश पठाइदिन्छ। आज डिपार्चरमा परेको अफिसर अर्को दिन अराइभलमा पनि पर्न सक्छ। डेस्क पनि फरक-फरक पर्न सक्छ। उपसचिवहरूको पनि त्यसैगरी सिस्टमले कार्यविभाजन गरिदिन्छ।
अहिले विमानस्थल अध्यागमनमा अन्तर्राष्ट्रीयतर्फ प्रस्थान र आगमनमा २२/२२ वटा डेस्क राखिएका छन्। यसअघि डिपार्चरमा १४ वटा डेस्क रहेकामा ८ वटा थपिएको हो।
प्रत्येक डेस्कमा अधिकृत तहका कर्मचारी रहन्छन्। अराइभलतर्फका डेस्कहरूलाई समन्वय गर्न एक जना अराइभल अधिकृत (एओ) तोकिएका हुन्छन्। डिपार्चरतर्फका लागि पनि एकजना डिपार्चर अधिकृत (डीओ) तोकिएको हुन्छ। कार्यालयका अनुसार प्रत्येक दिन डेस्क अधिकृतबाट सिस्टमले नै एओ र डीओ छान्ने गरेको छ।
यस्तै, ती दुवैतर्फका अधिकृत भन्दामाथि १-१ जना उपसचिव सिफ्ट इन्जार्ज रहन्छन्। डेस्कमा केही समस्या भएमा सम्बन्धित सिफ्टका अधिकृतलाई जिम्मा लगाइन्छ। त्यसपछि ती अधिकृतले प्रशासनिक रूपमा गर्नुपर्ने काम गर्छन्, यता डेस्कमा कुनै अवरोध हुँदैन।
सिफ्ट अधिकृतले आफ्नो तहबाट समाधान हुने काम गर्छन्, माथिल्लो तह जानुपर्ने भए क्रमशः उपसचिव, प्रशासन, कार्यालय प्रमुख हुँदै विभागसम्म पनि जान सक्छ। २५ असोजका अराइभल अधिकृत सुरेश खतिवडाका अनुसार ओभर स्टे, डिपोर्ट, डुप्लिकेट पासपोर्टलगायत मुद्दा चल्ने विषयहरू विभागमा पठाइन्छ। मुद्दा चलाउने अधिकार ऐनले विभागलाई दिएकाले यस विषयमा विभागले आवश्यक प्रक्रिया अगाडि बढाउँछ।
उनका अनुसार १५ असोजमा पासपोर्ट र भिसामा जन्ममिति फरक परेको कारण दुबईबाट इन्ट्री रिफ्युजको एउटा केस आएको थियो। यस्तै, चीनको अध्यागमनले त्यहाँ ‘शंकास्पद गतिविधि गर्न सक्ने’ भन्दै इन्ट्री रिफ्युज गरेको अर्को केस पनि आएको थियो। तर, नेपालको अध्यागमनमा उनीहरूको कुनै खराब रेकर्ड देखिएन। त्यसैले आफ्नो देशको नागरिक भएको नाताले नेपाल प्रवेश अनुमति पाए।
खतिवडाका अनुसार नेपालले १२ वटा देशबाहेकका नागरिकलाई अन अराइभल भिसा दिने गरेको छ। तर, कुनै बेला अन अराइभल भिसा नपाउने देशका नागरिकहरू पनि भिसा नलिई आउने गरेका केसहरू पनि हुन्छन्।
कर्मचारीलाई पढाउन सिनर्जी रुम !
अन्तर्राष्ट्रीय विमानस्थल देशको स्थिति झल्काउने स्थान मात्र नभएर अन्तर्राष्ट्रीय सीमा पनि हो। विमानस्थलबाट नेपाली मात्र नभएर विभिन्न देशका नागरिकहरूको आवतजावत हुन्छ। त्यसैले विमानस्थलमा कार्यरत कर्मचारीहरूको यात्रुहरूसँग बोल्ने शैली, भाषा र अध्यागमनको ज्ञान महत्त्वपूर्ण मानिन्छ। त्यसैले कर्मचारीहरूलाई समय-समयमा अभिमुखीकरण तालिमहरू दिनुपर्छ।
विमानस्थल अध्यागमन कार्यालयले आफ्ना कर्मचारीको क्षमता अभिवृद्धिका लागि असार पहिलो सातादेखि सिनर्जी रुम सञ्चालनमा ल्याइएको छ। त्यहाँ कार्यालय प्रमुखसहितको उपस्थितिमा कर्मचारीलाई साप्ताहिक रूपमा तालिम दिने गरिएको छ। अन्य विभिन्न समस्या आउँदा पनि अध्ययन र छलफल गरिने कार्यालयले जनाएको छ।
यस्तै, कामको सिलसिलामा कुनै इस्यु आएमा त्यसको पहिचान र समाधानका उपायहरूको बारेमा अधिकृतहरूलाई अध्ययनको जिम्मा लगाइन्छ। अधिकृतहरूले तयार पारेको समाधानका उपायसहितको रिपोर्ट प्रस्तुतीकरण गरिन्छ। त्यसबाट कर्मचारीहरूको क्षमता अभिवृद्धि हुने र समस्याको पहिचान मात्र नभई समाधानका उपायहरू समेत खोज्न प्रेरित गर्ने विभागको भनाइ छ।
यस्तै, विमानस्थल अध्यागमन कार्यालयमा सरुवा भएर आउने कर्मचारीहरूलाई ५ दिने तालिम दिएर मात्र ड्युटीमा खटाइने गरेको छ। अध्यागमन अधिकृत खनालका अनुसार अध्यागमनमा प्रत्येक दिन नयाँ इस्युहरू आइरहन्छन्। तिनलाई डिल गर्न पूर्व तयारीजस्तै हो यो अध्ययन र तालिम। देश-विदेशमा भइरहेका विविध गतिविधिको अध्ययन गरेर त्यसको पूर्व तयारी गरिन्छ। र, त्यसका लागि कर्मचारीहरूलाई तयार पारिन्छ। सिनर्जी रुम सञ्चालन भएपछि कर्मचारीको कार्यसम्पादन क्षमतामा उल्लेख्य सुधार देखिएको कार्यालयको दाबी छ।
खनाल भन्छन्, ‘अध्यागमन जटिल विषय भएकाले राष्ट्रीय, अन्तर्राष्ट्रीय विविध परिवेशले प्रभावित पारिरहेको हुन्छ। श्रीलंका, बंगलादेशका जस्ता घटना भए, युद्धरत देशहरूबाट अवैध आप्रवासी आउन सक्छन्। लेबनान युद्धले नेपालमा के प्रभाव पर्छ? लेबनानी, इरानीहरू नेपाल ट्रान्जिट बनाएर बाहिर जान सक्छन्। तिनीहरू कुन उद्देश्यले आउँदैछन्, त्यसले हाम्रो सुरक्षा र हितमा कस्तो प्रभाव पार्छ भनेर दैनिक तथ्यांक विश्लेषण गरिन्छ। त्यसको विस्तृत अध्ययन गरिन्छ।’
१५ असोजमा नेपाली हेडलाइन टिम दिउँसो ३ बजे विमानस्थल पुग्दासम्म अध्यागमनले एकजना इरानी नागरिकको फेक पासपोर्ट फेला पारेको थियो। र, कर्मचारीहरू उक्त इस्युको समाधान खोजिरहेका थिए।
सिनर्जी रुममा कार्यालयका कर्मचारीको समूहमा छलफल गरिन्छ भने अध्यागमनका समस्याहरू र समाधानका उपायबारे विज्ञहरूसँग छलफलका लागि अध्यागमन अनुसन्धान, विश्लेषण तथा तालिम केन्द्र पनि सञ्चालनमा ल्याइएको छ। केन्द्रमा विज्ञहरूसँग छलफल गरिन्छ। निकास निकाल्न सकिने विषयमा त्यहाँबाट समाधान गरिन्छ भने सुधार गर्नुपर्ने कुरामा नीति निर्माणका लागि गृह मन्त्रालयसमक्ष सुझावहरू पेश गरिन्छ। यो केन्द्र पनि करिब डेढ महिनाअघि सञ्चालनमा ल्याइएको अधिकृत खनाल बताउँछन्।
कार्यालय प्रमुखको कार्यकक्षलाई कमान्ड सेन्टरको रूपमा स्तरोन्नति गरिएको छ। ६५ इन्चको सीसीटीभी क्यामेरा मोनिटर जडान गरिएको छ। त्यहाँ २२ वटा अराइभल र २२ वटा डिपार्चरका गरी डेस्कका ४४ वटा र अन्य ठाउँका गरी करिब ५० वटा सीसी क्यामेरा कनेक्टेड छन्।
पहिले बन्द भइरहने सीसी क्यामेराको कमान्ड अहिले २४सै घण्टा चल्ने बनाइएको छ। त्यहाँबाट अध्यागमनका सम्पूर्ण गतिविधिहरूको अनुगमन हुन्छ। कुनै डेस्कमा यात्रुहरूको भीड र कुनैमा खाली देखिएमा त्यहाँबाट जानकारी गराएर व्यवस्थापन गरिन्छ। कर्मचारी र यात्रुका विषयमा गुनासाहरू भएमा त्यसलाई पनि सम्बोधन गरिन्छ।
विमानस्थलभित्रै हिरासत !
अन्य देशमा एयरलाइन्सले त्यो देशको कानूनभन्दा बाहिरको मान्छे लिएर गएमा अध्यागमनलाई जरिवाना तिर्नुपर्ने व्यवस्था छ। तर, नेपालको ऐनमा कानूनविपरीतका मानिसहरूलाई बोकेर ल्याएमा एयरलाइन्सलाई कारवाही गर्ने व्यवस्था छैन। एयरलाइन्सहरूले पनि नेपालको कानून बुझेरै होला जस्तोसुकै यात्रुहरू पनि लिएर आउने गरेको अध्यागमनका एक अधिकारी बताउँछन्। गैरकानूनी यात्रुहरूलाई बोकेर आउने एयरलाइन्सलाई जरिवानाको कानून बनाए यस्तो गतिविधिमा कमी आउनसक्ने उनको भनाइ छ।
त्यसरी गैरकानूनी रूपमा नेपाल प्रवेश गर्न खोज्ने विदेशीहरूलाई अध्यागमनले नियन्त्रणमा लिन्छ। उनीहरूलाई राख्न विमानस्थलभित्र महिला र पुरुषका लागि छुट्टाछुट्टै डिटेन्सन रुम (हिरासत)को व्यवस्था गरिएको छ। समाधान हुने विषय भएमा तत्काल समाधान गरिन्छ। यदि गैरकानूनी भएमा डिटेन्सनमा राखिन्छ र प्रक्रिया पुर्याएर फिर्ता पठाइन्छ।
अवैध रूपमा भित्रिएकाहरूलाई बस्नका लागि अध्यागमनले व्यवस्था गर्ने गरेको छ। तर, उनीहरूलाई खाने र फिर्ता लैजाने खर्च स्वयं एयरलाइन्सले तिर्ने गर्छन्। उनीहरू फर्किने व्यवस्था नहुँदासम्म अध्यागमनले विमानस्थलभित्र डिटेन्सनमा राख्ने गरेको छ।
के के हुँदैछ अपग्रेड ?
विमानस्थल अध्यागमन सुधारका लागि विभागका महानिर्देशक निरौला र कार्यालय प्रमुख पन्थी जोडतोडले लागिरहेको एक अधिकारी बताउँछन्। भिसा मिति समाप्त भएका यात्रुहरूका लागि कानूनबमोजिमको दस्तुर तिरेर विमानस्थलमै भिसा थप गर्ने मेसिन सञ्चालन हुँदैछ। भिसा सकिएका तर टिकट लिइसकेका यात्रुहरूलाई फेरि विभाग पठाउँदा दोहोरो खर्च हुने भएकाले अध्यागमन कार्यालयले यस्तो सुविधा दिन लागेको हो। मेसिन राख्ने र बैंक काउन्टर निर्माण गर्ने काम सकिइसकेको छ। अब सञ्चालन गर्न मात्रै बाँकी छ।
यस्तै, भीआईपी कक्ष बाहिर भीआईपी डेस्क पनि राख्ने कार्यालयको तयारी छ। भीआईपी डेस्क नभएको अवस्थामा भीआईपी पहिचानमा समस्या हुने गरेको एक अधिकारी बताउँछन्। भीआईपी भनिएको व्यक्ति भीआईपी कक्षमा बसेर डकुमेन्ट मात्र भेरिफिकेसनका लागि अर्को व्यक्तिलाई पठाउने भएकाले पहिचानमा समस्या हुने गरेको छ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकाल विमानस्थल अध्यागमनमा छुट्टै बिजनेस डेस्क पनि राख्नुपर्ने बताउँछन्। पहिला बिजनेस डेस्क राखिएको भए पनि अहिले हटाइएको उनी बताउँछन्।
व्यापारी कति नै हुन्छन् र छुट्टै डेस्क चाहियो भन्ने प्रश्नमा ढकाल भन्छन्, ‘त्यस्तो होइन नि। हामी नेपालीलाई त केही छैन, हामी त लाइनमा बस्न सक्छौं। तर, विदेशी बिजनेस म्यानहरू हुन्छन् नि। शिकार खेल्नसम्म प्लेन चार्टर गरेर आउँछन्। बाहिर देशमा कति रेस्पेक्ट गर्छन्, छुट्टै डेस्क राखिएको हुन्छ। हेर्दा सानो कुरा हो तर त्यसले ठूलो अर्थ राख्छ।’
अध्यागमन कार्यालयका अनुसार पहिला बिजनेस र लेबर डेस्क पनि राखिएको थियो। तर, वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूले लामो लाइनमा बस्नुपर्ने र ‘लेबर’का रूपमा अपमानित महशुस भएको गुनासो आएपछि २५ फागुन ०७८ मा श्रम मन्त्रालयले ती डेस्कहरू हटाएको थियो।
विमानस्थल होस् या कुनै पनि सार्वजनिक ठाउँ, सार्वजनिक शौचालय अनिवार्य शर्त हो। तर, सुन्दा अपत्यारिलो लाग्ला, अन्तर्राष्ट्रीय विमानस्थलको डिपार्चरमै शौचालय छैन। अध्यागमनले शौचालय बनाउन खोज्दा नागरिक उड्डयन प्राधिकरणले अनुमति नदिएको अध्यागमनका अधिकारीहरू बताउँछन्। आफूले बनाउन नपाएपछि अध्यागमनले क्यानलाई आफैं बनाइदिन अनुरोध गरेको छ। प्राधिकरणले बनाइदिने भने पनि अहिलेसम्म बनाएको छैन।
अध्यागमनका एक अधिकारी भन्छन्, ‘विदेशीले बुद्धको देश घुमियो, सगरमाथाको देश घुमियो भन्नुपर्नेमा विमानस्थलमा शौचालय नै नभएको देश घुमेर आयौं भन्दा नेपालको इमेज के होला? क्यानले बुझ्नुपर्ने हो।’
विमानस्थलमा बेलाबेला अध्यागमन कर्मचारी र प्रहरीबीचको द्वन्द्वको अवस्था देखिने गर्छ। १२ माघ ०८० मा विमानस्थलमा कार्यरत अध्यागमन कर्मचारीहरू र प्रहरीबीच हातपातसमेत भएको थियो। भिजिट भिसामा विदेश जानेहरूबाट अध्यागमनका कर्मचारीहरूले रकम उठाउने गरेको आरोप लागेपछि प्रहरी र अध्यागमन कर्मचारीबीच तनाव बढेको थियो। विमानस्थल भन्सारमा सशस्त्र प्रहरी पनि परिचालन गरेपछि प्रहरी अधिकारीहरू झनै रुष्ट बनेको अध्यागमनका कर्मचारीहरू बताउँछन्।
हाल कर्मचारी र प्रहरीबीच सम्बन्ध सुधारमा अध्यागमन कार्यालयले काम गरिरहेको छ। त्यसका लागि प्रहरी र कर्मचारीबीच छलफलका कार्यक्रम आयोजना गरिन्छ। सरुवा हुने र आउने प्रहरी अधिकारीहरूलाई अध्यागमन कार्यालयले अलग्गै बिदाइ कार्यक्रम आयोजना गर्न थालेको छ। त्यसबाट अध्यागमन कर्मचारी र प्रहरी टकराव कम हुने कार्यालयको विश्वास छ।
के छ भविष्यको योजना ?
विभागका महानिर्देशक निरौलाका अनुसार निकट भविष्यमा एडभान्स प्यासेन्जर इन्फर्मेसन सिस्टम (एपीआईएस) जोडेर अन्तर्राष्ट्रीय रूपमै सूचनालाई प्रभावकारी बनाउने योजना छ। र, ई-गेट स्थापना गरेर आधुनिकीकरण गर्ने योजना यस वर्षको कार्यक्रममा समेटिएको महानिर्देशक निरौला बताउँछन्।(नेपाली हेडलाईनबाट)




