काठमाडौं । खानी र पानीको के कुरा भो र पाती बेचेर पनि पैसा कमाउन सक्ने हजारौ सम्भावना भएको देश छाडेर, जब विदेशी भुमिमा भाडा माझ्छ, खुशी हुन्छ र सांझ फेसबुकमा देश प्रेम पोख्छ । लाग्छ उसलाई जति माया यो देशको कसैलाई छैन, हो यही जमातलाई सिकाउन पनि तिमी आउनै पर्छ जेन-जी।
बैंशमा भोक मेटाउने, देशमा कोही नभेटेर, मात्तिएर, आत्तिएर र बत्तिएर विदेशमा साईनो जोडन पुग्ने र २/४ पैसा माईती देशमा सहयोग गर्दा, घुमाई-घुमाई दुई वर्ष सम्म प्रचार गर्नेहरुबाट देश जोगाउन पनि तिमी आउनै पर्छ जेन-जी ।
प्रधानमन्त्री भै सकेको मान्छे, हो म ज्यानमारा हु भन्छ, तै पनि कुर्सि र राजनीति छाड्दैन । घुष लिएको प्रमाण छरपष्ट भै सक्यो, उ ईज्जत सकिए पनि पैसा कमाउनु छ भन्छ राजीनामा दिदैन । हुदाहुदा मन्त्रिको गाडीले जेव्रा क्रसिङमा मान्छे हान्छ र भाग्छ अनि वहालवाला प्रधानमन्त्री ढुक्कसंग भन्छ यो सामान्य घटना हो, हो यस्तै सामान्य घटना तह लगाउन पनि तिमी आउनै पर्छ जेन-जी ।
झण्डै चालिस वर्ष भो देश यिनकै हातमा छ, उमेर असिको आशपास छ, कुप्रिएको करङ सिधा बनाउन विहानभरी लाग्छ, अझै नारा लगाउछन “चिन्ता नलिनु देश बन्दैछ हामी वनाउछौ” । अब, चिन्ता तिमी नलेउ, हामी वनाउछौ देश भन्न पनि तिमी आउनै पर्छ जेन-जी ।
शिक्षाको के कुरा भो र । न त स्वर खुलाउने संस्कृत शिक्षा छ, न त व्यवहार मिलाउने नैतिक शिक्षा छ, न त देश डुलाउने भूगोल शिक्षा छ । शिक्षामा न देश वोल्छ, न संस्कृती खुल्छ । न मान छ, न सम्मान छ, समानता र अधिकारको कुटिल विषले भरिभराउ छ । अधिकारका नाममा छोराले बाउ मार्छ, र अदालतले आदेशमा ठिक छ भन्छ हो यहि बेठिक, ठिक पार्न पनि तिमी आउनै पर्छ जेन-जी ।
कृषीलाई मल छैन, किसानलाई वल छैन, जुम्लाका स्याउलाई बजार छैन । चिन्ता थियो बाजेका मैला धोती बिर्सियौ कि भन्ने, सम्झाउन मन थियो बाटो नपाएर रारा रोएको कुरा । टन्न पानीले भरिएका उत्तरका हिमालबाट एकमुठ्ठी पानी तराईमा हाल्न सकिएको छैन । कति हो कति तेल छ रे दैलेखमा, एकमुठ्ठी झिकेर टुकि वाल्न सकिएको छैन । यि यावत कुरा, कति हो कति, तिमिलाई सुनाउन मन छ, त्यसैले त यो मनले भन्छ…. तिमी आउनै पर्छ जेन-जी ।
(सम्पादक- ईश्वर अर्याल, भूगोल केन्द्रिय विभाग त्रिविमा पिएचडी अध्ययनरत समेत हुनुहुन्छ)




