राजाले सोध्नुभयो,
“घर कहाँ हो? बुबा को हुनुहुन्छ? हजुर बुबा को हुन?”
२०१७ साल, अमेरिका। नेपालका राजा महेन्द्र आफ्नो राजकीय भ्रमणमा लस एन्जलस पुगेका थिए। लस एन्जलसका मेयर नोरिस पोल्सनले राजा महेन्द्रको सम्मानमा सिटी हलमा विशाल दिवाभोजको आयोजना गर्नुभएको थियो। त्यो कार्यक्रममा नेपालबाट तीन मात्र विद्यार्थी आमन्त्रित थिए, र म तीमध्ये थिएँ। विश्वविद्यालयका कुलपति डा. मेरियल गुडाललाई पनि निम्ताइएको थियो।
दिवाभोजमा कुलपतिले राजा महेन्द्रसँग भेट्दा भन्नुभयो,
“तपाईंको देशबाट आएको विद्यार्थीले आफ्नो कक्षामा सबैलाई अचम्मित बनाएको छ।”
राजा महेन्द्र उत्सुक भए-“त्यो विद्यार्थी को हो?”
दरबारका सचिवले मलाई खोजेर राजा महेन्द्रसँग प्रत्यक्ष भेट गराइदिए।
राजाले सोध्नुभयो,
“घर कहाँ हो? बुबा को हुनुहुन्छ? हजुर बुबा को हुन?”
मैले मेरो परिवार, पृष्ठभूमि र बिस्तृत जानकारी दिएँ। राजा महेन्द्रले मुस्कुराउँदै भन्नुभयो,
“बाबु, तिमी राम्रो पढ्छौ। पढाइ सकिसकेपछि नेपाल फर्किनुपर्छ। देश बनाउनु पर्छ। देशलाई पढेलेखेको मानिस चाहिन्छ। पढाइ सकिएपछि मलाई खबर गर्नु।”
त्यसै बेला रानीले सोधिन्,
“बाबु, आमाको याद आउँदैन?”
समय बित्यो। २०१७ साल पुसको मध्यतिर एउटा टेलीग्राम आयो-मलाई नेपालको योजना परिषद्को सदस्य सचिवमा नियुक्त गरिएको सूचना। मैले जवाफ लेखें, तत्काल फर्किन पैसा छैन। केही दिनपछि अर्को टेलीग्राम आयो-अर्थ तथा योजना मन्त्री ऋषिकेश शाह संयुक्त राष्ट्रसंघको अधिवेशनमा आउँदै हुनुहुन्छ, खर्च लिएर आउनुहोस्। मैले चेक लिएर टिकट काटे र काठमाडौं फर्कें। यसरी २४ वर्षको उमेरमा योजना परिषद्को सचिव बनेँ।
तर राजा महेन्द्रको भरोसा त्यत्तिमै सीमित थिएन। केही समयपछि उहाँले मलाई बोलाएर भन्नुभयो,
“भेषबहादुर, अमेरिका जाऊ। काठमाडौं-कोदारी सडकको विषयमा अमेरिका र युरोपले विरोध गरेका छन्। हामीले आफ्नो अस्तित्व बचाउन विकल्प खोज्नु पर्छ। पढेको, बुझ्ने र तिमी उपयुक्त छौ। दुई-तीन हप्ता बसेर राम्ररी बुझाएर आउ।”
त्यो समय मैले महसुस गरेँ-देशभक्ति केवल नारामा होइन, कर्तव्य र कर्ममा देखिन्छ। राजा महेन्द्र र रानीको मुस्कान, सिटी हलको भव्य दिवाभोज, सचिवहरूको व्यस्तता, कुलपतिसँगको संवाद-यी सबै दृश्यहरू आज पनि मेरो आँखामा ताजा छन्।
यो कथा केवल मेरो व्यक्तिगत सफलता होइन। यो नेपालले आफ्ना युवा प्रतिभामा भरोसा राख्दा र उनीहरूको क्षमता प्रयोग गर्दा देश निर्माणमा कस्तो योगदान हुनसक्छ भन्ने कथा हो। पढेको, बुझ्ने र देशको भलो चाहने सन्तानले मात्र राष्ट्रलाई बलियो बनाउँछ।(श्रोत : डा. भेषबहादुर थापाको पुस्तक राष्ट्र परराष्ट्रबाट । सन्दर्भ: पृथ्वी जयन्ती)




