कास्की । लगातारको अविरल वर्षाका कारण जलकुम्भी झारले फोहोर वनेको फेवाताल सफाइ अभियान सुरु भएको छ ।
पोखरा महानगरपालिकाले मङ्गलवार फेवातालमा सरसफाइ गरेको छ । फेवाताल सरसफाइ अभियानमा पोखराका ३३ वटै वडाका जनप्रतिनिधि सहित ५ हजार बढीको सहभागिता थियो ।
२ सय भन्दा बढी ट्रक फोहोर सङ्कलन गरिएको पोखराका मेयर धनराज आचार्यले जानकारी दिनुभयो । अभियानलाई आगामी दिनमा निरन्तरता दिन महानगरले स्थायी संयन्त्र निर्माण गर्ने उहाँले बताउनुभयो ।
पोखरा महानगरपालिका फेवातालको संरक्षण, विकास र प्रवर्द्धन प्रति प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताउनुभयो । तालको छेउका व्यवसायीको ताल संरक्षण तथा सरसफाइमा कम चासो देखिएकोप्रति प्रमुख आचार्यले चिन्ता व्यक्त गर्नुभयो । आफ्नो आसपासको क्षेत्रमा नियमित सरसफाइ गर्न उहाँले आग्रह समेत गर्नुभयो ।
प्राकृतिक र मानवीय अतिक्रमणमा पर्दै आएको फेवातालको सरसफाइ महाअभियान आजदेखि नवौं राष्ट्रिय खेलकुदको अवसरमा ‘सरसफाइमा सहभागिता, स्वच्छ, सुन्दर हराभरा पोखरा’ भन्ने नाराका साथ महानगरपालिकाको नेतृत्व र विभिन्न संघ संस्थाको सहभागितामा सुरु भएको हो ।
सरसफाइ अभियानमा विभिन्न सामाजिक संघ संस्था, सुरक्षा निकाय, नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।




