दोलखा । नेकपा एमालेका तर्फबाट दोलखा निर्वाचन क्षेत्र प्रदेश (क)का उम्मेदवार नरबहादुर श्रेष्ठले नेपालको स्वीजरल्याण्ड भनेर चिनिने जिरीलाई विशेषगरी पर्यटनका माध्यमबाट समृद्ध बनाउनुपर्ने बताउनुभएको छ ।
उहाँले जिरीलाई पर्यटकीय हबका रूपमा विकास गर्न एमालेकै नेतृत्वमा आवश्यक पूर्वाधार विकासको काम अगाडि बढिरहेकाले त्यो काम एमालेकै नेतृत्वमा सम्पन्न गरिने विश्वास व्यक्त गर्नुभयो ।
आगामी कार्यकालमा पहिलो काम जिरी विमानस्थल सुरु गरी जिरीलाई पर्यटकीय हबका रूपमा प्रवर्द्धन गरिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ ।
चुनावी अभियानका क्रममा आज जिरी पुग्नुभएका उम्मेदवार श्रेष्ठले जिरीमा विमानस्थल सञ्चालन नगरी पर्यटकीय गन्तव्य बनाउन नसकिने धारणा व्यक्त गर्नुभएको हो ।
‘यो कृषि फार्मको रूपमा नापी भएको जग्गालाई एयरपोर्टका लागि ल्याउने प्रण गरौँ, हाम्रो पार्टी नेकपा एमाले सरकारमा हुँदा होस् वा नहुँदा होस्, मैले सांसद जितुँ वा नजितुँ जिरी एयरपोर्ट बनाउने प्रण गर्दछु । यो नबनाइकन जिरीको विकास हुँदै हुँदैन । किनभने अहिले भइरहेको हेलिप्याडले मात्रै यहाँको चाप थेग्न सकिरहेको छैन । त्यसैले जिरीको उन्नति र प्रगतिका लागि एयरपोर्ट नबनाइ हुँदैन,’ उहाँले भन्नुभयो ।
पर्यटकीय नगरी जिरीको विकास र समृद्धिका लागि ‘ग्रीन, क्लिन र अर्ग्यानिक जिरी’ अभियानलाई तीव्र पारिने पनि उहाँले बताउनुभएको छ ।
यस्तै जिरी टेक्निकल स्कुल (जिरी प्राविधिक शिक्षालय) जिरीको अर्को आकर्षणको थलो भएको बताउँदै उहाँले त्यसलाई शैक्षिक हबका रूपमा विकास गरिने बताउनुभएको छ । जिल्लाबाहिरका विद्यार्थीहरूलाई आकर्षण गर्नेगरी त्यसको विकास गरिने उहाँको योजना छ ।




