काठमाडौं ।
विक्रम संवत् २०१९ साल फागुन १५ गते दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं १९ हाडिमेमा बुवा केशवराज शर्मा र आमा तिलकादेवीको कान्छो सन्तानका रुपमा शंकर पोखरेलको जन्म भएको हो । उहाँ सानैदेखि सामन्तवादी सोच र हेपाहा प्रवृतिको खुलेर विरोध गर्नुहुन्थ्यो ।
थोरै बोल्ने तर बोलेको कुरालाई गम्भीरताकासाथ अडिग भएर बोल्ने उहाँको बानी थियो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट एमबीए तहको अध्ययन पूरा गर्नुभएको छ । पोखरेल भू राजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेता मध्येमा पर्नुहुन्छ । आर्थिक, सामाजिक विकास र रुपान्तरणका सन्दर्भमा उहाँका सोचलाई पार्टीको नवौँ महाधिवेशनले पार्टीको राजनीतिक कार्यदिशाको रुपमा आत्मसात गरेको थियो भने दशौँ महाधिवेशबाट उहाँलाई वैचारिक नेतृत्वमा स्थापित गर्दै देशको संभावित नेतृत्वको रुपमा स्वीकार गरी पार्टी महासचिवमा सर्वसम्मत रुपमा चयन गरेको छ ।
३२ वर्षको उमेरमा पहिलो पटक २०५१ सालमा दाङको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएर उहाँले जनताका अपेक्षालाई पूरा गर्दै लोकप्रिय जनप्रतिनिधि र संसदमा अपरिहार्य व्यक्तिको रुपमा आफूलाई स्थापित गर्नु भएको थियो ।
नेकपा एमालेमा विभिन्न तहको नेतृत्व गर्दै दशौँ महाधिवेशनबाट पार्टी महासचिवको रुपमा हुनुहुन्छ, उहाँले विगतमा अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्ष, अनेरास्ववियुको केन्द्रीय अध्यक्ष, त्रिभुवन विश्वद्यिालयको स्ववियु सभापति, पार्टीको केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य, स्थायी कमिटी सदस्य, पार्टी स्कुल विभागको उपप्रमुख, पार्टी सचिव हुँदै पार्टीको महासचिव हुनुभएको हो भने सरकारको सूचना तथा संचार मन्त्री र सरकारको प्रवक्ताको रुपमा समेत कुशलताको साथ जिम्मेवारी पूरा गरिसक्नु भएको छ ।
देश संघीयतामा गएर बनेका संघीय संरचना अनुसार उहाँ लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्री बन्नु भयो मुख्य मन्त्री हुँदा पोखरेलले सातवटा प्रदेश सरकार मध्ये उत्कृष्ट प्रदेश सरकारको रुपमा काम गर्दै अत्यन्तै जटिल अवस्थामा रहेको प्रदेश राजधानी भौगोलिक हिसाबले प्रदेशका सबै जनतालाई उपयुक्त हुने गरी दांङको देउखुरीमा प्रदेश सरकारको क्याविनेटबाट स्वीकृत गराई स्थायी राजधानी बनाउने निर्णय गरी प्रदेशभरका जनताको मन जित्नु भएको थियो ।
जुन कुरा राजनीतिक पहुँच र नेतृत्वका हिसाबले सरल र सहज थिएन यस कुराबाट के प्रमाणित हुन्छ भने नेतृत्वले जस्तोसुकै जटिल परिस्थितिलाई पनि सहजरुपले जनमुखी काम गर्न सक्ने आँट र क्षमता राख्न सक्ने खालको नेतृत्व कमरेड शंकर पोखरेलमा छ भन्ने कुरा प्रमाणित गर्दछ ।
नेपालको वामपन्थी आन्दोलनमा शंकर पोखरेल स्थापित नेताको रुपमा रहनु भएको छ भने समग्र देशको नेतृत्व गर्न सक्ने नेताको रुपमा समेत उहाँलाई जनताले भरोसा गरेका छन् ।
देशले एक आशा गरेका नेता र पार्टीले विश्वास गरेका व्यक्तिभित्र कमरेड शंकर पोखरेल पर्नुहुन्छ । उहाँ नेकपा एमालेका महासचिव तथा जननेता मदन भण्डारीसँग निकै निकट रहेर काम गर्नु भएको छ र मदन भण्डारीको सबैभन्दा विश्वासिलो पात्रका रुपमा समेत उहाँलाई बुझ्ने गरिन्छ ।
उहाँको विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा छोटो अवधिमा प्रवेश गरी वैचारिक, राजनीतिक क्षमता र संगठनात्मक कार्यकुशलतालाई सबैले सम्मान गर्ने गरेका छन् ।
उहाँले २०३६ सालमा भएको विद्यार्थी आन्दोलन, २०४५ र ०४६ सालको पञ्चायती व्यवस्था अन्त्यका लागि भएको आन्दोलनको र २०६२/०६३ को जनआन्दोलनका सकृय कमाण्डर तथा मोर्चाफाँट प्रमुखको रुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ ।
६२/६३को जनआन्दोलनमा काठमाण्डौंको मोर्चावाट आन्दोलनको नेतृत्व र गणतन्त्रका पक्षमा काठमाडौं त्रिचन्द्र क्याम्पसमा आयोजना गरेको पहिलो खुला कार्यक्रमको प्रमुख वक्ता समेत हुनुहुन्थ्यो ।
माओवादी आन्दोलन उत्कर्षमा रहेका बेला हिंसाको अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जना गर्न राप्ती अञ्चलका पहाडी जिल्लामा शान्ति पदयात्राको नेतृत्व पनि उहाँले गर्नुभयो । २०५२ साल फाल्गुण १ गतेबाट माओवादीले सुरुवात गरेको हिंंसात्मक आन्दोलनको अध्ययन र समस्याको समाधानका सन्दर्भमा पार्टीले गठन गरेको कार्यदलको सचिवको रुपमा काम गरेर माओवादीलाई शान्ति वार्तामा ल्याउनुपर्छ भन्ने विचार सहित उहाँले कामको थालनी गर्नु भएको थियो ।
एमालेको सातौँ महाधिवेशनमा अब संविधानसभाबाट नै राजनीतिक निकास खोज्नुपर्छ भन्दै पहिलो प्रस्ताव पेश गर्नु भएको थियो । राज्यको पुनसंरचना सम्बन्धी पार्टीद्वारा गठन गरिएको कार्यदलको सचिव भएर पनि काम गर्नुभयो ।
उहाँको राज्य पुनर्संरचना सम्बन्धिको सुझावलाई समेटेर देशमा जातीय राज्य कुनै पनि हालतमा मान्य हुनेछैन भन्ने निश्कर्ष सहित देश आज संघीयतामा गएको छ । उहाँले आठौँ राष्ट्रिय महाधिवेशनले पार्टी जीवनको लोकतान्त्रिकरण सम्बन्धमा प्रस्तुत गर्नु भएको पूरक प्रस्तावलाई सर्वसम्मत रुपमा स्वीकार गरेर पार्टीको कार्यदिशा तयार भएको थियो । पार्टी केन्द्रीय कमिटीको सदस्य समेत नभएको अवस्थामा पार्टीको प्रचार विभाग प्रमुख र पार्टीको मुखपत्र नवयुगको प्रधान सम्पादकको जिम्मेवारी समेत बहन गरी आफूलाई कृयाशील र जिम्मेवार नेताको रुपमा प्रस्तुत गर्नु भएका नेता पोखरेल हाल आएर दाङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा उमेद्वारको रुपमा हुनुहन्छ ।
उहाँलाई नेकपा एमालेले मात्र होइन अन्य विपक्षी दलहरुले समेत आशा र भरोसा योग्य नेताको रुपमा अगाडि बढाएको छ ।
विष्णु पोखरेलको आलेख




