नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल सिंगो बागमती प्रदेशमै पार्टीका उम्मेदवार जिताउने अभियानमा जुट्नु भएको छ । अभियानलाई सार्थक बनाउन उहाँले गृह जिल्ला दोलखासहित बागमतीको समेत चुनावी कमाण्ड सम्हालिरहनु भएको छ । चुनावको मिति नजिकिँदै जाँदा भने उहाँ आफ्नै गृहजिल्लामा मतदाता भेटघाट र चुनावी सभामा व्यस्त हुनुहुन्छ । एमालेको लालकिल्ला दोलखामा पछिल्लो स्थानीय तहको निर्वाचनमा अपेक्षित परिणाम आउन सकेन । सत्ता गठबन्धनसँग एक्लै लडेको एमालेले जित्ने आँकलन गरेको पालिकासमेत गुमाउनु पर्यो । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एमालेविरुद्ध पाँच दलीय गठबन्धन बनेको छ । कस्तो छ त समग्र चुनाव परिचालन ? के एमालेले दोलखामा विरासत कायम राख्छ त ? जस्ता प्रश्नमा केन्द्रित रहेर पूर्वमन्त्री पोखरेलसँग कुराकानी गरिएको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :
० मतदानको दिन नजिकियो, दोलखामा सत्तारुढ गठबन्धनसँगको चुनावी प्रतिस्पर्धा त चुनौतीपूर्ण होला नि ?
विपरीत राजनीतिक आस्था बोक्ने माओवादी र कांग्रेसले मिलेर नेकपा एमालेलाई हराउनै पर्छ भन्ने मान्यताका साथ अभियान संचालन गर्ने प्रयत्न गरेका छन् तर उनीहरुका बीचमा व्यवहारमा तालमेल देखिैंदैन । दुवै दलका उम्मेद्वार र नेताहरु सँगै हिँडेर प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि कतै पनि भोट मागेको मैले देखेको छैन । आफ्ना–आफ्ना ढंगले चलेको देखिन्छ । यो चुनावमा मतपत्र हेर्दा नेपाली कांग्रेसले आफ्नो चिन्ह नपाउने र समाजवादीले पनि आफ्नो चिन्ह नपाउने हुँदा साँच्चै भन्दा प्रतिनिधिसभामा आमनेसामनेको प्रतिस्पर्धा भनेको नेकपा एमाले र माओवादी केन्द्रबीचको जस्तो मात्र देखिन्छ ।
नेपाली कांग्रेसभित्र लोकतन्त्रप्रति प्रतिबद्ध साथीहरु हुनुहुन्छ । हिजोका दिनमा लगातार पञ्चायतविरोधी आन्दोलनदेखि संघीय लोकतन्त्रलाई व्यवस्थित गर्दासम्म उहाँहरु हामीसँगै हिँडेका हौँ। त्यसकारण दोलखाको सन्दर्भमा नेपाली कांग्रेसले पनि नेकपा एमालेलाई व्यापक रुपमा समर्थन गर्ने र भोट दिने स्थिति छ । दोलखामा वास्तवमा जनस्तरमा गठबन्धन नै छैन र असर पनि छैन ।
० तपाइ आफैँ पनि लामो संसदीय राजनीतिको भूमिकामा रहनुभयो । खासगरी नेकपा एमालेमाथि लामो समयसम्म जिल्लाको नेतृत्व गर्ने अवसर प्राप्त गरेपनि खासै काम गर्न नसकेको गम्भीर आरोप विपक्षीहरुले लगाउने गरेका छन्, यसप्रति तपाईंको के प्रतिक्रिया छ ?
नेकपा एमाले भनेको निरकुंश पञ्चायती व्यवस्थालाई तत्कालीन माले पार्टीको नाममा जिल्लामा संघर्ष गरेर पञ्चायत अन्त्यका लागि अग्रणी भूमिका निर्वाह गर्ने पार्टी हो । २०४६ पछिका जनआन्दोलन परिचालनमा नेपाली कांग्रेस दोलखा सहयोगीको रुपमा मात्र थियो भने नेकपा एमाले राजनीतिक अगुवा थियो ।
जतिबेला २०४८ सालमा निर्वाचन भयो, त्यसपछिको विकासलाई विश्लेषण गर्ने हो भने दोलखामा जतिपनि सडक सञ्जालसहित भौतिक पूर्वाधारको विकास भएको छ, ती सबै विकासको एकल हकदार नेकपा एमाले मात्र हो । उसैको नेतृत्वमा जिल्लाको समग्र विकास अगाडि बढ्दै आएको छ ।
कुनैबेला जलविद्युत विकासको कुरा जिल्लामा कतिपयलाई सपना जस्तै लाग्थ्यो । हामीले स्वदेशी पुँजीमा माथिल्लो तामाकोशी आयोजना बन्नुपर्छ भनेर लबिङ्ग गर्दा कतिपय वित्तीय एकाधिकार पूँजीवादका पक्षपोषक राजनीतिक दलहरुले सरकार र विद्युत प्राधिकरण मिलेर बनाउन सक्छ भन्ने कुरा नै पत्याउँदैनथे, कतिपय बेला उनीहरु हामीलाई खिसिटिउरी गर्नसमेत पछि पर्दैनथे । यसका लागि मेरै संयोजकत्वमा सबै सरोकारवालाहरु राखेर तामाकोशी सरोकार समिति बनाएर राष्ट्रिय अभियानको माहोल बनायौँ । संसदमा नेपाली कांग्रेसका अर्थमन्त्रीले नेकपा एमालेका सांसदहरुलाई अपमान गरिरहेको बेला मैले स्वदेशी लगानीमा माथिल्लो तामाकोशी नबने र सरकारले यसको नेतृत्व नलिए आत्मदाह गर्छु भन्ने घोषणा गरेँ । यो दबाबबाट आयोजनाका लागि बजेटको घोषणा भएपछि पनि विद्युत प्राधिकरणसँग सम्झौता गरेर २६ करोड बजेट र सात करोड रुपैँया बजेट लिएर बाटो सडक बनाउने काम मेरै नेतृत्वमा सम्पन्न भएको हो । त्यसैले पहिलो चोटी जनतालाई शेयर दिने कुरालाई नीतिगत रुपमा निर्णय गर्ने र स्वदेशी पूँजीमा आयोजना बनाउने कामको नेतृत्व नेकपा एमालेले गरेको हो । त्यसैको प्रकाशभित्र अहिले थुप्रै सानाठूला नीजि क्षेत्रका आयोजनाको विकास भएको छ । आगामी दिनमा अझै हुने सम्भावना छ ।
त्यस्तै, २०४८ सालमा एउटा प्रमाणपत्र पढाइ हुने क्यापस थियो गौरीशंकर क्याम्पस । अहिले स्नात्तकोत्तर सम्मको बहुमुखी क्याम्पस भएको छ । जिल्लाभित्र ११ वटा उच्च शिक्षाका क्याम्पस, ३० वटा उच्च माध्यमिक विद्यालय, १० वटा प्राविधिक शिक्षालय, ७० भन्दा बढी नयाँ माध्यमिक विद्यालय र १५० भन्दा बढी आधारभूत विद्यालयहरू स्थापना भएका छन् । अहिले दोलखाको साक्षरता प्रतिशत ९८ प्रतिशत पुगेको छ । यसको विस्तार र स्तरोन्नतिमा नेकपा एमालेकै नेतृत्वले विशेष पहलकदमी लिएको तथ्य जगजाहेरै छ । सामाजिक सुरक्षा, पर्यटन क्षेत्रको विकास, सांस्कृतिक क्षेत्रको विकास लगायतका पूर्वाधार निर्माणका कुराहरु हाम्रै नेतृत्वमा भएको हो । ०७२ सालको भूकम्पपछि जिल्लाभित्र बनेका करिब ८० वटा आधुनिक र भव्य विद्यालय भवनहरूमा विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला, २ दर्जन जिल्लास्तरीय सरकारी भवनहरू, ६० भन्दा बढी वडा कार्यालयहरू, स्वास्थ्य चौकी भवनहरू, सुरक्षा निकायका भवनहरू र सामुदायिक भवनहरू निर्माण भएका छन् । अरु राजनीतिक दलका निर्वाचित प्रतिनिधिहरुले सहयोगी भूमिका निर्वाह गरेपनि दोलखाको नयाँ भिजन र विकासको नेतृत्व नेकपा एमालेले गरेको हो । त्यसकारण विकासको उपलब्धि होस् वा कमीको पनि हामी भागेदार हौँ । जे काम अझै पूरा भएका छैनन्, त्यसका लागि नेकपा एमाले दोलखाले प्रतिबद्धता पत्र जारी गरेको छ । ती जारी गरेका प्रतिबद्धतालाई पूरा गर्ने हिम्मत पनि नेकपा एमालेले मात्र गर्न सक्छ । जनताले उठाएका गुनासालाई म सकारात्मक रुपमा लिन चाहन्छु । धन्यवाद दिन चाहन्छु । अब बाँकी रहेका कुराहरु पूरा गर्न पनि दोलखाली जनताले मंसिर ४ गते सूयमा भोट दिएर जिताउनुपर्छ ।
० यहाँहरुले घोषणापत्रमा उल्लेख गरेका विकास र परिवर्तनका उपलब्धिहरु एमाले एक्लैले गरेको होइन भनेर विपक्षीहरुले प्रश्न उठाइरहेका छन् नि ?
यसको प्रश्न र उत्तर खोज्नेहरुमै विरोधाभास छ । मैले भने नि, अरु राजनीतिक दलहरुको पनि कहीँ न कहीँ आंशिक सहयोगी भूमिका होला तर दोलखा जिल्लाको उपलब्धिको नेतृत्व नेकपा एमालेले मात्र गरेको भन्ने तथ्य जनस्तरमै स्थापित छ । यति हुँदाहुँदै पनि उहाँहरुले भ्रम फैलाउन खोज्नुको कुनै औचित्य छैन ।
० मंसिर ४ गतेको निर्वाचनमा दोलखामा नेकपा एमालेले नै जित्छ भन्ने आधारहरु दिन सक्नुहुन्छ ?
दोलखाली जनताको जति पनि घरघर पुगेको छु, उहाँहरुले भौतिक विकास र यातायातको विकासका बिषयमा प्रश्न गर्नुभएको छ । अहिले ३ सय किलोमिटरभन्दा बढी पक्की सडक बनेको छ । २ हजार किलोमिटरभन्दा बढी कच्ची सडक निर्माण गरेको छौँ । जिल्लाका ७४ वडामध्ये ७० भन्दा बढी वडा कार्यालयहरूबाट कम्तीमा टाढाबाट ३ घण्टा र नजिकबाट बढिमा १ घण्टाको यात्रामा सदरमुकाम आइपुग्न सक्नेगरी पूर्वाधारको विकास गरेका छौँ । त्यसलाई कालोपत्रे गर्नुपर्ने कुरा जनताले उठाउनुभएको छ । हामीले जनताका ती माग समेटेर प्रतिवद्धता पत्र अगाडि सारेका छौँ ।
अर्को कुरा, जनताको सपना तामाकोशी तेस्रो जलविद्युत आयोजना हो । यसका लागि सुरुमा १२०० मेगावाटको डिपीआर बनाउने काम भयो । अध्ययनका क्रममा ६ सय ५० मेगावट क्षमताको बिजुली उत्पादन हुने देखियो । तर तत्कालीन जलश्रोत मन्त्री जनार्दन शर्माले ६ सय ५० मेगावाट क्षमातालाई ३ सय मेगावाटको हाराहारीमा झारेर एसियन पावरको नाममा भएको लाइसेन्स खारेज गरी भवन भट्ट भन्ने व्यक्तिको नाममा दिने निर्णय गर्नुभो । उहाँले तामाकोशीको उत्पादन क्षमतालाई अवमूल्यन गर्नुभयो तर भवन भट्टले आयोजना संचालनको काम नै सुरु गरेनन् । यसरी तामाकोशी तेस्रो जलविद्युत आयोजना बन्न नदिने अहिले जुन ढंगको षड्यन्त्र गरेर दोलखाली जनतालाई ठग्ने काम हुँदैछ, यसलाई आम मतदाताले बुझ्नुहुनेछ भन्ने कुरामा म विश्वस्त छु ।
कमिशनको खेलमा क्षमता घटाउने र दोलखाली जनतालाई ठग्ने काममा प्रत्यक्ष रुपमा नेकपा माओवादी केन्द्रको हात रहेको छ । यद्यपि, माथिल्लो तामाकोशी आयोजनाकै मोडलमा तामाकोशी तेस्रो आयोजना समयमै सुरु गर्ने कामको अगुवाई एमालेले गर्नेछ भन्ने कुराप्रति म दोलखाली जनतालाई आश्वस्त पार्न चाहन्छु । हामीले यो आयोजनालाई पनि ५ वर्षभित्र संचालनको प्रक्रियामा अघि बढाउने प्रतिबद्धतापत्रमा उल्लेख गरेका छौँ ।
जलविद्युतको विकास गरेर तामाकोशीले के दियो भन्ने प्रश्न पनि कतिको छ । तामाकोशीले झन्डै ६० करोडको वार्षिक रोयल्टी गौरीशंकर र विगु गाँउपालिकालाई दिन्छ । खिम्ती जलविद्युत आयोजनाले ६ करोड रोयल्टी तामाकोशी गाँउपालिकालाई दिन्छ । साथै दोलखा जिल्लामा हामीले गरेको कामको प्रतिफलस्वरुप बढी भएका बिजुली नेपालबाट भारतलाई बेचेर वैदेशिक मुद्रा भित्रिने अवस्था बनेको छ । यसले अवश्य पनि नेपाल–भारतबीचको व्यापार घाटा कम गर्न सहयोग पुगेको छ । यस आयोजनाकै कारण चीनसँग जोडिने नेपालको उत्तरी सीमामा पनि पूर्वाधार विकास अगाडि बढेको छ । आयोजनाले दोलखाका उत्तरी क्षेत्रको जीवनस्तरमा व्यापक परिवर्तन गरेको छ । यो हाम्रो ठूलो उपलब्धि हो ।
० आयोजनाको दीर्घकालीन फाईदा पनि छ कि ?
किन नहुनु । राष्ट्रिय रुपमा अझ फाइदा छ । एक महिना अघिको तथ्यांक भन्ने हो भने १७ अर्ब बराबरको बिजुली भारतमा व्यापार गरेको छ । यसले व्यापार घाटा कम गराएको छ । शेयरको कुरा गर्दा अब जनाताको क्षमता अनुसार हामीले २५ प्रतिशतभन्दा बढी प्रभावित क्षेत्रका जनतालाई बिजुलीमा लगानी गर्ने अवसर दिनुपर्छ भन्ने नयाँ मान्यता बनाएका छौँ। जिल्लालाई बागमती प्रदेशकै पर्यटन गन्तव्यका रुपमा विकास गर्नेगरी दोलखाको पर्यटन प्रवर्द्धनका कार्यक्रम अगाडि सारेका छौँ । जिरीको मानवनिर्मित ताल, फिल्म सिटी, कालिन्चोकलाई प्रवर्द्धन गर्ने विषयहरु प्राथमिकतामा छन् । त्यस्तै, दोलखामा १२ जनजातिहरु छन् । दोलखामा रहेका लोपोन्मुख, अल्पसंख्यक, सम्पूर्ण जनजाति तथा जातिहरूको मौलिक संस्कृति तथा इतिहासको जर्गेना गर्न जातीय संस्कृतिलाई जोडेर सांस्कृतिक राष्ट्रवादको अवधारणासहित अघि बढ्नुपर्ने आजको आवश्यकता छ । पौराणिक र सांस्कृतिक इतिहास बोकेको हाम्रो जिल्ला धार्मिक र सांस्कृतिक पर्यटनका लागि उद्गमस्थल हो ।
प्राकृतिक रुपमा च्छोरोल्पा, शैलुङ, गौरीशंकरजस्ता ठाँउहरु छन् । यी ठाँउहरुको विकासको सम्भावनाले समृद्धिको आधार तयार हुन्छन्, जसले आन्तरिक रोजगारी सिर्जना गर्ने प्रचुर सम्भावना रहन्छ । विदेशबाट फर्किएर आएका दोलखालीहरुलाइ कर्जासहितको उद्यमशीलताको विकास र एउटा वडामा कम्तीमा १५ जनालाई सीपमूलक तालिमको व्यवस्था गर्ने हामीले सोच बनाएका छौँ । दोलखाली जनता र सिंगो नेपालले नै नेकपा एमाले मात्रै विकास र समृद्धिको भिजन भएको पार्टी भएको बुझेका छन् । त्यसकारण पनि जनताले हामीलाइ भोट दिने भन्नुभएको छ ।
अहिले विदेशीहरुको चलखेल र साँठगाँठ बढेको छ । गठबन्धनहरुले कम्फर्टेबलको सरकार बनाएर नेपालको राष्ट्रियतामाथि सौदावाजी गर्ने काम गरेको छ । त्यसका विरुद्धमा नेकपा एमाले उभिएको छ । त्यसकारण गठबन्धनले निम्त्याएको हस्तक्षेपलाई पराजित गर्ने प्रतिवद्धताका साथ हामी अघि आएका छौँ । स्वाभाविक रुपमा नेकपा एमालेको पक्षमा नेपाली जनता छन् ।
० अन्त्यमा, निर्वाचनलाई फर्केर हेर्दा, दोलखामा अशान्त हुने घटनाहरु भएका छन्, बुथ कब्जा भएका छन् । यो पटकको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न यहाँहरुको योजना के छ ?
गठबन्धनका राजनीतिक दलहरुलाई दोलखामा मात्र होइन देशभर जनताले मत दिएर जित्छु भन्ने लागेको छैन । उनीहरुको व्यक्त–अव्यक्त कुरा के हो भने हामीसँग सत्ता छ, गठबन्धन छ, हामी राज्य शक्ति प्रयोग गछौं, सुरक्षा निकाय, कर्मचारी परिचालन गर्छौं र लुटेर जित्छौँ । केही उम्मेदवारले अहिले त्यही कुरा प्रचार गरेर पनि हिँडेका छन् । २०५१ सालमा चुनाव लड्दा नेपालका सम्मानित नेता भीमबहादुर तामाङ्ख मेरो प्रतिस्पर्धी हुनुहुन्थ्यो । त्यतिबेला ६ ठाउँ मतदान केन्द्र कब्जा गरेर आफैँ बसेको झुलेमा पनि १७ सय ४ मतमा पनि १७ सय १ मत हालेर मलाई पराजित गरेको हो । यो बुथ कब्जा गर्ने र बुथ लुट्ने काम त्यतिबेला देखि नै नेपाली कांग्रेसले गर्दै आएको छ । त्यस्तै, २०६४ मा नेकपा माओवादीले पनि बुथ कब्जा गरेको छ । यस्तो लुट संस्कृतिप्रति म घोर आपत्ति जनाउँछु ।
वास्तवमा कांग्रेस र माओवादी केन्द्रको त्यस्ता गलत कामले दोलखा जिल्ला राष्ट्रमै बदनाम भएको छ । म राजनीतिक दलहरुलाई जनताको अधिकारलाई सम्मान गर्न आग्रह गर्दछु ।
हामीले निर्वाचन आयोगको आचासंहिता जस्ताको तस्तै पालना गरेका छौँ, रक्षा पनि गरेका छौँ । दलहरुलाई पालनाका लागि आह्वान पनि गरेका छौँ । तर बुथ लुटेर, प्रोक्सी मत खसालेर जित्ने सपना उहाँहरुले देख्नुभएको छ भने नेकपा एमालेको अहिले तागत सुषुप्त बस्दैन । हामी त्यो मान्यता पनि राख्दैनौँ । तर उहाँहरुले अशान्तिकै बीउ रोप्नुहुन्छ भने हामी जस्ताको तस्तै प्रतिवाद गर्छाैं । म राजनीतिक दल र गठबन्धनलाई के आग्रह गर्छु भने, त्यो तहसम्म परिस्थिति नपुर्याउनुस् । प्रजातन्त्रको सुन्दर पक्षको रक्षा गरौँ, अतिरिक्त क्रियाकलापहरुबाट पछि हटौँ भन्ने आह्वान गर्न पनि चाहन्छु । यसलाइ नेकपा एमालेको कमजोरी पनि नठानियोस् । यदि उहाँहरु त्यस्तै ढंगले आउनुभयो भने हामी टिट फर ट्याटको बाध्यताबाट जानुपर्ने अवस्था आउनसक्छ । तर त्यस्तो परिस्थिति आउनेछैन भन्ने मेरो विश्वास छ ।




