दोलखा ।
नेकपा एमाले दोलखाका प्रतिनिधिसभा उम्मेदवार बालकृष्ण शिवाकोटीले उद्यमशीलताबाट मात्र देशको विकास सम्भव हुने आफ्नो मान्यता रहेको बताउनुभएको छ ।
तामाकोशी गाउँपालिका–४ को मालुमा आज आयोजित विशाल जनसभालाई सम्बोधन गर्नुहुँदै उम्मेदवार शिवाकोटीले यस्तो बताउनुभएको हो । उहाँले उद्यमशीलता र युवाहरुलाई रोजगारी सिर्जना गरेर मात्र देशले फड्को मार्ने मान्यता बोकेर अगाडि बढेको प्रष्ट्याउनुहुँदै विगतमा अपराध र विध्वंश गरेर पनि प्रायश्चित नगर्नेहरुलाई जनताले जनमतबाटै जवाफ दिने विश्वास पनि व्यक्त गर्नुभयो ।
‘अहिले कतिपयले व्यवसायी भनेर मेरा विरुद्ध भ्रम फैलाउन खोजेका छन्, सत्य कुरा मैले राजनीति र व्यवसाय सँगसँगै गर्दै आएको छु, राजनीतिक व्यवस्था मात्रै परिवर्तन भयो, तर जनताको अवस्था परिवर्तन भएन, त्यो अवस्था परिवर्तन गर्ने संकल्पसहित तपाईंहरुको माझमा आएको छु’ उहाँले भन्नुभयो ।
आफूले उद्यमशीलताबाट देशमा ५ हजारभन्दा बढीका लागि रोजगारी सिर्जना गरेको, जिल्लामै पहिलो पटक उद्योग स्थापना गरेको, जिल्लालाई पर्यटकीय गन्तव्य बनाउनेगरी आधारशीला खडा गरेको स्मरण गर्दै उहाँले विगतमा विध्वंश मच्चाएर अपराध मात्र गर्न जानेकाहरुले मुलुकको समृद्धि र रोजगारीमा के योगदान पुर्याए ? भन्ने गम्भीर प्रश्नसमेत गर्नुभयो ।
‘म दोलखाको साझा उम्मेदवार हुँ । मेरो उम्मेदवारी निश्चित भएपछि राम्रो मान्छे बालकृष्ण शिवाकोटी आउनुभयो भनेर कांग्रेसका साथीहरुले उम्मेदवारी नै दिन चाहनुभएन, यो कुरा जनतालाई घरघरमा गएर भनिदिनुस् उहाँले भन्नुभयो,‘ त्यसैले अपराध र विध्वंश गर्नेलाई तपाईंहरुले मतदान गर्नुहुन्न भन्ने कुरामा म विश्वस्त छु ।’




