काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार उच्च अंकले बढेको छ ।
आज नेप्से ५९ दशमलव ८७ अंकले बढेर एक हजार ९८३ दशमलब ९५ विन्दुमा पुगेको छ । सोमबार नेप्से ५६.८६ अंकले बढेर एक हजार ९२४ दशमलव ०७ विन्दुमा बन्द भएको थियो । आजको वृद्धि चार महिना यताकै उच्च हो ।
त्यस्तै, आज कारोबार रकम पनि बढेको छ । नेप्सेमा आज तीन अर्ब ८८ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा दुई अर्ब ९ करोड ७० लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये २०२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । दुई वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
निरन्तर उच्च अंकको गिरावट हुँदै आएको शेयरबजार नयाँ सरकार गठनसँगै उच्च अंकले बृद्धि हुन थालेको हो । नयाँ सरकारका अर्थमन्त्री विष्णु पौडेल यसअघि पनि शेयरबजारका लागि भाग्यमानी साबित भएका थिए । अहिले पुन: उनी नै अर्थमन्त्री भएर आएसँगै शेयर बजार लगातार बढ्न थालेको हो ।
यसलाई शेयर बजारका हस्तीहरूले ग्रीन सिग्नलको रुपमा लिन थालेका छन् ।




