काठमाडौं । भीमेश्वर नगरपालिका वडा दोलखाका वडा अध्यक्ष वासु श्रेष्ठले जेष्ठ नागरिकलाई काठमाडौं भ्रमण गराउँदै छन् । वडा अध्यक्ष श्रेष्ठले आफ्नो वडा भित्रका ३८ जना जेष्ठ नागरिकलाई काठमाडौं भ्रमण गराउन राजधानी लिएर आएका हुन् ।
वडाअध्यक्ष आफूले मासिक पाउने पारिश्रमिक, भत्ता, खर्चलाई ‘सोसल फन्ड’ मा जम्मा गरेर जेष्ठ नागरिकलाई काठमाडौं यात्रा तय गरेका हुन् ।
२०७९ को वैशाखमा भएको स्थानीय निर्वाचनमा वडा अध्यक्ष निर्वाचित भएर पदभार ग्रहण गर्दै उनले पाउने सेवा सुविधा र मासिक पारिश्रमिकबाट सामाजिक काम वचन दिएका थिए ।
काठमाडौं भ्रमणमा ८० वर्षदेखि ८९ वर्ष सम्मका ३८ जना जेष्ठ नागरिकहरु सहभागी छन् । वडा अध्यक्षका अनुसार चरिकोटबाट ३४ जना र काठमाडौं बस्ने ४ जनागरी जम्मा ३८ जना जेष्ठ नागरिकहरु यो यात्रामा सहभागी छन् ।
जेष्ठ नागरिकहरुलाई लिएर वडा अध्यक्ष श्रेष्ठ पुस १७ गते काठमाडौं आइपुगेका हुन् । जेष्ठ नागरिकको टिमले आइतबार नै लोकप्रिय टेलिभिजन कार्यक्रम ‘ईन्द्रेणी’मा सहभागी भएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए । ईन्द्रेणीमा सहभागी हुन पाउँदा भीनपा ५ का जेष्ठ नागरिकहरु दंग छन् ।
उनीहरु पहिलो रात एयरपोर्ट अगाडि गोल्डेन आइ होटलमा बसेका हुन् ।
अध्यक्ष श्रेष्ठका अनुसार जेष्ठ नागरिकले आज राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।

मंगलबार भने, पशुपति नाथको दर्शन गराएर नारायणहिटी राजदरबार संग्रहालय भ्रमण गराउने कार्यतालिका छ ।
जेष्ठ नागरिकहरुको यो ऐतिहासिक काठमाडौं यात्रामा लाग्ने सम्पूर्ण खर्च वडा अध्यक्ष वासु श्रेष्ठले व्यवस्थापन गर्नेछन् ।
समाज कल्याण परिषद, राष्ट्रिय जेष्ठ नागरिक कोषका सभापत्ति वसन्तराज कार्कीले जेष्ठ नागरिकहरुले राज्यका प्रमुखसँग भेट्दा छुटै उत्साह हुने बताए । ‘गाउँका बा–आमाले काठमाडौं आएर ठूला दलका नेता पूर्व प्रधानमन्त्रीसँग भेट्दा उनीहरुमा उर्जा हुन्छ ।
राष्ट्रपति भेट्दा उनीहरुमा छुटै उमंग हुन्छ, ‘सभापत्ति कार्कीले भने, ‘जेष्ठ नागरिकसँग राष्ट्रप्रमुखहरुले भेट्दा उनीहरुको विषयमा बन्ने पोलिसि झन फराकिलो बनाउन सहज हुन्छ ।’
सामन्यतया बुढाबुढीलाई धार्मिक भ्रमण गराउँछन् । घुम्ने खाने रमाइलो गर्ने छुटै भयो । तर, राष्ट्र प्रमुखहरुसँग भेट हुने अवसर कमै जेष्ठ नागरिकले मात्रै पाउँछन् । यो अभियान देशभरी नै लैजानुपर्ने कार्कीको भनाई छ ।





