काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुकहरुसँग कुनै कार्ड नखल्ने प्रष्ट मान्यता सुनाउनु भएको छ ।
नेपालको भूमि कसैका विरुद्ध प्रयोग हुन नदिने र उनीहरुको जायज चासो–चिन्तालाई सम्बोधन गरेर अगाडि जाने पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीको भनाई छ ।
एमालको परराष्ट्र मामिला विभागले आज काठमाडौंमा गरेको कार्यक्रममा ओलीले भन्नुभयो, ‘हामीले भनेका छौं–दुईटा छिमेकीसँग कार्ड खेल्ने होइन । हाम्रो अभ्यास पनि त्यस प्रकारको होइन ।’ उहाँले आफूहरु असल छिमेकी हुन चाहेको पनि बताउनु भयो । ‘हामी हाम्रा छिमेकीहरुका निम्ति असल छिमेकी हुन चाहन्छौं । उनीहरुको कुभलो गर्दैनौं । भलो चिताएर उनीहरुलाई सहयोग पुर्याएर अगाडि बढ्न चाहन्छौं,’ अध्यक्ष ओलीले भन्नुभयो ।
नेपालको भूमि कसैका विरुद्ध प्रयोग हुन नदिने र कुनै सैन्य गतिविधिमा सामेल नहुने पनि उहाँले बताउनु भयो । ‘हाम्रो सार्वभौमसत्ता, स्वतन्त्रमा कुनै सम्झौता गर्दैनौं । पारपरिस्क लाभ र सम्मानका आधारमा सम्बन्ध कायम गर्छौं,’ ओलीको भनाई थियो ।




