काठमाडौँ । ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु (जिबी) राई पक्राउ परेका छन् ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष राईलाई सहकारीमार्फत ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
Advertisement
जिल्ला प्रहरी कार्यालय कास्कीले आजै जिल्ला अदालत कास्कीबाट राईविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पूर्जी जारी भएसँगै राईलाई प्रहरीको अपराध महाशाखाले पक्राउ गरेको हो ।
उक्त सहकारीका पदाधिकारीविरुद्ध कास्की प्रहरीमा ९७१ जना निक्षेपकर्ताहरुले उजूरी दिएका थिए । आफूहरुको बचत रकम फिर्ता नगरेको र सहकारीको रकम हिनामिना एवं ठगी गरेर फरार रहेको भन्दै उनीहरुले प्रहरीमा उजूरी दिएका थिए ।
राईसँगै सूर्यदर्शन बचत तथा ऋण सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई पनि प्रहरीले पक्राउ गरेको छ ।




