काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानको सीमाभित्रै रहेर शिक्षकका मागहरु सम्बोधन गर्नुपर्ने बताएका छन् ।
काठमाडौंको शंकरापुरस्थित वनदेवी आधारभूत विद्यालयमा समाजसेवी स्व.राकेश हमालको सालिक अनावरण एवं कम्युटर ल्याब हस्तान्तरण कार्यक्रममा बोल्दै नेता कोइरालाले शिक्षकलाई निराश बनाएर विद्यार्थीको भविष्य उज्ज्वल बनाउन नसकिने बताए ।
‘आधारभूत तहमा शिक्षले ६ देखि १८ हजारको बीचमा तलब पाउँदा रहेछन् । यति सुविधामा शिक्षकले कस्तो पढाउला ? विद्यार्थी कस्तो बन्ला ?’, उनले प्रश्न गरे । शिक्षकका मागहरु संविधानकै सीमाभित्र रहेर पूरा गर्नुपर्ने उनले बताए ‘शिक्षकका मागहरु संविधानकै सीमाभित्र रहेर सम्बोधन गरिनुपर्छ’
मुलुकमा हरेक क्षेत्र अराजकतातर्फ धकेलिएको भन्दै उनले नेपाली समाजमा सद्भाव बिथोल्ने प्रयास भैरहेको बताए । ‘कोशी प्रदेश, धरान र सर्लाहीको केही घटनाले हामीलाई गम्भीर बनाएको छ । कतै नेपाली समाजमा जातीय र धार्मिक द्वन्द्व सिर्जना हुदैछ कि भन्ने चिन्ता बढेको छ’, कोइरालाले भने ।
कार्यक्रममा महिला,बालबालिका तथा समाजकल्याण मन्त्री सुरेन्द्र आचार्यले हरेक बालबालिकालाई गुणस्तरीय शिक्षा र डिजिटल सचेतना उपलब्ध गराउन सरकारले काम गरिरहेको बताए । कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रतिमा गौतमले काठमाडौंमै भएर पनि विकासको दृष्टिले पछि परेका क्षेत्रहरुमा सबैले चासो दिनुपर्ने बताइन् । उनले शंकरापुर क्षेत्रका विद्यालयहरुलाई सुदृढ र गुणस्तरीय बनाउन आफूले पहल गर्ने बताइन् ।
सो क्रममा समाजसेवी स्व. राकेश हमालको शालिक अनावरण गरिएको थियो भने सफा सुनौलो नेपालद्वार निर्माण गरिएको कम्प्युटर ल्याब विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।शिक्षक आन्दोलनका क्रममा पर्साका ठोरी गाउँपालिका शिक्षिका संजिता खत्रीको खुट्टा प्रहरीको बुटले कुचिएर भाँचिएको र अन्य ७ जना शिक्षक घाइते भएको खबर छ ।




