काठमाडौं । प्रसिद्द नवौं व्याकुल माइला गोल्डकप फुटबलको उपाधि सहआयोजक टिम दूधकौशिका आधारभूत विद्यालय टिमले जितेको छ । नयाँ नेपाल सरोकार समाजले मानेभञ्ज्याङ-६ सोक्माटारस्थित पुर्वको प्रसिद्द नदी दुधकोशी किनारमा आयोजना गरेको प्रतियोगिताको शनिबार फाइनलमा दूधकौशिकाले, खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ टिमलाई ७-२ ले पराजित गरेको हो ।
दूधकौशिकाले २ लाख २ हजार २ सय २२ रुपैयाँ र चाँदीको सिल्ड जितेको छ । उपविजेता हलेसी तुवाचुङले १ लाख १ हजार १ सय ११ रुपैयाँ पाएको छ ।
सेमिफाइनल पराजित मितेरी युवा क्लब ‘ए’ र रिभोरुङ युवा क्लब माथिल्लो रिचुवाले २०-२० हजार रुपैयाँ पाए ।
१० हजार रुपैयाँ राशिको दिल-कर्ण बेस्ट टिम अवार्ड सप्तरंगी युवा परिवार फोकुलले पायो । ५ हजार रुपैयाँ राशिको उत्कृष्ट खेलाडी पुरस्कार सतिश सुवालले पाए । ६ गोल गरी हलेसीका सुजन माझी सर्वाधिक गोलकर्ता अवार्ड र चन्द्रकुमार श्रेष्ठ उत्कृष्ट गोलकिपरबाट जनही ५ हजारसहित पुरस्कृत भए । आयोजक नयाँ नेपालका सन्दीप राईले ५ हजार राशिको राइजिङ प्लेयर अवार्ड पाए ।
मानेभन्ज्याङ गाउँपालिकाको सहयोगमा भएको प्रतियोगितामा २३ टिम प्रतिस्पर्धी थिए । ‘खेलकुदको माध्यमबाट विकासको अभियान’ भन्ने नारासहित २०६८ सालयता राष्ट्रगानका रचयिता व्याकुल माइलाको जन्मथलोमा गोल्डकप भइरहेको प्रतियोगिता मूल आयोजक समितिका सचिव नवीनकुमार राईले बताए ।
यसअघि पहिलो सेमिफाईनल खेल दुध कौशिका र रिमोरुङ युवा क्लब बिच भएको थियो भने दुध कौशिकाले ४-० गोल अन्तरले जित हासिल गरेको थियो। त्यस्तै दोस्रो सेमिफाईनल खेलमा खोटाङ हलेसि क्लवले मितेरी युवा क्लवलाई २-१ गोल अन्तरले पराजित गरेको थियो।
फाईनल खेलमा दुध कौशिका सोक्मटार र खोटाङ हलेसी युवा क्लव बिच भएको थियो ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति सांसद रामहरि खतिवडाले विजयी खेलाडीलाई पुरस्कार प्रदान गरे । समारोहमा पूर्वसांसद यज्ञराज सुनुवार, राष्ट्रिय गानका रचयिता व्याकुल माइला, गाउँपालिका प्रमुख ज्ञानेन्द्र रुम्दाली, हलेसी तुवाचुङ नगरपालिकाकी मेयर विमला राई, सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनाल, ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी चेतराज बराललगायत उपस्थित थिए ।








