नेपालको दक्षिण पूर्वी भागमा रहेको समथर जिल्ला झापा कोशी प्रदेशमा पर्दछ । यसको क्षेत्रफल १,६०६ बर्ग कि.मि. रहेको छ भने समुद्री सतह देखि नेपालकै होचो भाग केचानाकवल ५८ मिटर देखि ७०२ मिटर उचाईमा रहेको छ । यस जिल्लाको सदरमुकाम भद्रपुर हो । भौगोलिक रुपमा यो जिल्ला २६.२०’ देखि २६.५०’ उत्तरी अक्षांस र ८७° ३९’ देखि ८८° १२’ पूर्वी देशान्तर का बीच अवस्थित रहेको छ । वि.सं. २०७८ को जनगणना अनुसार यस जिल्लाको जनसंख्या ९,९४,०९० जना रहेको छ भने जनघनत्व ६१८.९ जना प्रति वर्ग कि.मि. रहेको छ । यस जिल्लामा ८ वटा नगरपालिका र सातवटा गाउँपालिका गरी जम्मा १५ वटा स्थानीय तह रहेका छन्। यस जिल्लाको पूर्वमा भारतको पश्चिम बङ्गाल, पश्चिममा मोरङ जिल्ला उत्तरमा इलाम जिल्ला तथा दक्षिणमा भारतको बिहारसँग सिमाना जोडिएको छ । जलवायुका हिसावले यस जिलामा उष्ण मौषमी जलवायु पाइन्छ भने वनस्पतिहरुमा उष्ण सदावहार वन पाइन्छन । मेची कन्काई, निन्दा, रतुवा, बिरिङ तथा मावा यस जिल्लाका मुख्य नदीहरु हुन् भने मेची नदी यस जिल्लाको मात्र नभएर नेपालकै पूर्वी सिमाना पनि हो ।
यस जिल्लाका मुख्य जातजातिहरुमा बाहुन, क्षेत्री, राई, लिम्बु, गुरुङ, मगर, मेचे, कोचे, थारु, ताजपुरिया, सन्थाल, ताजपुरिया, तामाङ आदि पर्दछन र सबैका आ-आफ्ना भाषा धर्म संस्कृति रहेका छन् । कन्काई नदीमा रहेको नेपालकै लामो मोटरेवल पुल यसै जिल्लामा पर्दछ । यस जिल्लाका अधिकांश मानिसहरु कृषि पेशामा संलग्न रहेका छन् भने ब्यापारको पनि प्रधानता देखिन्छ। दोमुखा, धनुषकोटी धाम, कृष्णथुम्की, चन्द्रगढ़ी, चित्लागढ, समयागढ़, केचनाकवल, किच्चकबध, जामुनखाडी सीमसार क्षेत्र, सताक्षीधाम तथा कन्काई धाम यस जिल्लाका मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरु हुन् ।




