धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले युवाहरूलाई सीप विकासका लागि जापान पठाउने भएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) सँगको सहकार्यमा उपमहानगरले युवाहरूलाई जापान पठाउने भएको हो।
बिहीबार उक्त सम्झौतामा जाइकाको प्रोजेक्ट म्यानेजर राजनकुमार पौडेल र धनगढीका मेयर गोपाल हमालले हस्ताक्षर गरे। जाइकाले मुख्य गरी धनगढीका युवाहरूमा उद्यमशीलता र करिअर विकासका काम गर्ने र जापानका कम्पनीहरूमा यहाँका युवालाई जोड्ने काम गर्ने पौडेलले जानकारी दिए।
उनले सम्झौताअनुसार युवाहरूलाई जापानमा सीपहरू पनि सिक्न पठाउने बताए। सम्झौतामा हस्ताक्षर गरेपछि मेयर हमालले जाइकाप्रति आभार व्यक्त गरे। उनले अहिले जापान जाने युवा पछि नेपाल फर्केर आउँदा रोजगारदाताको रूपमा आउनुपर्ने बताए।
‘एकजना जापान जान्छ भने पछि यहाँ आउँदा उसले पाँचजनालाई रोजगार देओस्। हामीले धनगढीबाट एक हजार जना पठायौँ भने उताबाट फर्किदा यहाँका पाँच हजारका लागि रोजगारी सिर्जना हुन्छ,’ मेयर हमालले भने,‘हामी जापनिज बनाउन पठाउने होइन। जापजिनहरूको जसरी काम गर्ने क्षमता विकास गर्न पठाउँदैछौँ।’




