कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले पालिकामै दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले इच्छुक युवालाई सित्तैमा पढाउने योजना ल्यायो । उक्त योजनाअनुसार पहिलो चरणमा १८ जनालाई पढाउने निर्णय भयो ।
पालिकाका ९ वटा वडाबाट २ जनाका दरले १८ जनालाई प्राविधिक शिक्षा पढ्न मासिक २० हजार रुपैयाँ खर्च दिने पालिकाको योजना थियो । अध्यक्ष मीनबहादुर गुरुङलाई लागेको थियो, ‘हाम्रो योजनामा युवाहरुको हानाथाप हुनेछ । छनोट गर्नै मुस्किल हुनेछ ।’
तर, यथार्थमा भने गुरुङले सोचेभन्दा फरक भयो । ‘पालिकाले त राम्रै सोचेर योजना ल्याएको थियो । तर, कोही पढ्नै खोजेनन्, अभिभावकलाई पनि बुझाउन सकेनौं’, गुरुङले भने, ‘प्राविधिक शिक्षा पढेर पनि जागिरको सुनिश्चितता नभएपछि किन पढ्ने भन्ने बुझाइ पाइयो ।’
पोखरा महानगरपालिकाको आफ्नै प्राविधिक स्कुल ‘गण्डकी बहुप्राविधिक शिक्षालय’ले अहिले अटोमाबाइलतर्फ २० जना विद्यार्थीलाई पढाइरहेको छ । जबकि भर्नाको समयमा २४ जना विद्यार्थी माग गरिएको थियो । शिक्षालयले सिभिल इन्जिनियरिङतर्फ ४८ जना विद्यार्थी माग गर्दा जम्मा ३६ जनाले मात्रै आवेदन दिए ।




