काठमाडौंं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरी नेतृत्वको प्रतिनिधिमण्डलले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरी अटोमोबाइल क्षेत्रका समस्याबारे ध्यानाकर्षण गराएको छ । अध्यक्ष चौधरीले अटोमोबाइल व्यवसाय क्षेत्रका समस्याबारे चर्चा गर्र्दै अटोमोबाइल व्यवसायलाई पुनः गतिशील बनाउन अटोलोन/हायर पर्चेज कर्जामा जोखिम भार १२५ प्रतिशतबाट घटाएर शतप्रतिशत कायम गरिनुपर्ने, बैंकहरूबाट निजी सवारीसाधनको हायर पर्चेज लोन प्रवाह प्रक्रियामा लोन टु भ्यालु रेसियोको हालको ५० प्रतिशतको सीमा बढाएर ७५ प्रतिशत गरिनुपर्ने, चालु पुँजी कर्जासम्बन्धी निर्देशिकामा भएका केही अव्यावहारिक बुँदासमेत तत्कालै संशोधन गरिनुपर्ने बताउनुभयो ।
साथै भारतीय मालबाहक ट्रक ७२ घण्टासम्म निर्वाधरूपमा नेपालमा प्रवेश गर्न दिँदा नेपालको अटोमोबाइल व्यवसायमा नकारात्मक असर पर्न गएको भन्दै भारतीय मालबाहक ट्रक व्यवस्थापनका लागि उहाँले ध्यानाकर्षण गराउनुभयो । नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपालको अटोमोबाइल उद्योग समस्या र समाधानबारे प्रस्तुति दिनुभएको थियो ।
प्रधानमन्त्री दाहालले विद्युतीय सवारीसाधन, चार्जिङ स्टेसन र नेपालमा अटोमोबाइलसम्बन्धी उद्योगको सम्भावना सम्बन्धमा विशेष चासो राख्दै समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिनुभएको नाडाले जनाएको छ । सो अवसरमा नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा सचिव सुरेन्द्र प्रधानको उपस्थिति रहेको थियो ।




