काठमाडौं । महोत्तरीमा कार्यरत सशस्त्र प्रहरीका असई थमन विकलाई मधेस आन्दोलनको क्रममा आठ वर्षअघि विसं २०७२ भदौ २५ गते हत्या गरिएको प्रकरणमा फरार रहेका पूर्वसंघीय तथा प्रदेश सांसद कौशलकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको सोनमा गाउँपालिका–५ खैरबनी घर भएका उनलाई शनिबार राति जिल्लाको सम्सी गाउँपालिका–५ पोखरभिण्डा गाउँमा उनले चढेको प्रदेश २–०२–००१–च ००४५ नम्बरको महिन्द्रा पिकअप गाडीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको डिएल ३ सिएवाई ८६१५ नम्बरको स्कारपियोमा ठक्कर दिँदा दुर्घटनामा परेपछि उनी पक्राउ परेको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले बताए ।
निज उपर २०७२ साल भदौ २५ गतेको प्रेम बहादुर विकको जाहेरीले वादी नेपाल सरकार रहेको कर्तव्य ज्यान मुद्दा अदालतमा दायर भई निज हालसम्म फरार रहँदै आएकोले निजको हकमा प्रस्तुत मुद्दा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९८ बमोजिम मुल्तबीमा राखिएको हुँदा निजलाई आज आइतबार आवश्यक कारबाहीको लागि महोत्तरी जिल्ला अदालतमा उपस्थित गराइएको हो ।
पक्राउ परेका कौशलकुमार यादव तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट २०६४ को निर्वाचनमा महोत्तरीको क्षेत्र नम्बर ४ बाट संघीय सांसद बनेका थिए । विसं २०७४ को निर्वाचनमा संघीय समाजवादी फोरमबाट मधेस प्रदेशसभा सदस्यमा महोत्तरीको निर्वाचन क्षेत्र नम्बर ४ क बाट निर्वाचित भएका थिए ।
सशस्त्र प्रहरीका असइ विकको हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गतेमा लोसपा नेपाल मधेस प्रदेशका संसदीय दलका नेता तथा प्रदेशसभा सदस्य अभिराम शर्मासहित सातजनालाई जन्मकैदको फैसला सुनाएको हो ।
त्यसैगरी अदालतले सोही मुद्दामा वर्तमान महोत्तरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो र पवन कापरलाई सफाइ दिएको हो । पक्राउ परेका पूर्वसांसद यादवसहित १९ जनाको हकमा मुद्दा मुल्तबी राखिएको हो ।




