काठमाडौं । हिन्दु धर्मअनुसार शनिबारलाई विशेष गरी भगवान् शनिको दिन मानिन्छ । यस दिन शास्त्रअनुसार केही काम गर्न निषेध पनि गरिएको छ ।
हुन त पछिल्लो समय यस्ता कुरालाई ध्यान दिइँदैन तर परम्परागत रूपमा आएको चलनअनुसार शनिबार गर्न नहुने केही कामको विषयमा यहाँ चर्चा गरिएको छ ।
शनिदेव न्यायका देवता हुन् । शनिवार उनको विशेष पूजाआरधाना हुने भएकाले यो दिन कसैको पनि अपमान गर्नुहुँदैन ।
शनिबार जुत्ताचप्पल किन्न हुँदैन । शनिबार जुत्ताचप्पल किन्दा शनिदेव रिसाउने र असफलता मिल्ने विश्वास गरिन्छ ।
कुनै व्यक्तिको कुण्डलीमा शनि दोष छ भने त्यस्ता व्यक्तिले शनिवारको दिन मुसुरोको दाल, आँपको अचार, रातो खुर्सानी र रक्सी खानु हुँदैन भनिएको छ ।
शास्त्रअनुसार यस्तो कुरा खाएमा शनिदेव रिसाउँछन् र शुभ फल प्राप्त हुँदैन भन्ने विश्वास गरिन्छ ।
फलामलाई शनिको धातु मानिन्छ । त्यसैले शनिबार घरमा फलाम ल्याउन नहुने धार्मिक विश्वास छ । तर यस दिन फलामबाट बनेका सामानहरू दान गर्नु अत्यन्त शुभ मानिन्छ ।
शनिबार सरसोँको तेल घरमा ल्याउनुहुँदैन । तर, यस दिन यो तेल दान गर्न सकिन्छ । शनि देवलाई प्रशन्न बनाउन तेल शनिदेवलाई अभिषेक गराउँन सकिन्छ ।




