काठमाडौं । चुमनुब्री गाउँपालिकाले पालिका भ्रमणमा आएका पर्यटकसँग करिब दुई महिनामा साढेँ ४८ लाख राजस्व संकलन गरेको छ । गत गाउँसभाबाट निर्णय गर्दै पालिकाले असोज १ गतेबाट पर्यटकसँग शुल्क संकलन गर्न सुरु गरेको हो ।
कार्तिक २२ गतेसम्म आन्तरिक तथा बाह्य पर्यटकसँग गरी ४८ लाख ४१ हजार सात सय रुपैयाँ राजस्व संकलन भएको राजस्व संकलनका लागि राखिएको कर्मचारी विशााल घलेले बताए । सो अवधिमा चार हजार ७७० जना बिदेशी र ४०८ जना नेपाली पर्यटक गरी पाँच हजार १७८ जनाले पालिका भ्रमण गरेको उनले जानकारी दिए ।
पालिकाले विदेशीसँग प्रति व्यक्ति एक हजार र नेपालीसँग दुईसय रुपैयाँका दरले राजस्व संकलन गर्दै आएको छ । स्वदेशी पर्यटकको हकमा आन्तरिक रुपमा लार्के पास गर्न आउने र रिसर्च गर्न आउनेहरुसँग मात्र शुल्क उठाउने गरेको बताइएको छ । ‘स्वदेशी पर्यटक भनेको यहाँ आउने नेपाली सबै भन्न खोजेका हौइनौं,’ घलेले भने, ‘आन्तरिक रुपमा लार्के पास गर्न, चुमभ्याली घुम्न र यहाँका प्राकृतिक कुराहरुका बारेमा रिर्सच गर्न आउनेहरु सँगमात्रै शुल्क लिन्छौ ।’ भरिया र गाइडलाई शुल्क नलाग्ने उनले जानकारी दिए ।
संकलन भएको राजस्व पर्यटकको सुरक्षा र फोहोरमैला व्यवस्थापन गरी डढेलो नियन्त्रणमा प्रयोग गर्ने पालिकाले जनाएको छ । नयाँ तथा वैकल्पिक पदमार्ग निर्माण गरि बाटो पुल मर्मत समेत गरिने बताइएको छ । साथै उक्त रकम खानेपानी निर्माण, सेल्टर तथा चौतारी निर्माण, साईनबोर्ड तथा नक्सा राख्ने कार्यमा समेत खर्च गर्ने उदेश्य रहेको पालिकाले जनाएको छ ।
सोही रकमले स्थानीयलाई पर्यटन सम्बन्धी तालिम दिई उद्दार तथा राहतमा सहयोग एवं समन्वय गर्ने पनि घलेले बताए । यसैगरी वातावरण संरक्षण, ताल संरक्षण, गुम्बा मर्मत तथा संरक्षण, होमस्ट व्यवसाय प्रर्वद्धनमा पनि सहयोग गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए ।
मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) क्षेत्रभित्र पर्ने मनास्लु क्षेत्र तथा चुमभ्याली जाने पर्यटकसँग सम्बन्धित संरक्षण तथा निकुञ्ज ऐनबमोजिम राष्ट्रिय प्रकृति संरक्षण कोष तथा अध्यागमन विभागले पनि शुल्क लिदै आएको छ । पालिकाले पनि शुल्क लिन थालेको भन्दै बिरोध समेत भएको थियो ।




