काठमाडाैँ । कात्तिक शुक्ल एकादशीका दिन आज(मंगलबार) औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै छ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने गरिन्छ । हरिबोधनी, ठूली एकादशी वा तुलसी विवाहको नामले प्रसिद्ध यसदिन विशेष गरी विष्णु भगवान्को पूजासहित तुलसी विवाहको उत्सव मनाइन्छ ।
हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर (विष्णु)को विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आज ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ।
हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा-आराधना गर्दछन् । विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्धजस्ता मांगलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी–पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।
हरिबोधनी एकादशी मनाउन काठमाडौँको बुढानीलकण्ठमा भक्तजनको भीड लागेको छ । मंगलवार बिहानैदेखि बुढानीलकण्ठमा भक्तजनहरूको भीड देख्न सकिन्छ । भगवान नारायणको पूजा, उपासना गरी तुलसी र दामोदरको विवाह गरेर हरिबोधनी एकादशी मनाउने गरिन्छ ।
यस्तै, आज काठमाडौँको बुढानीलकण्ठ, चाँगुनारायण, विशंकुनारायण, शेषनारायण, इचंगुनारायणमा र पशुपतिनाथ लगायतमा विशेष मेला लागेको छ । हरिशयनी एकादशीदेखि हरिबोधनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा आराधना गर्दछन् । आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका भगवान विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।
यस्तै, आज देशका बिभिन्न मठमन्दिर, देवालय, पवित्र तिर्थस्थलहरुमा पनि विहानै देखि भक्तजनको बिशाल उपस्थिती रहेको समाचारहरु प्राप्त भईरहेकोछ ।





