काठमाडौं । हरिवोधनी एकादशीको अवसरमा लमजुङको खुदीमा दोस्रो मस्र्याङ्दी महोत्सव आयोजना गरीएको छ । हरिबोधनी एकादशीको अबसर पारेर लमजुङको मस्र्याङ्दी गाउँपालिकामा मंगलबार देखि मंसिर १ गतेसम्म एकादशी मेलाको साथमा पाँच दिने दोस्रो मस्र्याङ्दी महोत्सव ०८१ आयोजना गरिएको हो ।
पालिकालाई होमस्टेको हब बनाउने लक्ष्य लिएको मस्र्याङ्दी गाउँपालिकाले महोत्सव अवधिभर पालिकाभित्रका विभिन्न पर्यटकीय गाउँहरुमा होमस्टेको प्याकेज बनाएको छ । गुरुङहरुको आदिम थलोसमेत रहेको सुन्दर घनपोखरा, सिउरुङ, नयाँगाउँ, मिप्रा, छापा, उस्ता, छिनखोला, ढंगै, खानीगाउँ रक गार्डेन, सञ्जापु लगायतका ग्रामीण पर्यटन र होमस्टेहरुको प्रचार प्रसार गरी ती गाउँहरुमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउने कार्यक्रम गर्न लागिएको हो ।
महोत्सव अन्तर्गत मस्र्याङदी नदीमा फूलको डोरी तार्ने, सांस्कृतिक कार्यक्रम, वडास्तरीय भलिवल प्रतियोगिता स्वास्थ्य शिविर सञ्चालन गरि राष्ट्रिय विभूति भक्ति थापा जन्मस्थन पार्क र डा हर्क गुरुङ समाधिस्थल पार्कमा विभिन्न कार्यक्रम आयोजना हुने छन् ।
कार्तिक २९ गतेका मस्र्याङ्दी गाउँपालिकाको वडा नं ४ स्थित जगत बजारमा जगत तातोपानी महोत्सव गरिने छ । सो दिन जगत तातोपानी कुण्डमा स्नान, स्थानीय कला संस्कृतिको प्रदर्शनी र स्थानीय उत्पादनहरुको प्रदर्शनी तथा बिक्री वितरणलगायत कार्यक्रम तय गरिएको छ ।
यसैगरि कार्तिक ३० गते मस्र्याङदी गाउँपालिकाका विभिन्न वडाका भीरहरुमा भीरमह
शिकार (हनि हन्टिङ) को कार्यक्रम तय गरिएको छ । घनपोखराका साथै ताघ्रिङको काप्रेभीर, स्याँगे भीर, मिप्रा, घेर्मु, बाहुनडाँडाका विभिन्न भीरमा भीर मौरी शिकारको कार्यक्रम तय गरिएको पालिकाका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए ।
यसैगरी, मंसिर १ गते मस्र्याङ्दी गाउँपालिका– ४ स्याँगे स्याँगेमा रहेको स्यांगे छहरा, च्याम्चेको बुङ झरना र अक्टोपस झरनामा पनि महोत्सवको तयारी गरिएको अध्यक्ष गुरुङले जानकारी दिए । पर्यटकीय महत्वका यी झरनाको प्रचार प्रसारका साथै स्थानीय कला संस्कृतिको प्रदर्शनी र स्थानीय उत्पादनहरुको प्रदर्शनी तथा विक्रीको कार्यक्रम राखिएको छ । मस्र्याङ्दी महोत्सवमा २५ लाख बढीको भिर मह बिक्री हुने अनुमान छ ।




