काठमाडौं । पर्यटकिय राजधानी पोखराको मुख्य प्रवेशद्वार निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्ड दैनिक साढे चार घण्टा अवरुद्ध हुने भएको छ । पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड दुई चरणमा बन्द गरी निर्माणको काम गर्न लागिएको हो ।
मुग्लिन पोखरा सडक योजना (पूर्वीखण्ड) अन्तर्गत छिर्कने खण्डको निर्माण कार्यलाई तीव्रता दिन आगामी मङ्सिर ३ गतेदेखि २३ गतेसम्म दुई चरणमा सडकखण्ड पूर्ण रूपमा बन्द गर्न लागिएको निर्माण कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार उक्त अवधिमा राति ११ बजेदेखि बिहान १ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरी सडक निर्माण गरिनेछ । बिहान १ बजेदेखि १ः३० बजेसम्म सडक आवागमन खुल्ला गरिने र पुनः दोस्रो चरणमा बिहान १:३० बजेबाट ४ बजेसम्म सडक बन्द गरी निर्माण कार्य गरिने सो समयमा आकस्मिक अवस्थामा विशेष व्यवस्था गरी सवारी पास गराइने जानकारी दिईयो ।




