काठमाडौँ । नेपालमा छैटौं एसियाली जनसंख्या सम्मेलन (एपीसी) हुने भएको छ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय जनसंख्या विभाग र एशियन पपुलेसन एसोसिएसन (एपीए) को सहकार्यमा सम्मेलन हुन लागेको हो।
सम्मेलन मंसिर १२ देखि १५ गतेसम्म काठमाडौँको सोल्टी होटेलमा आयोजना हुनेछ, जसमा ५० देशका ७०० भन्दा बढी जनसंख्या विज्ञ, नीतिनिर्माता र अनुसन्धानकर्ता सहभागी हुने आयोजन समिति संयोजक प्राडा योगेन्द्रबहादुर गुरुङले जानकारी दिए। सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्नेछन्।
सम्मेलनमा १७ वटा मुख्य विषयगत शीर्षकमा ४०० वटा कार्यपत्र प्रस्तुत गरिनेछ।
विश्वव्यापी जनसांख्यिकीय परिवर्तनहरू, सामाजिक–आर्थिक प्रभावहरू र जनसंख्या व्यवस्थापनका चुनौतीहरूमा केन्द्रित रहेर सम्मेलनमा बहस हुने गुरुङले बताए।
नेपालले यस्तो सम्मेलन पहिलोपटक आयोजना गर्न लागेको हो। यसअघि यो सम्मेलन नयाँ दिल्ली (२०१०), बैंकक (२०१२), क्वालालम्पुर (२०१५), सांघाई (२०१८), र जकार्ता (२०२१) मा सम्पन्न भएको थियो।




