काठमाडौं । गोरखा जिल्लाको विकट उत्तरी भागको धार्चे गाउँपालिकाकाे खाेर्लाबेशीमा ५ शैयाको धार्चे आधारभूत अस्पताल भवन निर्माण सम्पन्न भएको छ । गाउँपालिका र स्विजरल्याण्डको अर्थ सी एयर नामक संस्थाको आर्थिक साँझेदारी तथा छाँया नेपालको समन्वयमा अस्पताल भवन निर्माण गरिएको अध्यक्ष लक्ष्मण गुरुङले बताए ।
‘‘कुल रु २ करोड २८ लाखको लागतमा अस्पतालको भवन निर्माण सम्पन्न भएको हो, उनले भने, ‘‘भवन निर्माणका लागि गाउँपालिकाको ४० प्रतिशत र संस्थाको ६० प्रतिसत लागत साझेदारी रहेको छ ।’’ नवनिर्मित अस्पताल भवनमा ५ वटा ‘ब्लक’ रहेको उनले बताए । भवन निर्माणका लागि वि.स २०७६ असोजमा सम्झौता भई निर्माण प्रक्रिया सुरु भएको थियो ।
निर्माण सम्पन्न गरिएको अस्पताल भवनको एक कार्यक्रमका बिच बुधबार हस्तान्तरण तथा उद्घाटन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले जानकारी दिए । ५ शैयाको अस्पताल भवन बनेसंगै धार्चे र चुमनुब्री गाउँपालिकाका नागरिकहरुका लागि आधारभूत स्वास्थ्य उपचार सेवामा थप सहजता हुने उनले बताए ।
देशभरका सवै पालिकाहरुमा आधारभूत अस्पताल निर्माण गर्ने संघीय सरकारको योजना अनुसार धार्चे गाउँपालिकाको खोर्लाबेशीमा पनि ५ शैयाको आधारभूत अस्पताल निर्माण भएको हो ।




