काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा सुरु भएका तीनवटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भई १६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । तीनवटै आयोजनाबाट उत्पादित विद्युत् रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०/१३२/३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार १४.८ मेगावाटको माथिल्लो साञ्जेन, ४२.५ मेगावाटको साञ्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएका हुन् । त्यसमध्ये माथिल्लो साञ्जेन गत वर्षको असोजमा निर्माण सम्पन्न भई व्यावसायिकरूपमा विद्युत् उत्पादन गरी हालसम्म करिब ३० करोडको विद्युत्् बिक्री गरिसकेको छ । ४२.५ मेगावाटको साञ्जेन आयोजना निर्माण सम्पन्न गरी शुक्रबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडी परीक्षणका रूपमा विद्युत् उत्पादन सुरु गरिएको छ ।
यस अवसरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंगले बिभिन्न कारणले जिर्ण बनेका आयोजनाहरु सम्पन्न हुनु खुशीको कुरा रहेको बताउनु भयो ।




