काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका नेपाली विषयका प्राध्यापक डा. देवी नेपाल अन्तरराष्ट्रिय पुरस्कारद्वारा सम्मानित हुने भएका छन्।
भारतको असममा रहेको असम नेपाली साहित्य सभाले कीर्तिशेष स्रष्टा निरू शर्मा पराजुलीका नाममा स्थापित ‘निरू शर्मा पराजुली अन्तरराष्ट्रिय साहित्य पुरस्कार’ पहिलोपटक नेपाली साहित्यकारलाई दिने निर्णय गरेको हो।
बहुमुखी प्रतिभा नेपाललाई आगामी डिसेम्बर ५ देखि ८ मा उत्तरी असमको गोलाघाट जिल्लाको सरूपथार सहरमा हुने सभाको १६औँ महाधिवेशन तथा स्वर्णजयन्ती समापन समारोहमा सो पुरस्कार दिइने भएको छ।
नेपाली एक लाख राशि सहितको पुरस्कार प्रदान गरिने गरी निर्णय गरिएको सभाका कार्यकारी सभापति डा चिन्तामणि शर्मा, सभापति दुर्गा खतिवडा र मूल सचिव मदन थापाले लेख्नुभएको निमन्त्रणा पत्रमा उल्लेख गरिएको छ।
यसअघि सभाले साहित्यकार नेपाललाई यस वर्षको ‘निरू शर्मा पराजुली अन्तरराष्ट्रिय साहित्य पुरस्कार’ दिने निर्णय गरेको थियो।




