काठमाडौं । डिभिजन वन कार्यालय डोटी निशुल्क विरुवा गर्नेगरी टिमुरको बेर्ना उत्पादनको तयारीमा जुटेको छ । डिभिजन वन प्रमुख गोकुल रिजालले विगतमा प्राईभेट नर्सरीबाट बेर्ना किनेर वितरण गर्दै आएकोमा यसबर्ष आफैले बेर्ना उत्पादन गर्ने तयारी गरेको बताउनुभयो ।
“बेर्ना उत्पादनका लागि यतीखेर टिमुरको बिउँ सङ्कलन भैरहेको छ । पाकेको टिमुरलाई सुकाएर फुटेपछि भित्रको गेडा बिउँको रुपमा प्रयोग हुन्छ,” डिभिजन प्रमुख रिजालले भन्नुभयो, “पहिलो पटक परीक्षणको रुपमा आफैले बेर्ना उत्पादनको तयारीमा छौं । बेर्ना तयार गर्न समय लाग्छ, हेरौं कत्तिको सफल हुन्छ ।”
मध्यपहाडी क्षेत्रको हावापानीमा हुने टिमुर जडीबुटी औषधी तथा मसलाको रुपमा प्रयोग हुन्छ । वनजङ्गल, बारीको कान्लामा भएका टिमुरको महत्व नबुझ्दा त्यसै खेर गैरहेको हुन्छ ।
सामुदायिक वन तथा व्यवसायीक किसानलाई टिमुरका बोट निशूल्क वितरण गरेर आम्दानीको लाभ लिनका लागि डिभिजन वनले टिमुरका बेर्ना निशुल्क वितरण गर्ने भएको छ।
डोटीको हावापानीमा टिमुर राम्रै फल्ने भएकाले यसको व्यवसायीक उत्पादनका लागि आफैले बेर्ना तयार गरी वितरण गर्नसके धेरैजना लाभान्वित हुने प्रमुख रिजालको भनाइ छ । उहाँले डिभिजन वनले विभिन्नजातका बिरुवा उत्पादन गरेर निशुल्क वितरण गर्दै आएपनि अन्य बेर्ना भन्दा टिमुरको वेर्ना उत्पादन गर्न मिहिनेत र समय लाग्ने भएकाले अलि बढी खर्चिलो हुने बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलोपटक परीक्षणका रुपमा बेर्ना उत्पादन गर्दै छौ, बिउबाट बेर्ना उमार्ने भएकाले कति उम्रिन्छ । सफल भयो भने प्राईभेट नर्सरीबाट किन्नु पर्ने बाध्यता हट्छ ।”(गोरखापत्र)




